दाङका बहुउपयोगी कृत्रिम जलाशय


घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर १ र २ को सीमा क्षेत्रमा पर्ने सुर्केडाँगीमा करीब साढे सात बिघा क्षेत्रफलमा कृत्रिम जलाशय निर्माण गरेको छ । उक्त जलायशमा दैनिक अवलोकन गर्न जानेको भीड नै लाग्ने गरेको छ ।

जलाशय संरक्षण समितिका अध्यक्ष एवम् वडा नम्बर १ का वडाध्यक्ष राममणि पाण्डेले जलाशयमा माछा पालनसँगै डुङ्गासमेत सञ्चालन गरिएको जानकारी दिनुभयो । ‘जलाशय निकै ठूलो छ, सोही कारण सिँचाइसँगै माछापालन, डुङ्गा सञ्चालन गरेर स्थानीय युवालाई रोजगारी समेत दिएका छौँ ’, उहाँले भन्नुभयो । जलाशय अवलोकन र डुङ्गा शयरका लागि दैनिक आन्तरिक पर्यटकको भीड बढ्न थालेपछि ताल वरिपरि होटेल सञ्चालनका लागि स्थानीय युवालाई जिम्मेवारी दिने तयारीमा रहेको उहाँले बताउनुभयो । अध्यक्ष पाण्डेका अनुसार गत आर्थिक वर्षदेखि निर्माण थालिएको कृत्रिम जशालय प्रदेश सरकार र घोराही उपमहानगरको करीब रु एक करोड ८० लाखको लगानीमा निर्माण भएको हो । यस्तै घोराही – १३ मा निर्मित कृत्रिम जलाशयमा पनि अहिले सिंचाइसँगै माछापालन र डुङ्गा सञ्चालन भइरहेको छ । वडा नम्बर १३ को ज्यामिरे ताल निर्माण गर्ने क्रममा रु एक करोड ६५ लाख खर्च भइसकेको उपमहानगरपालिकाले जनाएको छ । मरुभूमीकरणतर्फ उन्मुख दाङ जिल्लालाई हराभरा बनाउन उपमहानगरले कृत्रिम जलाशय निर्माणलाई तीव्रता दिएको छ । तीन वर्षयता उपमहानगरभित्र २८ कृत्रिम जलाशय निर्माण भइसकेका छन् । सघन सिंचाइ आयोजनाले तीन, बृहत् सिंचाइ आयोजनाले एक, प्रदेश सरकारले तीन र उपमहानगरले २१ गरेर २८ कृत्रिम जलाशय निर्माण गरेका छन् । यसमा घोराही नगरले मात्र रु नौ करोड ८० लाख खर्च गरिसकेको छ । कृषि उत्पादकत्व वृद्धि गर्न जलाशय निर्माण गरिएको उपमहानगरपालिकाका जलाशय क्षेत्र हेर्ने प्राविधिक इञ्जिनीय रामधन श्रेष्ठले बताउनुभयो । पछिल्लो समय कृत्रिम जलायशका लागि स्थानीय बासिन्दाबाट धेरै माग आएको उहाँको भनाइ छ । उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले आफूहरुले जनतालाई आयआर्जनमा लगाएर समृद्धि ल्याउने खालको विकासे काम गर्न खोजेको बताउनुभयो । उपमहानगरले गरेका अरु विकासे कामभन्दा हिउँदमा खडेरी पर्ने गाउँमा जलाशय निर्माण गर्दा धेरै बहुउपयोगी भएको उहाँको जिकिर छ । प्रमुख चौधरीले खेतीपाती, माछापालन, डुङ्गा सञ्चालन गरेर पनि स्थानीयवासीले फाइदा लिइरहेको जानकारी दिनुभयो । घोराही नगरक्षेत्रभित्र निर्माण गरिएका कृत्रिम जलाशयबाट सिंचाइ, माछापालन, तरकारी खेती, फलफूल खेती मात्र नभई व्यावसायिक पर्यटन, हाँसपालनका काम भएका छन् । यस्तै पशुचौपाया, वन्यजन्तु र चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र कलकारखानालाई आवश्यक पानी आपूर्तिमा पनि यसले सहजता थपेको बताइएको छ । —

प्रतिक्रिया दिनुहोस