स्तरवृद्धि गर्दै सौराहाका होटल


चितवन : खरको छानो र खडाइको बारले बनाइएका छाप्रोबाट शुरु गरिएको यहाँका होटल बदलिँदो समयसँगै पूर्वाधार वृद्धि गर्दै प्रतिस्पर्धी बनाउँदै लगिएको छ । विसं २०२९ मा चितवन राष्ट्रिय निकुञ्ज घोषणा गरेसँगै प्रवेशद्वार सौराहामा खर र खडाइबाट निर्माण गरिएका होटल खुल्न शुरु गरेका थिए । तत्कालीन होटल तथा सामुदायिक विकास समितिका संस्थापक अध्यक्ष गिरीधारी चौधरीका अनुसार ‘इलाफेन्ट क्याम्प’ र गैँडा ‘वाइल्ड लाइफ’ले विसं २०३३ मा सौराहामा होटल शुरु गरेका हुन् । निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्षित गर्दै त्यसपछि सौराहामा होटल खुल्न शुरु भएको उहाँले बताउनुभयो । निकुञ्जभित्रको टाईगरटप्स होटल भने निकुञ्ज घोषणा हुनुअघिनै खुलेको थियो । होटल बढ्दै जाँदा प्रतिस्पर्धा पनि बढ्दै गएको छ । स्वदेश र विदेशका अन्य होटलसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएपछि व्यवसायीले स्तरवृद्धि गर्दै लगेको चौधरी बताउनुहुन्छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरे व्यवसायीले होटलका कोठा थप गर्ने, आन्तरिक र बाह्य सजावट परिवर्तन गर्ने, पौडी पोखरी थप गर्ने, जग्गा थपेर भए पनि बगैँचा निर्माण गर्ने गरेको बताउनुहुन्छ । यससँगै खानाको गुणस्तरमा पनि वृद्धि गर्न थालिएको छ । कम रकममा विदेशका विभिन्न शहरले नेपाली पर्यटक भित्र्याउन थालेपछि यहाँ आउने पर्यटकले त्यसको तुलना गर्न थालेका छन् । जसका कारण खाजा र खानामा गुणस्तर वृद्धि गर्न होटलले शुरु गरेका छन् । घिमिरेका अनुसार प्रतिस्पर्धी बन्न नसक्ने होटल पछि परेका छन् । कुनै समय साझा शौचालय भएका कोठामा पनि होटल चल्ने गरेको बताउँदै उहाँले अहिले ग्राहकलाई रिजाउनका लागि पौडी पोखरीसमेत अनिवार्य भइसकेको बताउनुभयो । शौचालयसहितको वातावरण अनुकूलित कोठा सामान्य भएका छन् । सौराहामा रहेका ११० होटलमध्ये १५ वटामा पौडी पोखरी पनि रहेका छन् । पौडी पोखरी नहुनेले निर्माणका लागि गृहकार्य गरिरहेको उहाँले बताउनुभयो । चितवन र नवलपुर क्षेत्रमा पर्यटकीय होटलको सङ्ख्या १५० वटा रहेका छन् । सौराह, भरतपुर, पटिहानी, जगतपुर, मेघौलीसँगै नवलपुरको नारायणी छेउमा पर्यटकीय होटल रहेका छन् । ती होटलमा रु १५ अर्बभन्दा बढी लगानी भइसकेको घिमिरेले बताउनुभयो । ठूला व्यावसायिक घरानियाँ र व्यावसायिक समूहले ठूलो लगानीमा होटल सञ्चालनमा ल्याउन लागेको घिमिरेले बताउनुभयो । उहाँका अनुसार १० वटा ठूला होटल बन्दै गरेका छन् । अहिले बन्दै गरेका होटल सुविधा सम्पन्न रहेका छन् । जिल्लामा सुविधा भएर पनि स्तर निर्धारण (तारा) नलिएको भन्दै उहाँले अब प्रतिस्पर्धी हुनका लागि होटलको गुणस्तर बढाएर स्तर मापदण्ड निर्धारण गर्नुपर्ने बताउनुभयो । होटलसँगै कफी सप, बेकरी पनि खुल्ने क्रम जारी छ । हाल जिल्लामा वार्षिकरुपमा दुई लाख पर्यटक भित्रने गरेका छन् । अहिलेका सबै होटल चल्न वार्षिक चार लाख पर्यटक भित्र्याउनु पर्ने घिमिरेले बताउनुभयो । क्षेत्रीय होटल सङ्घका प्रथम उपाध्यक्ष दीपक भट्टराई पर्यटन वर्ष सन् २०२० लाई लक्षित गर्दै होटलले मर्मतसम्भार र स्तरवृद्धिको काम गर्दै गरेको बताउनुहुन्छ । स्थिर सरकार बनेसँगै स्वदेशी र विदेशी धेरै पर्यटक भित्रने अपेक्षासहित व्यवसायीले उत्साहित ढङ्गबाट स्तरवृद्धिको काम गरिरहेको उहाँले बताउनुभयो । विदेशका होटलसँग प्रतिस्पर्धी बनाउने समय आएको भन्दै उहाँले सकारात्मक सन्देश प्रवाह गर्न आफ्नो होटलको स्तरवृद्धि गर्न सबैसँग अनुरोध गरिएको बताउनुभयो । उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी अहिलेका होटलका संरचनालाई पुनः संरचना गरेर अघि बढ्नुपर्ने समय आएको बताउनुहुन्छ । प्रतिस्पर्धाको नाममा गुणस्तर घटाउन नहुने भन्दै उहाँले स्वदेशी र विदेशी पर्यटकलाई उच्चस्तरको सुविधा प्रदान गर्न नसकिएमा पर्यटक भित्र्याउन कठिन हुने बताउनुभयो । मुख्यरुपमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न पर्यटक यहाँ आउने गर्दछन् । यसका अतिरिक्त पवित्र तीर्थस्थल देवघाट, त्रिशूलीको ¥याफ्टिङ, जिल्लाको सबैभन्दा अग्लो ठाउँ सिराइचुलीमा रमाउन पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई