कुनै पनि मुलुक समृद्ध हुन त्यस देशको भाषा, संस्कृति बलियो हुनुपर्छ :उपराष्ट्रपति

काठमाडौँ, २४ चैत (रासस) : उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई समृद्धशाली बनाउन भाषा, संस्कृति र संस्कारको संरक्षण प्रवद्र्धन गरिनुपर्ने बताउनुभएको छ । गोकर्णेश्वर माकलबारीमा आज आयोजित ‘दोस्रो क्रान्ति दिवस नेपाल साहित्य महोत्सव २०७५’ को आज उद्घाटन गर्दै उहाँले भाषा संस्कृति बलियो भए मात्र देश बलियो र समृद्ध हुने उल्लेख गर्नुभयो । “कुनै पनि मुलुक समृद्ध हुन त्यस देशको भाषा, संस्कृति बलियो हुनुपर्छ, पछिल्लो समय भाषा सङ्कटमा पर्दै गएको छ । भाषा लोप हुँदै गए हामी पनि कमजोर हुन्छौँ, त्यसैले अब ढिलो नगरिकन आफ्नो भाषा र संस्कारलाई संरक्षण गर्दै नयाँ पुस्तालाई यसमा आकर्षण गर्न जरुरी छ”, उपराष्ट्रपति पुनले भन्नुभयो । उहाँले मुलुकमा सबैखाले क्रान्ति तथा सङ्घर्षमा साहित्यकार तथा कलाकारको विशिष्ट योगदान रहेको भन्दै कला र साहित्यका माध्यमबाट मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई सार्थक बनाउन स्रष्टा तथा सर्जकलाई आग्रह गर्नुभयो । उपराष्ट्रपति पुनले जनताको जीवनमा परिवर्तन हुने गरी देशलाई समृद्ध बनाउन उत्पादन वृद्धिमा आधुनिक प्रविधिको भरपुर उपयोग गरिनुपर्नेमा जोड दिनुभयो । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले मुलुक परिवर्तनका लागि भएका विभिन्न सङ्घर्षमा कला र साहित्यिक क्षेत्रको पनि महत्वपूर्ण योगदान रहेको भन्दै अबको समृद्धिको यात्रामा पनि प्रागीक क्षेत्रबाट थप प्रभावकारी योगदान हुन जरुरी छ भन्नुभयो । पूर्वमन्त्री शेरबहादुर तामाङले मुलुकको समृद्धिको अभियानमा ससाना कामबाटै सबै स्थानबाट सकारात्मक र प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिनिधिसभाका सदस्य कृष्ण राई र रामेश्वर फुयाँलले समृद्ध नेपाल निर्माणका लागि भौतिक निर्माणसँगै भाषा, कला र साहित्यको संरक्षणमा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले समृद्ध नगरका लागि निर्माण अभियान शुरु गरिएको जानकारी गराउँदै भाषा र संस्कृतिको संरक्षणलाई पनि प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । जया मल्टिपल कलेजका प्रिन्सिपल भवानीप्रसाद पौडेलले शिक्षा, कला र संस्कृतिको माध्यमबाट आर्थिक समृद्धिको अभियानमा योगदान गरिनुपर्ने बताउनुभयो । सात स्रष्टालाई ‘क्रान्ति नक्षत्र सम्मान’ विसं २०४६ को जनआन्दोलनलगायत पछिल्ला विभिन्न परिवर्तनकारी सङ्घर्षमा महत्वपूर्ण योगदान गर्ने सात स्रष्टालाई ‘क्रान्ति नक्षेत्र सम्मान–२०७५’ बाट सम्मान गरिएको छ । साहित्यकार मोदनाथ प्रश्रित, नेपाल सङ्गीत तथा नाट्यकल प्रज्ञा–प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका जनकलाकार नारायणभक्त श्रेष्ठ ‘रायन’, जनकलाकार रामकृष्ण दुवाल, गायक नन्दकृष्ण जोशी, मधु गुरुङ, भूमिका सुब्बा तथा कवि मेघराज शर्मा नेपाल ‘मञ्जुल’ लाई कदरपत्रसहित सम्मान गरिएको हो । त्यसैगरी विशिष्ट सम्मान गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का महासचिव कुमार घिमिरे, माध्यमिक विद्यालय सङ्घ (हिसान) काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, समाजसेवी दीपक भण्डारी, जगन्नाथ देवकोटा पासाङ छिरिङ शेर्पा तथा पत्रकार मुकुन्द डुङ्गाना लगायतलाई प्रदान गरिएको थियो । ती सबै सम्मान उपराष्ट्रपति पुनले वितरण गर्नुभयो । कलेज परिसरमा आयोजित एकदिने साहित्य महोत्सवमा कविता वाचन, स्वास्थ्य, शिविर, विज्ञान प्रदर्शनी आदि रहेको थियो । कलाकार रायन, दुवाल, मञ्जुल, जोशी, गुरुङलगायतले गीत प्रस्तुत गर्नुभएको थियो । साथै,पहिचान र संस्कृति झल्कने विभिन्न नृत्य पनि प्रस्तुत गरिएको थियो । –––