‘आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्’


बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–५ जगतियाका घनश्याम सापकोटा बेपत्ता छोरीको खोजी गर्दागर्दै थाकिसक्नुभयो । उहाँले बेपत्ता भएको पुष्टि हुने कागज सरकारी निकायदेखि मानवअधिकार सङ्घसंस्थामा पेश गरेपनि अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।

उहाँ गुनासो गर्नुहुन्छ, “छोरीको न लास पाइयो न सास ।” विसं २०६० मा नेपालगञ्जमा अध्यनरत छोरी दीपाको सुरक्षाकर्र्मीको टोलीले नियन्त्रण लिएका थिए । त्यसपछि बेपत्ता छोरी घर फर्किने पर्खाईमा बसेका उहाँलाई बुढ्यौलीले छोइसकेको छ । “त्यस घटनापछि देशमा अनेक सरकार फेरिए शैली उस्तै छ,” उहाँले भन्नुभयो, “हाम्रा सन्ततिको रगत बगेर विष बन्यो । पद पाएपछि नेताले सबै भुले ।” बढैयाताल गाउँपालिका–५ जगतिया गाउँको मगन्ती थारुको पीडा पनि उस्तै छ । विसं २०५८ मंसिर २७ गते श्रीमान शिवशरण कोहलपुर आफन्त कहाँ जाँदा बाटोमा पक्राउ गरे । चार महिना विभिन्न हिरासतमा यातना सहँदै कारागार पुगेका उनी चैत २१ गते गुलरियास्थित कारागारबाटै बेपत्ता पारिएको बताइएको छ । त्यसपछि पीडामा बाँचेकी मगन्ती भित्तामा टाँसेको श्रीमानको फोटो हेर्न विवश हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्, आफ्नो मान्छे बाँचेको छ वा मरेको छ त्यो पनि थाहा पाइएन ।” दशवर्षे द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट आफन्त गुमाएका अवस्था यी प्रतिनिधि घटनाले पुष्टि गर्छ । बर्दियामा बेपत्ता भएका २७८ व्यक्तिका परिवार यस्तै पीडामा बाँच्न विवश छन् । राज्यले बेपत्ता परिवारलाई विभिन्न किसिमको आवश्वासन दिएको बेपत्ता परिवारको गुनासो छ । दोषीलाई कारबाहीको माग गरेको वर्षौं बितिसक्दा पनि राज्यले बेपत्ता परिवारको मागप्रति बेवास्ता गरेको महिला कानून विकास मञ्चका काशीराम चौधरीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बेपत्ता परिवारको घाउमा मलम लगाउने काम समेत राज्यले गर्न सकेको छैन ।” RSS

प्रतिक्रिया दिनुहोस