मुख्यमन्त्री पौडेलद्वारा मुसहर समुदायका ३५५ परिवारलाई घर हस्तान्तरण


बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मुसहर समुदायका ३५५ परिवारलाई घर हस्तान्तरण गर्नुभएको छ ।

दुधौली नगरपालिका वडा नं ११ तल्लो पत्रिङ्गामा आज आयोजित कार्यक्रममा दुधौलीका विभिन्न वडामा बनेका ती घर साँचो ती समुदायलाई हस्तान्तरण गर्नुभएको हो ।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको प्रत्याभूत गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“यहाँको सुरक्षित आवसका लागि चाहिने थप न्युनतम पूर्वाधारहरु प्रदेश सरकारले निर्माण गर्नेछ ।” ‘समृद्ध नेपाल , सुखी नेपाली बनाउने ’ संघीय सरकारको ध्येयलाई पुरा गर्न प्रदेश सरकारले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

आवास विहीन सीमान्तकृत, दलित र विपन्न समुुदायलाई बसोवासका लागि आवास उपलब्ध गराउने उद्देश्य सहित सञ्चालनमा ल्याइएको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत मुसहर समुदायलाई भवन हस्तान्तरण गरिएको हो ।

बागमती प्रदेश सरकारको ११ करोड २२ लाख ७ हजार ६५१ लागतमा ती घर निर्माण गरिएको शहरी विकास विकास कार्यालयका प्रमुख इञ्जीनियर दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुधौलीको वडा नं ४, ५, ६, ७, ९ र ११ मा ती घर निर्माण गरिएको छ । त्यहाँका ५९० परिवार जनता आवास कार्यक्रममा छनौट भएकोमा पहिलो चरणमा ३५५ जना लाभग्राहिमा परेको र बाँकी अरु छनौट भएकाहरुको बजेट विनियोजन भएपछि बनाइने उहाँको भनाई छ ।

प्रदेश सरकारले एक घर बराबर तीन लाख ३६ हजार उपलब्ध गराएको समेत गराएको छ । घर निर्माण कार्यमा अन्य आवश्यक सहयोग स्थानीय सरकारले समेत गरेको थियो ।

विगत तीन वर्षदेखि सुरु गरिएको जनता आवास कार्यक्रममा पहिलो वर्ष ६ , दोस्रो वर्ष ९५ र तेस्रो बर्ष २५४ घर निर्माण भएको कार्यालय प्रमुख घिमिरेले उहाँले जानकारी दिनुभयो । भवन निर्माण गर्नको लागि ३ लाख ३६ हजारलाई चार किस्तामा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस