भारतको बिजुली बिना लोडसेडिङ हट्न सम्भव छ ?


बिषय प्रबेश गर्नु पहिले नेपालमा उपलब्ध विद्युतको स्रोत, उत्पादनमा रहेका विद्युत गृहहरुको प्रकार, तिनको उत्पादन क्षमताको बारेमा जानकारी गराउन जरुरी छ।

हाल नेपालको विद्युत प्रणालीमा तिन स्रोतबाट विद्युतको आपुर्ति भइ रहेको छ। स्वदेशी उत्पादन तर्फ नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका विद्युत गृह र निजी उर्जा उत्पादकहरुले निर्माण गरेका विद्युत गृहबाट उत्पादित विद्युत पर्दछ भने आयात तर्फ प्राधिकरणले भारतबाट विद्युत आयात गर्ने गरेको छ।

स्वदेशी उत्पादन तर्फ हेर्ने हो भने चार प्रकारका विद्युत गृहहरु संचालनमा रहेका छन।

१. जल प्रवाहमा आधारित (रन अफ द रिभर) परियोजना – यस किसिमका विद्युत गृहहरुबाट उत्पादन हुने विद्युत नदीको जल प्रवाहमा निर्भर हुन्छन। नदीको पानीलाई संचित नगरिने यस्ता आयोजनाबाट उत्पादन हुने विद्युतको परिणाम नदीको जलस्तरसँग प्रत्यक्ष सम्बन्ध राख्छन। नदीको जलको स्तरमा बृद्धि भएसँगै उत्पादन क्षमतामा बृद्धि हुन्छ भने जल प्रवाहमा कमि आएसँगै विद्युत उत्पादन क्षमतामा ह्रास आँउछ। निजी उर्जा प्रवद्र्धकहरुले हाल सम्म विकास गरेका सम्पुर्ण परियोजनाहरु यस किसिमका परियोजना छन भने प्राधिकरणले विकास गरेका परियोजना मध्ये अधिकांस आयोजनाहरु समेत यस किसिमका छन।

२. पिकिङ रन अफ द रिभर परियोजना – यस किसिमका परियोजनाहरु जल प्रवाहमा आधारित भए तापनि यि परियोजनाहरुमा नदीको पानीलाई केहि समयको लागि संचित गर्न सकिने गरि निर्माण गरिन्छ। प्राधिकरणले विकास गरेका कालिगण्डकी ए (१४४ मे.वा.) सहित अन्य केहि परियोजनाहरु हाल संचलानमा रहका छन। विद्युतको माग कम हुने समयमा कम क्षमतामा चालाउने वा बन्द गरेर नदीको पानीलाई संचित गरि राख्ने र विद्युतको माग बढी हुने समय पुर्ण क्षमता वा विद्युत प्रणालीको माग अनुसारको क्षमतामा संचालन गर्ने गरिन्छ। चार देखि छ घण्टासम्म पानीलाई संचित गर्न सकिने गरि डिजाइन गरिएका यस्ता परियोजनाहरुलाई पिक लोड अर्थात बिहान बेलुकाको समय पुर्ण क्षमतामा संचालन गरेर प्राधिकरणले लोडलाई व्यवस्थापन गर्ने गर्दछ। जल प्रवाहमा आधारित परियोजना भन्दा यस प्रकारका परियोजनाको निर्माण लागत बढी हुने तर प्राधिकरणले खरिद गर्ने दर लागत अनुसारको नभएका कारणले गर्दा निजी उर्जा उत्पादकहरुले पिकिङ रन अफ द रिभर परियोजनामा हाल सम्म हात हालेका छैनन्।

३. जलासय युक्त परियोजना – यस प्रकारका परियोजनामा बर्खायामको पानीलाई संचित गरि राखिन्छ र सुख्खा मौसममा यी परियोजनाहरुलाई संचालन गरिन्छ। जब जल प्रवाहमा आधारित परियोजनाबाट हुने विद्युत उत्पादनमा कमि आँउछ, त्यसबेला यि परियोजनाबाट उत्पादन शुरु गरिन्छ। पिकिङ रन अफ द रिभर जस्तै यि परियोजना निर्माण गर्न लागत बढी लाग्ने र प्रधिकरणले खरिद गर्ने दर लागतको अनुपातमा निम्न भएका कारणले निजी उर्जा उत्पादकहरुले यी परियोजनको निर्माण गरेका छैनन भने प्राधिकरणको स्वामित्वमा रहेका कुलेखानी १ (६० मे.वा.), कुलेखानी २ (३२ मे.वा.), कुलेखानी ३ (१४ मे.वा.) गरि १०६ मे.वा. का तिन परियोजना मात्र हाल संचालनमा रहेका छन।

४. थर्मल प्लान्ट – नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा ५३.४१ मे.वा. क्षमताका दुई थर्मल प्लान्ट रहेता पनि ति प्लान्टबाट उत्पादन हुने विद्युतको लागत अत्याधिक महंगो भएको कारणले गर्दा यी प्लान्टहरु केहि बर्ष देखि पुर्ण क्षमतामा संचालनमा रहेका छैनन्।

विद्युत आपुर्तिको अवस्था
नेपाल विद्युत प्राधिकरणको ३५ औं बार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार आ.ब. २०७६।७७ को विद्युत उत्पादन तर्फ निजी उर्जा उत्पादकको अधिकतम उत्पादन ५५८.४९ मे.वा. (२०७७ साल असार महिनमा) रहेको छ भने नेपाल विद्युत प्राधिकरणका परियोजनाबाट अधिकतम उत्पादन ५३१.५५० मे.वा. (२०७७ साल जेठ महिनमा) रहेको छ । दुबै स्रोतबाट गरि आन्तरिक उत्पादन तर्फ अधिकतम उत्पादन १०८४.९९ मे.वा. (२०७७ साल असारमा) रहेको छ।

विद्युत आपुर्तिको बार्षिक अवस्था हेर्दा कुल विद्युत आपुर्तिमा निजी उर्जा उत्पादकबाट उत्पादित उर्जाको हिस्सा ३९.८७ प्रतिशत, प्राधिकरणबाट उत्पादित उर्जाको हिस्सा ३८.२८ प्रतिशत छ भने भारतबाट आयात गरिएको उर्जाको हिस्सेदारी २१.८५ प्रतिशत रहेको छ।

अधिकांस स्वदेशी विद्युत गृहहरु जल प्रवाहमा आधारित वा पिकिङ रन अफ द रिभर परियोजना भएको कारणले गर्दा बर्खायाममा हुने उत्पादन र सुख्खायाममा हुने उत्पादनमा ठुलो असन्तुलन रहेको छ। बर्खायाममा बढी उत्पादन हुने तर सुख्खायाममा नदीको जलस्तरमा अत्याधिक कमी आउने कारणले विद्युत उत्पादनमा अत्याधिक कमी आउने कारणले गर्दा कुल बार्षिक आपुर्तिको आधारमा भारतबाट आयातित उर्जाको लोडसेडिगं हटाउन कति योगदान छ भन्ने तथ्यको सहि आंकलन गर्न सकिदैन। स्वदेशी उत्पादन बर्खायाम बढी भएको कारणले गर्दा विद्युतको मागलाई धान्न कम मात्रमा भारतको भर पर्ने स्थिती रहेको छ भने सुख्खायाममा भारतको उर्जामा ज्यादा भर पर्ने स्थिती रहेको छ।

गत आर्थिक बर्षको विद्युत आपुर्ति र मागलाई हेर्ने हो भने २०७७ बैसाख, जेठ, असार महिनामा कुल मागको क्रमस २३.१२%, २०.२२% र १९.२२% विजुली भारतबाट आयात भएको देखिन्छ। तर सोहि आ.ब.को पुष, माघ, फाल्गुन, चैत्र महिनामा कुल मागको भारतबाट आयात क्रमस ४१.५०%, ४२.४७%, ४४.३२% र ४६.७२% रहेको छ। अर्थात सुख्खा मौसममा कुल मागको लगभग आधा हिस्साको लागि भारत माथि निर्भर रहनु परि रहेको छ।

विद्यमान अवस्थाको विद्युत उत्पादन, माग र आपुर्तिको अवस्था हेर्ने हो भने जब सम्म जलासययुक्त परियोजनाको निर्माण गरिदैन तबसम्म भारतबाट विद्युत आयात नगरि लोडसेडिगं हटाउन असम्भव छ।

प्रतिक्रिया दिनुहोस