नमोबुद्धका विपन्नलाई तेस्रो चरणको राहत


नमोबुद्ध नगरपालिकामा विपन्न परिवारलाई राहत वितरणको तेस्रो चरणको राहत प्याकेज शुरु गरिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण समस्यामा परेका ३६३ विपन्न परिवारलाई दाताको सहयोगमा नगरमार्फत राहत वितरण शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

कोरोना सङ्क्रमण शुरु भएयता तेस्रो चरणको राहत वितरण भइरहेको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनुभयो । “कोरोना सङ्क्रमण शुरु भएपछि नगरले आफ्नै स्रोतबाट र त्यसपछि दाताको सहयोगमा राहत प्याकेज सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो । प्रमुख शर्माका अनुसार कोरोना सङ्क्रमणपछि पहिचान भएका ३६३ विपन्न परिवारलाई राहत वितरण गरिएको छ । तेस्रो चरणको राहत प्याकेजअन्तर्गत हाल पहिलो चरणमा नगरको १, ७, ८, ९ र १० का १३० परिवारलाई राहत वितरण गरिएको छ । उहाँले भन्नुभयो, “अब दोस्रो चरणमा बाँकी वडामा क्रमैसँगै राहत वितरण गरिनेछ ।” नगरपालिकामा ११ वडा छन् । राहत प्याकेजमा प्रतिपरिवार ३० किलो चामल, पाँच किलो दाल, दुई लिटर तेल र एक प्याकेट नून रहेको छ । दोस्रो र तेस्रो चरणको राहत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित ठाङ्गु गुम्बाले सहयोग गरेको हो । गुम्बाका अध्यक्ष लामा खाम्सुङले नगरका विपन्नलाई राहत जारी राखिने बताउनुभयो । “हामी राहत प्याकेजलाई निरन्तरता दिने अभियानमा छौँ”, उहाँले भन्नुभयो । नगरले कोरोना भाइरस सङ्क्रमण शुरु भएपछि पहिलो चरणमा पहिचान भएका नगरका करिब २०० विपन्न परिवारलाई राहत वितरण गरेको थियो । त्यसपपछि नगरले दाताको सहयोगमा साउनमा दोस्रो चरणको राहत प्याकेज शुरु गरेको थियो । दोस्रो चरणको राहतका बेला नगरका सबै विपन्न परिवारको पहिचान भइसकेको थियो । “पहिलो चरणको राहत वितरणपछि सङ्क्रमणको जोखिम बढ्दै जाँदा दोस्रो राहतको व्यवस्थापनका लागि नगरले योजना बनाइरहेका बेला दाता आइपुग्नुभयो, सङ्क्रमणको अवस्था रहिरहेमा राहतका थप चरणका लागि पनि प्रयासरत रहने छौँ”, नगरप्रमुख शर्माले भन्नुभयो । उहाँका अनुसार नगरमा हाल कोरोना भाइरसका तीन सक्रिय सङ्क्रमित छन् । काभ्रेपलाञ्चोकमा भने गत असार २ गतेयता ६१५ मा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार कूल सङ्क्रमितमध्ये छ को मृत्यु भएको छ भने ४०६ उपचारपछि घर फर्किएका छन् । २०३ सक्रिय सङ्क्रमितमध्ये १३१ अस्पताल आइसोलेशन र ७२ को होम आइसोलेशनमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस