देवीकोटः धार्मिक आस्था र प्रकृतिको सङ्गमस्थल


दाङ देउखुरीको पहाडी क्षेत्र देवीकोटस्थित भद्राक्षीदेवी मन्दिरमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । पहाडको चुचुरामा अवस्थित भद्राक्षीदेवी मन्दिर परिसरमा पछिल्लो समय आन्तरिक पर्यटकको आउजाउ बढेसँगै नयाँनयाँ संरचना पनि निर्माण भइरहेका छन् भने कतिपय निर्माण प्रक्रियामा छन् ।

हिन्दू धर्मालम्बीको शक्तिपीठ देवीकोट राप्ती गाउँपालिका वडा नं ९ मा पर्ने अन्य ठाउँभन्दा निकै विकट क्षेत्रमा छ । सामान्य सडक र विद्युत् पुगे पनि सञ्चार पुग्न नसक्दा सो क्षेत्र अझै पनि ओझेलमा छ । पूर्वपश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर पूर्वतिरको उकालो यात्रापछि मात्र देवीकोट पुग्न सकिन्छ । मोटरसाइकल र साना गाडी मात्र जान सक्ने तर ठूला सवारी साधन जान नसक्ने कच्ची बाटो मात्र छ । किंवदन्तीअनुसार देवीकोटमा सत्यदेवीको बायाँ घुँडो पतन भई भद्राक्षीदेवी उत्पत्ति भएको थियो । मन्दिरका पुजारी लीलाबहादुर कार्कीका अनुसार सत्ययुगदेखि नै देवीकोटमा भद्राक्षीदेवीको पूजाआराधना हुँदै आएको छ । त्यस क्षेत्रको विकास नहुँदा मन्दिरसम्म आउने भक्तजनलाई कष्ट झेल्नुपरेको उहाँ गुनासो गर्नुहुन्छ । मन्दिरमा पूजाराधना र प्राकृतिक रमणीय दृष्यावलोकन गर्न हिजोआज आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष चन्द्रबहादुर जिसी बताउनुहुन्छ । ‘देवीकोटसम्म ठूला सवारी साधन पुग्ने सडक अझै आउन सकेको छैन तर साना सवारीसाधन भने आउन सक्छ । साना सवारी साधनमै भए पनि भक्तजनको आगमन अत्यधिक हुने गरेको छ ’, उहाँले भन्नुभयो, ‘मन्दिर परिसरमा केही व्यक्तिले आफ्ना दिवङ्गत आफन्तका नाममा मन्दिर, खानेपानी, पर्खाल, प्रतीक्षालय निर्माणको काम गरेका छन् ।’ देवीकोटबाट देउखुरी उपत्यकाको दृष्यावलोकन गर्न सकिन्छ । देवीकोटको पहाडबाट उत्तरतर्फका हिमशृङ्खला, महाभारत शृङ्खलाका पहाड, दक्षिणतर्फ देउखुरीको समतल भूभाग र भारतको सीमा क्षेत्रको भूभागसमेत हेर्न सकिन्छ । मन्दिर परिसरमा टाढाबाट आउने भक्तजनका लागि धर्मधाला, गणेश मन्दिर, शिव मन्दिरसमेत निर्माण भएको उहाँले बताउनुभयो । अघिल्ला वर्षमा निकै थोरै व्यक्ति पैदलयात्रा गरेर जाने गरेको देवीकोटमा पछिल्लो समय साँघुरो भए पनि मोटर बाटो पुगेपछि भने भक्तजनको भीड बढेको छ । करीब तीन बिघा ६ कठ्ठा क्षेत्रफलमा फैलिएको मन्दिर क्षेत्रमा विवाहमण्डप र हनुमान मन्दिर निर्माणाधीवस्थामा रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । दाङ जिल्लाको चुरे शृङ्खलाको ऐतिहासिकस्थल देवीकोटमा पुगेपछि ऐतिहासिक अध्ययनका धेरै कुरा भेटिन्छन् । मन्दिरको पूर्वतर्फ घोरेवास भन्ने गाउँ छ । घोरेबासमा भुरेटाकुरे राजाहरुका समयमा अड्डा, अदालत र गोश्वारा कार्यालयसमेत रहेको स्थानीयवासी बताउँछन् । मन्दिरको उत्तरतर्फ छाउनीटोला भन्ने गाउँ छ । कुनै समयमा सेनाको छाउनी रहेकाले अहिले उक्त गाउँलाई छाउनटोला नामकरण गरिएको स्थानीयवासी ७९ वर्षीय लुमकान्त पौडेल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस