कोभिड उपचार निःशुल्क भएपछि परिवारलाई राहत


भरतपुर महानगरपालिका–५ का कृष्णचन्द्र भट्टराईका बुवा ७९ वर्षीय पुष्पराजले कोरोना जित्न सफल हुनुभयो । लामो अस्पतालको बसाइपछि डिस्चार्ज हुँदै गर्दा अस्पतालमा तिर्नुपर्ने रकम रु चार लाखभन्दा माथि भयो ।

चितवन मेडिकल कलेजबाट बुवाको डिस्चार्ज गर्दैगर्दा तिर्नुपर्ने रकम देखेर भट्टराई झसङ्ग हुनुभयो । उहाँले अस्पतालमा राखेको धरौटी रु ३३ हजारबाहेक बिल रु चार लाख दुई हजार ४० थियो । उहाँलाई अस्पतालमा भर्नापछि छातीमा सङ्क्रमण देखिएपछि सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेरसमेत उपचार गरिएको तर रकमको जोहो गर्न नपाउँदै उहाँलाई थाहा भयो, चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितका लागि निःशुल्क उपचार गर्दै आएको छ । भट्टराईले बुवालाई खाना नरुचेर कमजोर भएपछि भदौ ११ गते चितवन मेडिकल कलेज लैजानुभएको हो । त्यसको भोलिपल्ट उहाँमा कोरोना सङ्क्रमण देखिएको थियो । भट्टराईले भन्नुभयो, “मेडिकल कलेजले सङ्क्रमितको उपचार निःशुल्क गरेकै कारण मजस्ता धेरैले उपचार खर्च जुटाउनु परेन ।” वृद्ध बुवाले कोरोना जितेको र निःशुल्क उपचार पाएकामा उहाँले खुशी प्रकट गर्नुभयो । सो मेडिकल कलेज कोरोना उपचार र परीक्षणमा अग्रणी स्थानमा रहेको छ । अस्पतालले हालसम्म २२९ सङ्क्रमितको उपचार गरेको छ । जसमध्ये अस्पतालमा ७२ जना उपचाररत रहेका छन् । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले सरकारले गरेको निर्देशनअनुरुप कोरोना सङ्क्रमितको उपचार सम्बन्धित बिरामीको परिवारलाई निःशुल्क गरिएको बताउनुभयो । कोरोना सङ्क्रमित बढ्दै गएका कारण अस्पतालको स्रोत साधन उनीहरुको उपचारमा लगाइएको उहाँको भनाइ छ । कतिपय बिरामीले अन्य समस्या पनि कोरोना सङ्क्रमण देखिएपछि निःशुल्क गर्न दबाब दिएको भन्दै उहाँले त्यो सम्भव नरहेको बताउनुभयो । जिल्लामा सो मेडिकल कलेजसहित कोरोनाको उपचार भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र पुष्पाञ्जली अस्पतालले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस