क्होलासोंथरको अध्ययनअनुसन्धान फागुनमा


गण्डकी, १९ मङ्सिर (रासस)
गुरुङ जातिको ऐतिहासिकस्थल लमजुङको क्होलासोंथर गाउँपालिका र कास्कीको मादी गाउँपालिकाको सिमानामा पर्ने क्होलासोंथरमा गर्ने भनिएको उत्खनन एवं अनुसन्धान कोरोना महामारीका कारण आगामी फागुन÷चैतमा पुग्ने भएको छ ।

तमु प्ये ल्हु सङ्घ, बेलायतको क्याम्ब्रिज युनिभर्सिटी र पुरातत्व विभागको सहकार्यमा यस वर्ष दशैँअगावै अध्ययन अनुसन्धान थाल्ने तयारी गरिए पनि कोरोनाको कहर कायमै रहेका कारण उक्त कार्य पछि सरेको हो । अध्ययन अनुसन्धानका लागि क्याम्ब्रिज युनिभर्सिटीको टोली आउने तयारी गरेको भए पनि कोरोनाका कारण आउन समस्या भएको तमु प्ये ल्हु सङ्घका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो । “हामीले दशैँअगावै अध्ययन अनुसन्धानको काम थाल्ने तयारी गरेका थियौँ”, सचिव गुरुङले भन्नुभयो, “कोरोनाको कहर केही मात्रामा साम्य भएपछि आगामी फागुन÷चैततिर अध्ययन अनुसन्धान शुरु गरिने लक्ष्य रहेको छ ।”

झण्डै एक दशकअघि विसं २०५८ मा क्याम्ब्रिज युनभर्सिटी, तमु प्ये ल्हुसङ्घ र पुरातत्व विभागको संयुक्त प्रयासमा कास्की र लमजुङको सीमामा पर्ने क्होलासोंथरमा अनुसन्धान थालिए पनि तत्कालीन द्वन्द्वात्मक अवस्थामा कारण अनुसन्धानले अन्तिम रुप लिन सकेको थिएन ।

सो समयमा यहाँका तीन घरको उत्खनन गरिएको थियो । तत्कालीन अध्ययनले यहाँको बस्ती एक हजार २०० वर्षभन्दा पुरानो भएको पुष्टि गरेको थियो । तमु समुदायको प्राचीन धर्म शास्त्र प्ये तां ल्हुं तां मा क्लोहासोंथरमा प्राचीनकालमा ८५ घर रहेका उल्लेख छ ।

बोन समुदायको प्राकृत च्वों भाषामा लिखित उक्त ग्रन्थमा भनिएजस्तै प्रारम्भिक अध्ययनमा पनि ८५ वटै घरका भग्नावशेष देखिएको तमु प्ये ल्हु सङ्घले जनाएको छ । तमु समुदायको ऐतिहासिकस्थल क्होलासोंथरको थप अध्ययन अनुसन्धानका माध्यमबाट यसको प्रवद्र्धन र विकास गर्दै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

इतिहास खोतल्दै जाँदा वर्तमानमा विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणजस्तै झण्डै एक हजार वर्षअघि क्होलासोंथरमा महामारी हुँदा ठूलै जनधनको क्षति भएको थियो । सो महामारीमा तमु धर्मगुरुको सामूहिक प्रयासमा ‘ट्हो त्हें पूजा’ को धार्मिक अनुष्ठान गरिएको र महामारी अन्त्य भएको विश्वासका आधारमा अझै पनि उक्त पूजा बर्सेनि गर्दै आइएको छ । त्यसयता तमु सम्बद्ध सङ्घसंस्थाले समाजमा सुख, शान्ति र समृद्धिको कामनासहित सामूहिकरुपमा पूजा गर्दै आएका छन् ।

गाउँघरमा अहिले पनि पूजाआजा गरेपछि रोगव्याधिबाट मुक्त हुने, लगाएको अन्नबाली जोगाउने एवं सम्पूर्ण प्राणी जगत् रक्षा हुने विश्वास कायमै रहेको छ । ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकरुपमा क्होलासोंथर महत्वपूर्णस्थल मानिन्छ । कास्कीको पर्यटकीय गाउँ सिक्लेस र ताङतिङबाट दुई दिनको पदयात्रामार्फत पर्यटक उक्त स्थान पुग्दछन् । यस मार्गलाई पदयात्रा पर्यटनको पनि आकर्षक गन्तव्य मान्दै आइएको छ ।

क्होलासाेंथरको अध्ययन अनुसन्धानका लागि गण्डकी प्रदेश सरकारले पनि चासो दिएको महासचिव गुरुङले बताउनुभयो । प्रदेश सरकारबाट अध्ययन अनुसन्धान कार्यका लागि रु ५० लाख विनियोजन गरिसकिएको छ । सो कार्य सम्पन्न गर्न लगभग रु एक करोड लाग्ने अनुमान गरिएको जानकारी दिँदै उहाँले अन्य रकमको व्यवस्थापनका लागि सङ्घले पहल गरिरहेको बताउनुभयो ।

गुरुङका अनुसार अध्ययन अनुसन्धानका लागि लमजुङको क्होलासोंथर गाउँपालिकाले रु १० लाख, कास्कीको मादी गाउँपालिकाले रु पाँच लाख, पर्वतको महाशिला गाउँपालिकाले रु दुई लाख छुट्याइसकेका छन् । त्यस्तै आवश्यक सहयोगका लागि कास्कीका माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिका, पर्वतको कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका, लमजुङको मस्र्याङ्दी गाउँपालिकामा प्रस्ताव गरिएको छ ।

गुरुङ जातिको विविध ऐतिहासिक एवं सांस्कृतिक पक्षको अध्ययनका साथै क्होलासोंथरको समग्र विकासमा अध्ययन अनुसन्धान कार्यले महत्वपूर्ण योगदान पु¥याउने तमु प्ये ल्हु सङ्घका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङले बताउनुभयो । “हामी कोरोनाको कहर केही मात्रामा साम्य भएसँगै क्होलासोंथरको अध्ययन अनुसन्धान कार्यलाई अघि बढाउने तयारीमा छौं,” उहाँले भन्नुभयो, “यस अध्ययनले क्होलासाेंथरका साथै समग्र तमु समूदायको प्राचीन सभ्यताका साथै ऐतिहासिक एवम् सांस्कृतिक पक्षलाई थप उजागर गर्ने विश्वास लिएका छौं ।”
–––

प्रतिक्रिया दिनुहोस