लकडाउनको अन्त्य गर्दै, गाँस बास र कपासको ब्यबस्था हरेक नागरिकलाई गर्नुपर्छ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ


जनजीवन सहज बनाऔं, मापदण्ड पालना गरौँ .

लकडाउन वा निषेधाज्ञा सरकारले तयारी गर्नको लागि २-३ हप्ता मात्र लगाउनुपर्ने बिकल्प हो | अब यसलाई अन्त्य गर्नुपर्छ । गास, बास र कपासको ब्यबस्था हरेक नागरिकलाई गर्नुपर्छ । अब जनजीवन सहज बनाऔं ।

हरेक नागरिक, परिवार, समाज र देश टाट पल्टिने स्थितिमा देखा पर्दैछ | यसले मनोसामाजिक असर देखा परिरहेको छ । हामीले कोरोनालाई धेरै हाउगुजी बनाएका छौं । कोरोना संक्रमण सामान्य महामारी हो । यो खोप नआएसम्म रहनसक्छ । तसर्थ यसलाई सरलिकृत बनाऔं । ८५ % संक्रमितलाई आफै वा साधारण उपचारले निको हुन्छ । १० % लाई लाक्षणिक उपचारले ठिक हुन्छ । ५ % लाई आइसीयु, अक्सिजन तथा भेन्टिलेटर चाहिन सक्छ । मृत्यु सरदर २-३ % छ । नेपालमा हाल करिब १ % मृत्युदर छ ।

हामी सबैले ठण्डा र आफ्नै दिमागले सोंचौं । अज्ञानको पछि नलागौं । आफु क्लियर नभएको कुरा सेयर गरेर, बिदेशी संस्थालाई गालि गरेर वा नभएका बिदेशी उदाहरण दिएर लापरबाही नगरौं । भाइरस परिवर्तनशील हुन्छ | यसले स्वरूप परिवर्तन गरिरहन्छ ।

यो कहिले कमजोर हुन्छ, कहिले कडा हुन्छ । नोबेल कोरोना भाइरस नयाँ हो । यसको धेरै अध्ययन हुन बाँकी छ । यसको परिवर्तनशील स्वरूपको कारण WHO, CDC, FDA, बैज्ञानिकहरु, बिज्ञहरु तथा आम अध्येताको धारणा परिवर्तन हुनु स्वाभाविक हो । भाइरस निकै ट्रिकी हुन्छ । भाइरसको ट्रिकीपन अनुसार कदम चाल्नुपर्ने हुन्छ । तसर्थ पहिले यस्तो भन्थ्यो, अहिले यस्तो भन्यो भन्न भाइरोलोजीमा मिल्दैन । पहिले इटलीमा ९ % मृत्युदर थियो भने अहिले कम छ।

एउटा देशको उदाहरण अर्को देशसंग मिल्दैन । तसर्थ यसको व्याख्या आधिकारिक निकाय र बिज्ञबाट हुन्छ, त्यसलाई विश्वास गरौँ । कसको उद्देश्य के हुन्छ, हामीलाई थाहा हुँदैन । नबुझिकन अरुको गोटी नबनौं । यसले हामीलाई फाइदा गर्दैन । विज्ञानको विश्वास गरौँ, अज्ञानको होइन । सरकारले लकडाउन वा निशेधाज्ञा खुला गरोस् । रोजगारी बढाओस । उत्पादनमा अनुदान तथा बजारीकरणको ग्यारेन्टी गरोस् । डुबेका साना व्यापारीलाई बैकल्पिक ब्यबस्था गरोस् । न्यून आय भएका व्यक्तिलाई मास्क, साबुन, स्यानिटाइजर तथा राहत प्रदान गरोस् ।-

हामी आम नागरिकले घरबाहिर जाँदा अनिबार्यरुपमा सहि तरिकाले मास्कको प्रयोग गरौँ । व्यक्तिगत दुरी कायम गरौँ ।हात सफा गरौँ। भीडभाड नगरौं । यति गर्यौं भने यो महामारी नियन्त्रण हुन्छ । हामीले कडाइका साथ जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने जनजीवन अन्य देशमा जस्तै सहज र सरल हुन्छ ।

हामीले यी उपाय अबलम्बन गरेनौं भने संक्रमण तीब्र गतिमा बढ्छ | हाम्रो जनजीवन अस्तव्यस्त हुन्छ । हाम्रो स्वास्थ्य प्रणाली कमजोर छ । तसर्थ एकजना पनि संक्रमित नहुने रणनीति अबलम्बन गरौँ । विश्वका धनी देशमा भएका क्षति बुझेर हामीले पाठ सिकौं । हामी अरुको तालमा लाग्दा भोलि संक्रमित भयौं भने उनीहरुले साथ दिदैनन् । हामीलाई चाहिने हाम्रै अस्पताल तथा स्वास्थ्यकर्मी हुन् । उनीहरुलाई प्रोत्साहित गरौँ ।- अनाबश्यक बिषयमा बहस गरेर आफुलाई तनाबमा नपारौं ।त्यसको कुनै अर्थ छैन । केहि सिप सिकौं | उत्पादनमा लागौं ।

विश्वका धेरै देशमा जनजीवन सहज भएको छ | जनता अनुशाशित र सरकार इमान्दार भएका चीन, जापान, कोरिया, भियतनाम, ताइवान, भुटानजस्ता देशमा मास्क, भौतिक दुरी र सरसफाइले संक्रमण नियन्त्रण भएको छ ।

महामारी एकैपटक संसारभर फैलिएको नयाँरोगको प्रकोपलाई भनिन्छ | यसमा मृत्युदर थोरै / धेरै हुनुको अर्थ हुँदैन । बिकसित देशमा भएका आन्दोलनसंग हाम्रो तुलना नगरौं । त्यहाँ बिरामी भए सरकारले सबै हेर्छ । यहाँ हामीले आफै हेर्नुपर्छ । हामी सबैको सामुहिक प्रयासले जनजीवन सहज र महामारी नियन्त्रण गरौँ । खोप आएपछि महामारीको अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस