“नयाँ नेपाल”को नयाँ मापदण्ड, अर्थमन्त्री बन्न योग्यता नचाहिने !


विश्वव्यापी महामारी कोरोनाका कारणले अर्थतन्त्र गम्भिर मोडमा उभिएको बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु बिच भने अर्थमन्त्री बन्ने होडबाजी चलेको छ।

बिगतका केहि बर्ष अर्थशास्त्र बिषयका बिज्ञ अर्थमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाले पछि अर्थतन्त्रमा ६-८ प्रतिशतको बृद्धि भएको थियो । सुध्रिदै गएको अर्थतन्त्र कोरोनाको विश्वव्यापी माहामारीका कारण फेरी ओरालो झर्न थालेको छ। संक्रमण फैलिनलाई देशभर लकडाउन गरेसँगै आर्थिक गतिविधीमा कमी आउनको कारणले अर्थतन्त्रमा गम्भिर असर गरेको छ भने विदेशमा रहेको नेपालीले रोजगारी गुमाउनु पर्ने अवस्थाको श्रृजना भएको छ।

अर्थतन्त्रमा परेको संकटबाट पार लगाउन विषयगत विज्ञको आवस्यकता पर्ने महसुस गरि प्रधानमन्त्री केपी ओली डा. युवराज खतिवडालाई निरन्तरता दिने मुडमा थिए । नेकपा भित्रको शक्ती संघर्षमा बामदेव गौतमको मत निर्णायक भएको, गौतमलाई चिड्याएमा ओली अल्पमतमा पर्ने भएको कारण ओलीलाई डा.खतिवडाको सट्टा गौतम प्रस्ताव गर्नु पर्ने वाध्यता आई पर्यो। जस्को कारण डा.खतिवडाले अपमानजनक बर्हिगमन सहनु पार्यो।

खाली रहेको अर्थ मन्त्रालयको नेतृत्व गर्न उपाध्यक्ष गौतम लगायत आधा दर्जन नेताले इच्छा जनाएको नेकपा स्रोतको दावी छ।

केही अघिसम्म नेपालमा अर्थमन्त्री बन्नका लागि अर्थशास्त्रका विज्ञ खोज्ने गरिन्थ्यो। तर, करिब १२ वर्षअघि पुष्पकमल दाहाल “प्रचण्ड”को नेतृत्वको सरकारले इन्जिनियरिङमा विद्यावारिधी गरेका डा. बाबुराम भट्टराईलाई अर्थमन्त्रीमा नियुक्ती गरेसँगै उक्त परम्परा तोडियो । त्यसपछि अर्थशास्त्रमा बिषयगत ज्ञान भएका व्यक्ती भन्दा बिषयगत ज्ञान नभएका व्यक्तीको अर्थमन्त्रालयमा हालीमुहाली चल्न थाल्यो । प्रचण्डको सरकार पछि बनेको माधव नेपालको नेतृत्वको सरकारमा समाजशास्त्र पढेका सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाइयो ।

माधव नेपालको नेतृत्वको सरकार पछि बनेका माओवादी नेतृत्वको सरकारले शिक्षा संकायमा स्नातक पास कृष्णबहादृर महरा र कानुन बिषयमा प्रविणता प्रमाणपत्र पास वर्षमान पुनलाई अर्थमन्त्री बनाएर सरकार चलायो । डा. भट्टराई र पाण्डेले अर्थमन्त्रीको रुपमा केहि राम्रा काम गरेपनि महरा र पुनले कुनै उपलब्धीमुलक काम गर्न सकेनन् ।

त्यसै गरि पछिल्लो पटक बनेको केपी ओली नेतृत्वको सरकारमा बिष्णु पौडेललाई अर्थमन्त्री बनाइयो भने शेर बहादुर देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर पास गरेका ज्ञानेन्द्र बहादुर कार्कीलाई अर्थमन्त्रालयको जिम्मेवारी दिए।

सत्तारुढ नेकपामा अर्थमन्त्रीको दौड कस्ले जित्छ भविश्यले बताउला तर कोरोनाको कारणले थंथिलो बनेको अर्थतन्त्रलाई सहि दिशामा ल्याउने चुनौति रहेको बेला बिषयगत ज्ञान नभएका व्यक्तीलाई अर्थमन्त्रालयको जिम्मेवारी दिँदा कतै देश दुर्घटनामा त जाँदैन?

प्रतिक्रिया दिनुहोस