बाबुराम भट्टराईको दल पूर्ण समानुपातिक निर्वाचन र ११ प्रदेशको पक्षमा

सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ ।उपेन्द्र यादव नेतृत्वको फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भई नयाँ ‘समाजवादी पार्टी नेपाल’ घोषणा गरिएको छ ।
अध्यक्ष यादव र डा भट्टराईले आज यहाँ आयोजित एक कार्यक्रममा पार्टी एकीकरण गर्ने समझदारीपत्र पढेर सुनाउनुभएको थियो । अध्यक्षमण्डलमा दुई जना रहने पार्टीको संरचनाबमोजिम समाजवादी पार्टीका अध्यक्षसहित २६ जनाको पदाधिकारी रहने जनाइएको छ । पार्टी केन्द्रीय समिति अध्यक्षमा यादव र सङ्घीय परिषद्का अध्यक्ष डा भट्टराईले जिम्मेवारी पाउनुभएको छ ।
पार्टी एकीकरण घोषणापछि नेताद्वय यादव र डा भट्टराईले समाजवादी आन्दोलनको नयाँ युगको प्रारम्भ भएको र यसले सबैखाले उत्पीडनमा परेका जाति र समुदायको हकहितका लागि हिमाल, पहाडदेखि तराईसम्म एकीकृत ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
समाजवादी पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद तथा शोषणको अन्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ । समाजवादी पार्टीले संविधान संशोधन गरेर उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझावअनुसार १०+१ प्रदेश बनाउनुपर्ने माग अघि सारेको छ । साथै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको समेत माग गरेको छ ।