चरित्र हत्या हुने, बदलाको भावनाले परिचालित हुने र राष्ट्रिय हितलाई बेवास्ता गर्ने क्रियाकलाप सञ्चार क्षेत्रमा प्रकट हुन नदिन सबै सञ्चारकर्मीलाई बामदेव गौतमको अनुरोध

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले प्रस्तावित मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याएर मात्र पारित गर्नुपर्ने बताउनुभएको छ । नेता गौतमले आज विज्ञप्ति जारी गरी राष्ट्रियसभा सचिवालयमा दर्ता रहेको विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले विधेयकका विवादास्पद प्रावधान सञ्चार क्षेत्रका जिम्मेवार एवं सरोकारवालासँग छलफल गरी टुङ्गो लगाउन र अहिलेकै अवस्थामा अघि नबढाउनसमेत सरकारसँग आग्रह गर्नुभएको छ । “सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छु तर समाचार लेखेकै आधारमा पत्रकारलाई रु दश–दश लाखसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित लाग्दैन”, उहाँले विज्ञप्तिमा भन्नुभएको छ । स्वतन्त्र प्रेस र व्यावसायिक पत्रकारिता लोकतन्त्रका खम्बा भएको बताउँदै उहाँले प्रेस, व्यावसायिक पत्रकार र सञ्चारकर्मीलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक एवं सुरक्षित वातावरणमा काम गर्ने अवस्था राज्यले निर्माण गर्न उहाँले आग्रह गर्नुभयो । नेता गौतमले कुनै पनि व्यक्तिको चरित्र हत्या हुने, बदलाको भावनाले परिचालित हुने र राष्ट्रिय हितलाई बेवास्ता गर्ने क्रियाकलाप सञ्चार क्षेत्रमा प्रकट हुन नदिन सबै सञ्चारकर्मीलाई समेत अनुरोध गर्नुभएको छ ।