बाघसँगको गहिरो प्रेम


बाघ आक्रमणमा परेर आँखा गुमाउँदा संसारै अध्यारो भएको पीडा त हुन्छ नै, त्यो भन्दा बढी आफूलाई आक्रमण गर्ने बाघप्रति आक्रोस सबैमा उठ्ने गर्छ । बाघको आक्रमणमा परेर महिनौँ दिन अस्पतालमा छट्पटाउँदा पनि कमै मान्छे हुन्छन् आक्रमणकारीलाई बचाएर राख्ने सोच बनाउने ।

आक्रमणमा परी बाँच्ने र मर्ने दोसाँधमा पुगेका बेला प्रतिशोध साध्नतर्फ नभई बाघको संरक्षण गर्नुपर्छ भन्दै बाघलाई माया गर्छन्, मधुवन नगरपालिका खाता गाउँका भदै थारू । थारूको अचम्मको व्यवहारबाट हलिउड स्टार लियोनार्दाे डिक्याप्रियो प्रभावित हुन्छन् । भदैको बर्दियामा पर्ने मधुवन हलिउड स्टार लियोनार्दाेले भदैलाई अँगालोमा बेरेर फोटो खिचाउँछन् । भदैलाई सम्झनास्वरुप चस्मा उपहार दिन्छन् । सात वर्षदेखि त्यही चस्मा लगाएर भदै हिँड्छन् । डिक्याप्रियोले उपहार दिएको चस्माले बाघ संरक्षणमा भदैलाई हौसलाका साथै उत्साह मिलेको छ । भदैको दुई आँखामध्ये एउटा आँखा छैन । हिँड्दा चस्माको सहाराले हिँड्नु पर्छ । अपाङ्ग भएर बाँच्नु पर्दा उनलाई पश्चाताप छैन । दुई छाकको जोहो र छोराछोरीको अभिभारा उनकै काँधमा छ । त्यतिबेला लियोनार्दाेले बर्दिया राष्ट्रिय निकुञ्जमा चार दिन बिताएका थिए । उनले सामुदायिक वनका पदाधिकारी र स्थानीय प्रतिनिधिसँग पनि भेटेका थिए । गाउँ संरक्षणको गीत गाउँदै हाँसीखुसी जीवन बिताइरहेका छन् उनी । उनलाई संरक्षणमा जागरुक हुनका लागि संरक्षणमा लागिपरेका सङ्घसंस्थाले हरेक कार्यक्रममा उनलाई निम्तो दिएर बोलाउँछन् । भदैले दाहिने आँखा गुमाएका छन् । घरका परिवारले गरेको खेती किसानीले गुजारा चलेको छ उनको । सामुदायिक वनमा खरखडाइ खुलेकाले कसैले वन्यजन्तु मार्लान् भनेर जङ्गल गएको थिए उनी । त्यसै दिन उनीमाथि बज्रपात प¥यो । संरक्षणमा तत्पर भदै थारू २०६० पुस २२ गते आफू अध्यक्ष रहेको गौरी सामुदायिक वन रेखदेखका लागि पुगेका थिए । त्यतिबेला बाघसँग जुध्दा उनले दाहिने आँखा गुमाएका हुन् । बाघसँग पैठे जोरी खेलेपछि ज्यान त जोगाए तर उनले दाहिने आँखा गुमाए । उनलाई तीन महिना अस्पतालमा बस्नु परेको थियो । आक्रमणमा परेको आँखाले काम गर्न नसक्दा करीब एक वर्ष कोठामा बिताए । घरको काम गर्न नसकेपछि पारिवारिक समस्या थपिँदै गयो । ‘‘आँखा नखेख्ने भनेर मलाई छिमेकी र साथीहरुले पनि हेला गर्थे’’, उनले पीडादायी क्षण स्मरण गर्दै भने । उनी भन्छन, “अमेरिकाको हिरोले आधा घण्टा कुरा गरेर सँगै फोटो खिचेर लगेका छन्, आफन्त र छिमेकीहरु भने मलाई हेय भावले हेर्छन् ।’’ उनलाई वन्यजन्तु पनि छोराछोरीसरह लाग्दछ । ‘‘यिनको संरक्षण गर्नु हाम्रो कर्तवय हो”, भनी भन्छन् । उनको वन्युजन्तु संरक्षणप्रतिको योगदानको कदर गर्दै संरक्षण पुरस्कार पनि प्रदान गरिएको छ । बाघको आक्रमणमा परी अस्पतालको शय्या र घरमै आराम गरेर बस्दा उनमा साहित्यको भाव फु¥यो । मोफसलको पत्रिकामा उनका सयभन्दा बढी थारू भाषाका गजल, कविता स्थानीय पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । उनी लेख्न जान्दैनन् । अपाङ्ग भएका भदैका मनमनै गुनेर बनाएका गजल, कवितालाई छोराले कापीमा लेखेर उतारी दिन्छन् । –––

प्रतिक्रिया दिनुहोस