प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमण नेपालको हितमा भएको परराष्ट्रबिदहरुको दावी
राजनीतिक विश्लेषक तथा कूटनीतिक क्षेत्रका जानकारले बुद्धजयन्तीको अवसर पारेर भियतनाममा हुने वैशाख सम्मेलन तथा कम्बोडियाको प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण मुलुकहरुबीचको हितमा रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा राजन भट्टराईले यही वैशाख २६ देखि जेठ १ गतेसम्म प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण सफल हुने जिकिर गर्नुभयो । डा भट्टराईले प्रधानमन्त्री ओलीको भ्रमण भियतनाम र कम्बोडियासँग द्विपक्षीय सम्भावनाको खोजी गर्नमा केन्द्रित हुने बताउनुभयो । उहाँले दक्षिण पूर्वी एशियाको उदाउँदो राष्ट्र भियतनामको भ्रमणबाट हामीले लाभ लिन सक्ने उल्लेख गर्नुभयो । नेपाल र भियतनामबीच द्विपक्षीय व्यापारका बारेमा पनि कुराकानी हुने जानकारी दिँदै उहाँले दुई मुलुकबीच सांस्कृतिक आदान–प्रदान हुने बताउनुभयो । डा भट्टराईले बहुसङ्ख्यक भियतनामी जनता बुद्ध धर्म मान्ने भएकाले गौतमबुद्धको जन्मस्थल लुुम्बिनीमा भियतनामी बौद्ध धर्मावलम्बी पर्यटक भित्र्याउन प्रधानमन्त्रीको भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । भियतनाममा यही वैशाख २९ गते वैशाख दिवस मनाउने उक्त दिन अन्तर्राष्ट्रिय सम्मेलनको समेत आयोजना गरिएकाले त्यसमा नेपालका प्रधानमन्त्री ओलीले मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिनुभयो । उक्त सम्मेलनमा भारतीय उपराष्ट्रपति तथा मलेसियाका प्रधानमन्त्रीलगायत विभिन्न देशका उच्चपदस्थ व्यक्ति आउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । कम्बोडियाका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री त्यसतर्फ जान लागेको पनि उहाँले बताउनुभयो । “कम्बोडियासँग द्विपक्षीय व्यापार लगानीको सम्भाव्यताबारे खोजी गरिनेछ”, भट्टराईले थप्नुभयो ।
पूर्वराजदूत डा शम्भुराम सिम्खडाले प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण ती मुलुकबीच संस्कृति तथा कूटनीतिक विस्तार गर्न अर्थपूर्ण रहेको बताउनुभयो । सिम्खडाले भियतनाम र कम्बोडिया दुवै उच्चस्तरको आर्थिक वृद्धि दर हासिल गरेका मुलुक भएकाले नेपालले ती मुलुकबाट लाभ लिनुपर्ने बताउनुभयो । बुद्धजयन्तीका अवसर पारेर भियतनाममा हुने वैशाख सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता हुने र उहाँको सम्बोधन गर्ने कुरा राम्रो पक्ष भएको बताउनुभयो तर ओली भ्रमणमा जानुअघि नेपालको विदेश नीतिमा आमसहमति हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले दुवै देशसँग नेपालको ऐतिहासिक तथा पुरानो सम्बन्ध भएकाले प्रधानमन्त्री ओलीको भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
बुद्धजयन्तीका अवसर पारेर वैशाख डेमा प्रधानमन्त्रीले मुख्य वक्ताका रुपमा बोल्ने कार्यक्रम रहेकाले उक्त सम्मेलनमार्फत ग्लोबल बुद्धिज्म र लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न पनि ‘माइल–स्टोन’ हुने श्रेष्ठको भनाइ थियो । श्रेष्ठले भियतनामले वाटरवेज र रेलवेजमा धेरै ठूलो विकास गरेको बताउँदै प्रधानमन्त्रीको यो भ्रमणले दुवै मुलुकसँग नयाँनयाँ सम्भावनाको द्वार खोल्ने अवसर प्राप्त हुने धारणा व्यक्त गर्नुभयो । सम्मेलनमा विभिन्न देशका उच्चपदस्थ व्यक्तिलगायत तथा नेपालसहित विश्वका विभिन्न मुलुकका बौद्ध भिक्षुहरु ठूलो सङ्ख्यामा आउने कार्यक्रम छ । सन् १९७५ मा नेपाल र कम्बोडियाबीच दौत्य सम्बन्ध स्थापना भएको थियो ।
असंलग्न मुलुक कम्बोडिया नेपालको पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक हो । भियतनाम महायान् बौद्धधर्मका अनुयायीहरुको तथा कम्बोडिया थेरवाद बुद्धधर्मका अनुयायीको बाहुल्य भएका मुलुक हुन् । भियतनाम होचिमिन्हको पालादेखि नै नेपाली जनताको सम्बन्ध भएको मुलुक हो । भियतनाम तथा कम्बोडियाको लामो सङ्घर्षको इतिहास जोडिएको छ । संयुक्त राष्ट्र सङ्घले वैशाख दिवस मनाउने घोषणा गरेअनुरुप भियतनाममा यस वर्ष वैशाख डे सम्मेलन हुन लागेको हो ।