वाग्मतीमा स्वच्छ पानी बगाउने महत्वाकाङ्क्षी धापडाँडा ताल


– रमेश लम्साल

काठमाडौँ, २४ चैत : समुन्द्री सतहबाट दुई हजार ९५ मिटरको उचाइ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा रहेको पुरानो ताल । स्थानीय रुपमा त्यसलाई धापडाँडाको नामले चिनिन्छ । उत्तरतर्फको पानी ढलो सिन्धुपाल्चोक र दक्षिणतर्फको पानी ढलो काठमाडौँ । 

सुन्दरीजलदेखि सडकमार्ग हुँदै २१ किलोमिटरको दूरी तय गरेपछि धापडाँडा पुगिन्छ । उत्तरतर्फ गणेश हिमाल र पूर्व उत्तरतर्फ गौरीशङ्कर हिमशृङ्खला । काठमाडौँको भिडबाट केही क्षणबाहिर निस्कन चाहनेलाई गज्जबको पर्यटकीयस्थल । सोही स्थानमा यतिखेर राष्ट्रिय महत्वको आयोजनाको काम धमाधम भइरहेको छ । ‘वाग्मती जलाधार नदी संरक्षण परियोजना’ ले काठमाडौँको मानव सभ्यतासँग जोडिएको वाग्मती नदीमा अविच्छिन्न रुपमा पानी बगाउने लक्ष्यका साथ काम गरिरहेको छ । 

वाग्मती सभ्यताको जलाधार संरक्षण गर्ने योजनाका साथ एशियाली विकास बैंकको लगानीमा मानव निर्मित ताल निर्माण भइरहेको हो । सन् २०२० को फेब्रुअरीमा १४ हेक्टर क्षेत्रफलमा फैलिएको ताल निर्माण सम्पन्न हुन्छ । सोही वर्षको मनसुनदेखि तालमा पानी भर्न थालिनेछ । जेठ, असार, साउन र भदौमा शिवपुरी– नार्गाजुन राष्ट्रिय निकुञ्जको धाप क्षेत्रमा तीन हजार मिलिमिटर वर्षा हुन्छ । बर्सातको पानी सङ्कलन गर्ने र असोजदेखि वाग्मतीमा नियमित रुपमा नियन्त्रित प्रतिसेकेण्ड ४० लिटरको दरले पानी बगाउने योजना सरकारको छ । 

यस्तै नागमतीमा पनि त्यस्तै आयोजना अध्ययनको चरणमा छ । सो आयोजना सम्पन्न भएपछि मानव निर्मित सो तालमा ८५ लाख घनमिटर पानी जम्मा हुनेछ । हाल निर्माण भइरहेको तालमा भने १२ लाख ५३ हजार घनमिटर पानी जम्मा हुने वाग्मती जलाधार नदी संरक्षण परियोजनाका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर नवराज सुवेदी बताउनुहुन्छ । 

गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जलाधार संरक्षण गर्ने, जङ्गली वन्यजन्तुलाई हिउँदमा पानी खान र विचरणमा समेत सहयोग पु¥याउने आयोजनाको लक्ष्य छ । कूल शून्य दशमलव आठ पाँच वर्ग किलोमिटर क्षेत्रमा पर्ने वर्षाको पानी जम्मा गरिनेछ । कूल २४ मिटर अग्लो बाँध निर्माण भइरहेको छ । 

ढुङ्गामाटोसहित सिमेन्टको कङ्क्रिट प्रयोग गरेर बाँध निर्माण भइरहेको छ । यस्तो प्रविधि नेपालका लागि पहिलो भएको तर्क गर्नुहुन्छ, भूगर्वविद् अच्युत कोइराला । काठमाडौँको शिरमा नै पानी पोखरी किन भन्ने प्रश्न नउठेको पनि होइन । तर स्वच्छ पानीको अभावमा वाग्मतीमा ढल मात्रै बग्ने अवस्थाको अन्त्यका लागि केही न केही गर्नै पर्ने बाध्यतामा सरकार थियो । वातावरणविद्ले पनि सधँै कुरा उठाइरहेका थिए । 

अव्यवस्थित शहरीकरण, ढल सिधै नदीमा मिसाउने प्रवृत्तिका कारण मृत प्रायः बनेको वाग्मतीलाई नयाँ स्वरुप दिने लक्ष्यका साथ सरकारले मानव निर्मित ताल बनाउने योजना अगाडि सारेको हो । सन् २०१५ को अक्टोबरदेखि शुरु भएको बाँध निर्माणको काम सन् २०१७ को अक्टोबरमा सकिनुपर्ने थियो । ‘गोरखा भूकम्प’, सीमा भएको अवरोध जस्ता कारणले तोकिएको समयमा आयोजना अगाडि बढ्न सकेन । 

निर्माण व्यवसायी आफैँले डिजाइन गर्ने र निर्माणसमेत गर्ने गरी जिम्मेवारी लिएको ‘धाप परियोजना’को समयावधि सन् २०१९ को अप्रिल २६ सम्म कायम छ । भौतिक निर्माणको काम ६० प्रतिशत जति सकिएको छ । अझै ४० प्रतिशत काम सम्पन्न गर्नुपर्नेछ । गत कात्तिकदेखि मात्रै निर्माण व्यवसायीले आयोजनास्थलमा प्रभावकारी रुपमा काम गरेको छ । स्थानीय निर्माण सामग्रीको प्रयोग गरिएको छ । धापडाँडाकै ढुङ्गामाटो प्रयोग गरिएको छ । ‘राष्ट्रिय निकुञ्जभित्र काम गर्न असाध्यै गाह्रो छ तर हामीले सरकारी निकायसँग समन्वय गरेर उत्साहका साथ काम गरिरहेका छौँ,’ निर्माण व्यवसायीमध्येका रमन कन्सट्रक्सनका प्रमुख कार्यकारी अधिकृत रमन महतोले भन्नुभयो । 

आयोजनाको काम गोन्जाउ–लामा–रमन जेभीले संयुक्त रुपमा गरिरहेको छ । “नेपालका लागि असाध्यै महत्वको र नयाँ खालको काम गरिरहेका छौँ, सरकारको पनि सहयोग छ । निकुञ्जले पनि उत्तिकै सहजीकरण गरिरहेको छ,” महतोले खुशी प्रकट गर्नुभयो ।  

शुरुमा एउटा मात्रै पोखरी निर्माण गर्ने योजना थियो । पछि दुई वटा सहायक र मझौला पोखरी निर्माण गर्ने गरी संरचना थप भएको छ । केही रूख काटन बाँकी छन् । काटिएका रूखको घाट गद्दी गर्न बाँकी छन् । पछिल्लो पटक आयोजनाले थप रकम माग गरेको छ । शुरुको लागत रु ५१ करोड भए पनि केही संरचना थप भएका कारण लागत बढेर रु ९० करोडसम्म पुग्ने देखिएको छ । 

भेरिएसन गर्नुपर्ने र डिजाइन नै स्वीकृत गर्नुपर्ने भएपछि सिँचाइ मन्त्रालयका सचिव डा सञ्जय शर्मा भन्नुहुन्छ, “उपयुक्त प्रस्ताव तयार पार्नुस् । के कारणले लागत बढी भएको हो, त्यसको फेहरिस्तसमेत तयार पारेर सिँचाइ विभागमा पेश गर्नुस् । मन्त्रालयले आवश्यक सहजीकरण गर्छ ।” 

वाग्मती नदीको मुहानमा नै पानीको स्रोत बढाउँदा त्यसले पार्ने प्रभाव असाध्यै ठूलो रहेको भन्दै आयोजना प्रमुख सुवेदी जतिसक्दो चाँडो आयोजना सम्पन्न गर्नेतर्फ प्रतिबद्ध रहेको बताउनुहुन्छ । छठ, शिवरात्रि, हरितालिका तीज जस्ता पर्वमा वाग्मतीको फोहर पानीमा नुहाउनुपर्ने बाध्यताको अन्त्यका लागि पनि आयोजना महत्वपूर्ण हुने विश्वास लिइएको छ । धापडाँडापछि नागमतीमा पनि त्यस्तै पोखरी बन्छ । मेलम्चीको पानी काठमाडौँमा आएपछि त्यसबाट हुने निकासले पनि वाग्मतीमा पानीको मात्रा बढाइदिनेछ । 

यस्तै ढल प्रशोधन गरेर पनि वाग्मतीमा पानीको मात्रा बढाउने योजना छ । भूकम्प प्रतिरोध गर्ने गरी संरचना तयार गरिएको छ । गुणस्तर र सुरक्षामा विशेष ध्यान दिइएको छ । साना–साना भञ्ज्याङमा माटो र ढुङ्गाको प्राकृतिक बाँध बनाइएको छ । आयोजना प्रमुख सुवेदी भन्नुहुन्छ, “वाग्मतीको नयाँ स्वरुपका लागि हामी दिनरात नभनी काम गरिरहेका छौँ । भूगर्वविद् कोइराला ‘कङ्क्रिट फेस रक फिल ड्याम’ नेपालका लागि पहिलो प्रयोग हो । यसमा कुनै पनि प्रकारको जोखिम हुँदैन । यसअघि कुलेखानीमा पनि ढुङ्गा, माटो र बालुवाको सम्मिश्रणबाट बाँध बनाइएको थियो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको जस्तै राष्ट्रिय रुपमा प्राथमिकता प्राप्त आयोजनाको काम तोकिएको समयमा पूरा गराउन सरकारका तर्फबाट सबै प्रकारको सहयोग हुने बताउनुभयो । वाग्मती काठमाडौँको सभ्यतासँग जोडिएको नदी भएकाले पनि यसमा सबैको चासो रहेको भन्दै उहाँले निर्माण व्यवसायीलाई इमान्दार भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “वाग्मतीको पानीमा विगतमा जस्तै माछा खेल्नुपर्छ र फोहरी संस्कारबाट बाहिर निस्केर नेपालमा केही हुँदैछ भन्ने सन्देश पनि दिनुपर्छ ।”
प्रतिक्रिया दिनुहोस  
कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

५ सय ५५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते

काठमाण्डाै : अहिलेसम्म ५ सय ५५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहको ८ न वडामा अग्रता

  काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ न वडामा अग्रता

२०७९ जेठ ६ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई