आलेख : अन्योलमै अल्झिए गाउँका सरकार


सन्तोष गौतम
म्याग्दी, २४ मङ्सिर (रासस) ःठोस योजनाको अभावमा म्याग्दीका स्थानीय तह र जनप्रतिनिधिहरुको साढे तीन वर्ष ‘कुहिरोका काग’ जस्तै बनेको छ । गाउँ र नगरपालिका स्थापना तथा निर्वाचित जनप्रतिनिधि भएपछि प्रशासनिक सुगम र भौतिक विकासका कामले तीव्र गति पाए पनि प्रशासनिक र राजनीतिक क्षमता तथा इच्छाशक्तिको कमीले उपलब्धि हासिल गर्न चुनौती देखिएको छ ।

म्याग्दीमा बेनी नगरपालिका, धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका र तिनका ४५ वडा छन् । चुनावी घोषणापत्र, स्थानीय आवश्यकता, नीति तथा कार्यक्रम, बजेट र योजना कार्यान्वयनबीच तालमेल नहुँदा स्थानीय तह र जनप्रतिनिधिको साढे तीन वर्ष कुहिरोका काग जस्तै अलमलमै बितेको गैरसरकारी संस्था महासङ्घ म्याग्दीका पूर्वाध्यक्ष हरिप्रसाद पौडेलको बुझाइ छ ।

सडक, खानेपानी, विद्युत्लगायत पूर्वाधार विस्तार, रोजगारी र आयआर्जनका अवसर सिर्जना, पर्यटनको विकास, कृषि, पशुपालन, जडीबुटी खेतीलाई विस्तार गर्ने तथा ठूला विकासका आयोजना भित्र्याएर कार्यान्वयन गराउने म्याग्दीका अधिकांश जनप्रतिनिधिको चुनावी आश्वासन थियो ।

“अहिलेसम्म म्याग्दीका कुनै पनि स्थानीय तह र तिनका नेतृत्वमा भएका जनप्रतिनिधिले पञ्चवर्षीय योजना बनाएका छैनन्”, पौडेलले भन्नुभयो, “प्राथमिकता के हो भन्ने स्पष्ट नभएपछि अँध्यारोमा ढुङ्गा हाने जसरी अगाडि जे आउँछ त्यही काम गरेर समय गुजार्नु परेकोजस्तो देखिन्छ ।”

आफँैले आवधिक योजना बनाउन नसकेका स्थानीय तहहरुले तत्कालीन जिल्ला विकास समितिले तयार पारेको सडक, पर्यटन, सरसफाइ तथा खानेपानीसम्बन्धी गुरुयोजना कार्यान्वयनमा समेत उदासीन देखिएका छन् ।

जनप्रतिनिधिमा कानून, योजना निर्माण तथा कार्यान्वयनसम्बन्धी प्रक्रियागत ज्ञानको कमीसँगै चुनाव जितेको घमण्डले अरूको सुझाव लिने अभ्यास छैन । कर्मचारी र जनप्रतिनिधिबीच अविश्वासको वातावरण मात्र नभएर सुविधा उपभोग र स्रोत परिचालनमा द्वन्द्व सिर्जना भएको छ ।

प्रशासनिक नेतृत्वमा भइरहने परिवर्तन, योजना छनोटदेखि कार्यान्वयन तहसम्म जनसहभागिताको कमी, पारदर्शीताको अभाव, सङ्घ र प्रदेशको अनुदानमा निर्भर बजेट, शुरुका वर्षमा देखिएको प्रशासनिक तथा प्राविधिक जनशक्ति अभावजस्ता कारणले अधिकार उपभोगमा स्थानीय तह कमजोर देखिएका हुन् ।

स्थानीय तहलाई गाउँका सिंहदरबार भनिए पनि प्रभावकारी अभ्यास हुन सकेको छैन । नयाँ संरचना, व्यवस्थाअनुसार काम गर्न पर्याप्त कानून, स्रोत, जनशक्तिको अभावका बाबजुद स्थानीय तहहरुले बिस्तारै लय लिन थालेका बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ बताउनुहुन्छ ।

“शुरु शुरुमा अलमल र अन्योल भएकै हो तर अहिले स्थानीय तहहरु धेरै हिसाबले बलियो र अधिकार उपभोगमा सक्षम भएका छौँ”, उहाँले भन्नुभयो, “विगतको समीक्षा गरेर विकासका कामलाई व्यवस्थित गर्न आवधिक योजनासमेत बनाउँदैछौँ ।”

स्थानीय सरकार सञ्चालनसम्बन्धी धेरै ऐन, कार्यविधि, नियमावलीहरु बनाएर कार्यान्वयनमा लगिसकेको नगरप्रमुख श्रेष्ठको दाबी छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले नीतिगत, प्रशासनिक र राजनीतिक हिसाबले स्थानीय तहले धेरै क्षमता विकास गरिसकेको बताउनुभयो ।

“शत्प्रतिशत त भन्न सकिन्न, कानून बनाउने, अधिकार प्रयोग गर्ने विषयमा धेरै व्यवस्थित र सुधार भएको छ”, उहाँले भन्नुभयो, “आन्तरिक आम्दानीका स्रोत पहिचान र परिचालनमा हाम्रो ध्यान केन्द्रित भएको छ ।”

म्याग्दीका सबैजसो स्थानीय तहका योजना तथा कार्यक्रम मिल्दाजुल्दा एकै किसिमका परम्परागत शैलीका छन् । वडाध्यक्षहरुले कार्यपालिकाको अपनत्व ग्रहण गरेका छैनन् । वडाध्यक्ष र सदस्यहरुले छनोट गरेका योजना तथा कार्यक्रमलाई वडास्तरका योजना शीर्षकमा राखेर कार्यान्वयन गर्ने अभ्यास छ ।

कार्यपालिका बैठकले बजेट बाँडफाँड गर्ने योजनालाई पालिकास्तरका योजना भन्ने गरिएको छ । एउटै योजनाका लागि वडास्तर र पालिकास्तरको बजेट विनियोजन हुने गरेका छन् । कार्यपालिका सदस्य र वडा सदस्यहरुले पनि आफैँ बजेट बाँड्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

चालू आर्थिक वर्ष २०७७÷७८ मा रु दुई अरब ६२ करोड ६२ लाख ४१ हजार ५९३ कूल बजेट भएका स्थानीय तहहरुले सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमका लागि पूँजीगत शीर्षकमा रु ८८ करोड ६३ लाख ७५ हजार ८९ विनियोजन गरेका छन् । एकै ठाउँबाट सञ्चालन हुने एउटै योजनाका लागि फरक–फरक शीर्षकमा बजेट विनियोजन गर्नु जनप्रतिनिधिबीच स्रोत बाँडफाँडमा देखिएको लडाइँका रुपमा लिइएको छ ।

धवलागिरि गाउँपालिका–१ गुर्जाका अध्यक्ष झकबहादुर छन्त्याल नेतृत्वले सबैलाई समान हिसाबले नहेर्दा वडाका जनप्रतिनिधिले आफ्ना जनताको माग, आवश्यकता सम्बोधन गराउन दाइजो मागेको जस्तो गर्नुपर्ने दुर्भाग्य अवस्था रहेको बताउनुहुन्छ ।

“पालिकास्तरका गौरवका भनेर बजेट खन्याइएका आयोजनाले वडाका स–साना आवश्यकतालाई समेट्दैन”, उहाँले भन्नुभयो, “जनताको माग र आवश्यकता सम्बोधन गर्न वडालाई छुट्टै सिलिङभित्र रहेर बजेट बाँडफाँड गर्ने अभ्यास भएको हो ।” स्थानीय तहको पूँजीगत बजेटको ठूलो हिस्सा सडकमा लगानी भए पनि उपलब्धि र दिगो देखिएको छैन ।

शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको तलब, भत्ताले स्थानीय तहको बजेटको आकार ठूलो देखिएको छ । अर्कोतर्फ प्रशासनिक, परामर्श, इन्धन, सवारी साधन मर्मत, कार्यालय सञ्चालन जस्ता कामका लागि पनि विकास योजना तथा कार्यक्रमको आधाआधीकै हाराहारिमा बजेट विनियोजन हुने गरेको छ ।

योजना छनोटदेखि कार्यान्वयन प्रक्रियासम्मको प्रक्रियामा जनसहभागिता हुन सकेको छैन । जनप्रतिनिधि आफैँले योजना बनाउने, आफू अनुकूलका उपभोक्ता समिति बनाउने, आफैँ काम गर्ने र कर्मचारीलाई दबाब दिएर भुक्तानी गराउने प्रवृत्ति देखिएको छ । रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका हरि सुवेदीले जनप्रतिनिधिले नचाहेका कारण योजना छनोट र कार्यान्वयनमा जनसहभागिता हुन नसकेको बताउनुभयो ।

“आफूलाई चुनावमा सहयोग गरेका, आफन्त र कार्यकर्ताबाहेकले बजेटका बारेमा जानकारी पाउन, उपभोक्ता समितिमा बसून् भन्ने व्यवहार नै गर्नुहुन्न”, उहाँले भन्नुभयो, “बजेट छनोट गर्नेदेखि समिति बनाउने र काम गर्ने सबै जनप्रतिनिधि नै हुन्छन् । अरूले अवसर नै नपाएपछि जनसहभागिता र अपनतत्व हुने कुरै भएन ।”

कर्मचारी भर्ना गर्ने क्रममा पनि जनप्रतिनिधिले भनेका व्यक्तिलाई जागिर खुवाउन विगतमा अपारदर्शी शैली अपनाइएको उहाँको गुनासो छ । स्थानीय तहले अधिकारअनुसारको क्षमता विकास नगरेका कारण योजना निर्माण, बजेट विनियोजन र कार्यान्वयनमा स्वार्थी समूहको हालीमुहाली छ ।

कानून, बजेट बनाउन जनप्रतिनिधिहरु कर्मचारीमा भर पर्छन् । कर्मचारीहरुले यसमा जाँगर देखाउँदैनन् । अन्यत्र कुनै पालिकाले बनाएको बजेट, नीति तथा कार्यक्रम र कानूनलाई नाम फेरेर पेश गर्छन् । जनप्रतिनिधिहरुले अध्ययन नै नगरी पास गरिदिन्छन् । भूगोल र वस्तु अवस्थाअनुसारको नीति, बजेट, योजना कार्यक्रम र कानून नभएपछि कार्यान्वयन गर्न समस्या पर्ने म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक तारानाथ शर्माले बताउनुभयो ।

“कानून, योजना र बजेट बनाउन जनप्रतिनिधिले विज्ञका सुझाव लिँदैनन्, कर्मचारीको भर पर्दा अरूले बनाएको सिको गरेर बनाएका छन् । एकदुई ठाउँमा उत्पादन भएको नीति कार्यक्रम र कानून देशव्यापी भयो”, उहाँले भन्नुभयो, “हाम्रो भूगोल र जनताको आकाङ्क्षाको तालमेल भएन । सक्षम मानिस बाहिर छन् । गाउँका भएकाको चेतनास्तर कमजोर भएकाले प्रक्रिया बुझ्दैनन् ।”

पारदर्शीताको अभ्यासमा पनि स्थानीय तह कमजोर छन् । सूचनाको हकसम्बन्धी ऐनमा सरकार, सार्वजनिक निकायले आफूले गरेका गतिविधि र हरहिसाब प्रत्येक चौमासिकमा सार्वजनिक गर्नुपर्ने नीतिगत व्यवस्था छ । स्थानीय तहमा भएका खर्च र विकास गतिविधि सार्वजनिक गर्ने अभ्यास नहुँदा नागरिकले जानकारी नपाउँदा शङ्काका साथै अनियमितताको जोखिम हुने उपप्रध्यापक शर्माको भनाइ छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७आँै प्रतिवेदनअनुसार म्याग्दीका छओटा स्थानीय तहमा आव २०७५÷७६ मा बेरुजु रकम रु १० करोड ५० लाख ६१ हजार देखिएको छ । महालेखाको प्रतिवेदनमा स्थानीय तहले अनुशासन विपरीत खर्च गरेको उल्लेख छ । आवको अन्तिममा हतार हतारमा सम्पन्न गर्दा प्रक्रिया पूरा नगरेको, रकमान्तर नगरी विनियोजितभन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, सार्वजनिक खरिद ऐनको प्रतिकूल हुने गरी निर्माणजन्य गतिविधि गरेको विनाप्रतिस्पर्धा सामग्री खरिद र योजनाका काम गरेको, सम्पन्न योजनाहरुको आवश्यक कागजपत्र नपुगेको, उपभोक्ता समितिहरूले लगेको पेश्की समयमा फछ्र्यौट हुन नसकेकालगायत विभिन्न कारण देखाइएको छ ।

जिल्लाका स्थानीय तहले आव ०७४÷७५ मा रु नौ करोडभन्दा बढी अनियमित खर्च गरेका थिए । स्थानीय तहहरुले ग्रामीण जनजीवन र अर्थतन्त्रसँग जोडिएको कृषि र पशुपालन क्षेत्रलाई उपेक्षा गरेका कृषकको गुनासो छ । कृषि क्षेत्रको विकासका नाममा स्थानीय तहले लोकप्रिय कार्यक्रम बनाए पनि जनशक्ति अभावका कारण कार्यान्वयन पक्ष फितलो देखिएको छ ।

मल, बीउ, बिरुवा, खोप, रोगकीरा नियन्त्रणमा बेवास्ता गरेका स्थानीय तहका कृषि शाखा मिनी टेलर हलो वितरणमा मात्र केन्द्रित हुनु दुःखद रहेको अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका ठाकुरप्रसाद बरुवालको गुनासो छ । “कृषकको समस्या, आवश्यकता र सम्भावना हेरेर कार्यक्रम बनाइँदैन”, उहाँले भन्नुभयो, “जनप्रतिनिधि र कर्मचारीको स्वार्थ बाझिने गरी बनाएका कार्यक्रमबाट कृषकले लाभ पाउन सक्दैनन् ।”

चालू आव २०७७÷७८ मा म्याग्दीका स्थानीय तहले कृषि र पशुपालन क्षेत्रमा रु ६ करोड २६ लाख ४० हजार अथवा सात प्रतिशत बजेट छुट्याएका छन् । कोरोनाका कारण विदेश र शहरबाट फर्किएर कृषि, पशुपालन, जडीबुटी खेती र लघुउद्यम गर्नेलाई अनुदान दिन रु ३० लाखको युवा स्वरोजगार कोष बनाएको धवलागिरिकी अध्यक्ष थमसरा पुनले बताउनुभयो । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीले कृषि र भेटेरिनरीका कार्यक्रम कार्यान्वयन गर्न कर्मचारी नभएपछि करारमा भर्ना गरिएको बताउनुभयो ।

स्थानीय तहले पूर्वाधार विकासलाई मात्र ध्यान दिँदा महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिकका अधिकार, सशक्तिकरण र विकृति न्यूनीकरणको क्षेत्र ओझेलमा परेको छ । योजना निर्माण र कार्यान्वयन प्रक्रियामा लक्षित समुदायको सहभागिता घटेको छ । रघुगङ्गा–२ भगवतीकी रञ्जना श्रेष्ठले भौतिक गतिविधि मात्र विकास हो भन्ने सोचाइका कारण सामाजिक क्षेत्र उपेक्षामा परेको गुनासो गर्नुभयो ।

“महिला, बालबालिका पनि हिँड्ने हो भन्ने तर्क गरेर सबै बजेट जति सडकमै हालेको पाइन्छ”, उहाँले भन्नुभयो, “बालविवाह न्यूनीकरण गर्ने, जनचेतना अभिवृद्धि गर्ने, सीप विकास र आयआर्जन सुधारको काममा पालिकाहरुको लगानी न्यून छ ।”

धवलागिरि गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । पोषण सुधारका लागि सबै पालिकाले सञ्चालन गरेका गर्भवती र सुत्केरीलाई अण्डा, कुखुराका चल्ला वितरण गर्ने कार्यक्रम प्रभावकारी देखिँदैनन् ।

नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मीले व्यवस्था फेरिए पनि जनप्रतिनिधिहरुको कार्यशैली र सोचाइ नफेरिँदा पार्टी र जनप्रतिनिधिबीच तालमेल नमिलेको बताउनुभयो । नेकपा म्याग्दीका प्रचार विभाग प्रमुख बालकृष्ण सुवेदीले जनप्रतिनिधि, पार्टी र जनताबीच सहकार्यको वातावरण बनाउन समीक्षा भइरहेको बताउनुभयो ।

पारदर्शिता, जनसहभागिता, सुझाव लिने अभ्यास, स्थानीय आवश्यकताको आधारमा योजना निर्माण गर्नुपर्ने सहायक प्राध्यापक शर्माले बताउनुभयो । स्थानीय तहहरुले विज्ञ र स्थानीय सरोकारवालाहरुको सुझाव र आवश्यकताका आधारमा प्राथमिकता पहिचान तथा निर्धारण गरी योजना बनाउने र त्यही योजनामा लगानी गर्नुपर्ने देखिन्छ ।
–––

प्रतिक्रिया दिनुहोस