क्वारेन्टिनमा करेन्ट मृत्यु प्रकरण : परिवारलाई रु दश लाख र श्रीमानलाई जागिर


क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका ६ की २३ वर्षीया राधादेवी ओडका परिवारलाई नगरपालिकाले रु १० लाख सहयोग उपलव्ध गराउने भएको छ । मृतक परिवारसँगको सहमतिअनुसार नगरपालिकाले ओडकी १२ महिनाकी छोरी अनुको खातामा सहयोग रकम जम्मा गर्ने भएको छ । नगरपालिकाले सहयोगसँंगै मृतक ओडका श्रीमान्लाई योग्यताका आधारमा कार्यालयमा जागीर दिने सहमति गरेको छ । यसैगरी ओड परिवारलाई थप राहतका लागि प्रदेश र सङ्घ सरकारसित पहल गर्ने तथा क्वारेन्टिन व्यवस्थापनको कमजोरी छानबिनका लागि समिति गठन गर्ने निर्णय गरिएको छ । नगरपालिकाका प्रमुख कर्णबहादुर हमालका स्वकीय सचिव गणेशसिंह ऐरीले ओडको मृत्यु भएपछि नगर प्रमुखले सार्वजनिक रुपमा गरेको प्रतिवद्धतानुसार सहयोग गरिएको बताउनुभयो । आज बिहान नगर प्रमुख हमाल र सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशीलगायतले मृतक ओडका घरमै पुगेर किरिया खर्चवापत रु २५ हजार परिवारका सदस्यलाई हस्तान्तरण गर्नुभएको थियो । मङ्गलबार कृष्णपुर– ६ स्थित महाकाली माविको क्वारेन्टिनमा करेन्ट लागेर ओडको मृत्यु भएको थियो ।स्थानीय बासिन्दा क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकारीले नगरपालिकाको कार्यालयसमेत तोडफोड गरेका थिए । –––

प्रतिक्रिया दिनुहोस