पत्रकार जगत्का अधिकार कुण्ठित गर्ने प्रश्नै उठ्दैनः रावल
नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले मिडिया काउन्सिल विधेयकबारे सञ्चार क्षेत्रबाट उठाइएका दण्डसजायलगायत विषयमा पुनःविचार गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “संवैधानिक व्यवस्थालाई बलियो बनाउन यसमा गहन छलफल र विचार पु¥याउनुपर्छ, हामीले निर्माण गर्न चाहेको सभ्य समाजभित्र नागरिक, मानवअधिकार र सञ्चारकर्मीका अधिकार पनि अक्षुण्ण रुपमा संरक्षण होऊन् भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ ।” “हामीले निकै ठूलो सङ्घर्षबाट ल्याएको यो व्यवस्थामा नागरिकका अधिकार संरक्षित हुनुपर्छ, यसमा पनि समाजलाई निरन्तर चेतना र उज्यालो दिशातर्फ जागृत तुल्याउँदै आएको पत्रकार जगत्का अधिकार कुण्ठित गर्ने प्रश्नै उठ्दैन”, नेता रावलले भन्नुभयो ।
सञ्चारमाध्यमले पनि जिम्मेवार हुनेतर्फ ध्यान दिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “ लोकतन्त्र र सञ्चारजगत्बीच पारस्परिक सम्बन्ध रहेको हुँदा यसलाई चर्काएर होइन, पारस्परिक सरसल्लाहका आधारमा उठेका विषयमा समाधान खोजिनुपर्छ । ललिता निवास प्रकरण ललिता निवासको जग्गा प्रकरणका बारेमा सोधिएको प्रश्नको जवाफमा नेता रावलले जुनसुकै व्यक्तिले जुनसुकै परिस्थितिमा पनि यदि सार्वजनिक सम्पत्ति आफनो स्वामित्वमा लिने प्रयास गरेमा उसमाथि कारवाही गरेर उक्त सम्पत्ति सरकारको अधीनमा आउने गरी फिर्ता हुनुपर्ने बताउनुभयो । “बालुवाटारजस्तो संवेदनशील प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवासको जग्गा कुनै व्यक्तिले आफ्नो नाममा नामसारी गर्ने काम आपत्तिजनक विषय हो । कानूनी शासन, सभ्य समाज र जनताप्रति उत्तरदायी शासन प्रणालीको दृष्टिकोणबाट पनि यो गलत छ”, पूर्व उपप्रधानमन्त्री रावलले भन्नुभयो ।