होमस्टे व्यवसायी कृषिमा जुट्दै


कोरोना सङ्क्रमणका कारण पर्यटकहरुको आगमन हुन छाडेपछि होमस्टे(घरवास पर्यटन) व्यवसायमा सम्भावना नदेखेका यहाँका व्यवसायीहरु धमाधम कृषि पेशामा लागेका छन् ।

कोभिड–१९ को प्रभावपछि यहाँका होमस्टे सञ्चालक आम्दानीको विकल्प नभएपछि कृषि पेशा नै रोज्न थालेका हुन् । बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीका गङ्गादत्त जैसीले बैंकबाट रु २० लाख ऋण निकालेर होमस्टेमा लगानी गर्नुभएको थियो । उहाँको यस व्यवसाय विस्तारै फस्टाइरहेको थियो । आन्तरिक तथा बाह्य पर्यटकहरु उहाँको होमस्टेमा आउने क्रम बढ्दै थियो । पर्यटकको स्वागत सत्कारमा उहाँको परिवार व्यस्त हुने गर्दथ्यो । उहाँलाई केही वर्षअघि नै होमस्टे शुरु गर्न पाएको भए राम्रो आम्दानी गर्न सकिने रहेछ भन्ने लागेको पनि थियो । आम्दानी भएपछि ऋण चुक्ता गर्न उहाँलाई खासै समस्या थिएन । बैंकलाई पाँच लाख रुपैयाँ बुझाउन बाँकी थियो । पाँच महिना यता भने उहाँलाई त्यो व्यवसाय निकै समस्या बन्न पुग्यो । कोभिड–१९ को प्रभावपछि पर्यटकको आगमन नभएपछि अब बैंकको ऋण कसरी तिर्ने र आफ्नो गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताउन थालेको छ । उहाँ भन्नुहुन्छ, “कोही पाहुना आइहाले पनि रोगको सङ्क्रमणको त्रासले गर्दा डराउनुपर्ने स्थिति छ ।” गत चैतमा लकडाउन भएपछि मासिक पाँच हजार रुपयाँ किस्ता तिर्न पनि मुस्किल परेको जैसीले बताउनुभयो । कोभिड–१९ को प्रभावपछि यहाँका होमस्टे सञ्चालकले आम्दानीको विकल्प रोज्न थालेका छन् । यतिबेला जैसीको पाहुना घर खाली छ । यो समयमा उहाँ पाहुना कुरेर बस्नुभन्दा आयआर्जनको विकल्पका रूपमा पहिलेकै झैं कृषि पेशा अँगाल्नु भएको छ । यसै महिना उहाँले ३० वटा बाख्रा खरिद गरेर बाख्रापालन गर्न शुरु गर्नुभएको छ । बाख्रासँगै भैंसी, कुखुरा पनि पाल्ने योजना रहेको उहाँ बताउनुहुन्छ । उहाँले भाडामा लिएको तीन बिघा जग्गामा गोलभेंडा खेती गर्न थाल्नु भएको छ । उहाँको नौ जनाको परिवार सबै खेतीपातीमा खटिएका छन् । “पाहुनासँग डराउनु पर्ने स्थिति आयो, पेट पाल्न विकल्प रोज्नै प¥यो,” उहाँले भन्नुभयो, “होमस्टेलाई एग्रो फार्मका रूपमा विकास गर्दैछु ।” गाभर भ्याली होमस्टेका प्रायः सबैजसो सञ्चालकहरु अहिले कृषि र पशुपालनतिर मोडिएका छन् । बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको गाभर भ्याली होमस्टे सात वर्षदेखि सञ्चालनमा छ । खासगरी सुदूरपश्चिमका पर्यटकीय स्थल रारा, खप्तड, धनगढी, कञ्चनपुर, बर्दिया निकुञ्जलगायत स्थलमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटक विश्राम गर्ने केन्द्र यही हो । यहाँका १७ घर होमस्टेमा अहिले पाहुना आउँदा स्वागत त के डराएर कसैले राख्न खोज्दैनन् । ऋण गरेर लगानी गरेको व्यवसायमा यसरी एक्कासि घाटा खेप्नुपरेपछि व्यवसायीहरु चिन्तित बनेका छन् । होमस्टे व्यवसायी कर्णराज रोकायले दुई वर्षअघि होमस्टेमा प्रशस्त सम्भावना देखेर लगानी लगाउनुभएको थियो । यसमा उहाँले सोचेभन्दा राम्रो आम्दानी पनि भएको थियो । थप लगानी लगाएर होमस्टेलाई व्यवस्थित गर्ने सोचसमेत बनाउनु भएको थियो । वन डिभिजनमा करारको जागिर छोडेर उहाँले व्यवसायमा हात हाल्नुभएको हो । अहिले भने उहाँ लगानी डुब्ने चिन्तामा हुनुहुन्छ । झन्डै २२ हजार रुपैयाँ बैंकको ब्याज तिर्नुपर्दा सकस छ । उहाँ भन्नुहुन्छ, “आम्दानी सुको छैन । बैंकको ऋण तिर्न र परिवार पाल्नका लागि अब तरकारी खेती गर्ने सोचमा छु ।” राप्ती सोनारी गाउँपालिकामा पर्ने नयाँ गाउँ होमस्टेको अवस्था पनि उस्तै छ । यहाँका प्रायः व्यवसायी विकल्पका रूपमा कुखुरापालन र तरकारी खेती गर्न थालेका छन् । दुई वर्षदेखि होमस्टे सञ्चालनको अनुभव बटुलेकी नानीकला जैसीले होमस्टे चलाउन नसकेपछि तरकारी खेती गर्न थालेको बताउनुभयो । “पहिला पाहुनाकै सत्कारमा समय दिन भ्याइनभ्याइ हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले कोरोनाको डरले होमस्टे सञ्चालन नभएपछि तरकारी बेचेर भए पनि घर खर्च चलाउन थालेकी छु ।”

प्रतिक्रिया दिनुहोस