रामपुरमा स्वास्थ्य शिविर
पाल्पाको रामपुर नगरपालिका–१ मा चलेको निःशुल्क स्वास्थ्य शिविरमा ५०० भन्दा बढीले सेवा लिएका छन् । सेवा लिनेमध्ये महिला बढी रहेको पाइएको छ । शिविरमा ४०६ महिला र १२६ पुरुष गरी जम्मा ५३२ ले सेवा लिएको गाडाँकोट स्वास्थ्यचौकी प्रमुख मजीबुर रहमान सेखले जानकारी दिनुभयो । शिविरमा महिला तथा स्त्रीरोग, हाडजोर्नी, नसा तथा मनोरोग, छाला तथा यौनरोगलगायतका विशेषज्ञ सेवा प्रदान गरिएको थियो । नगरपालिकाको केन्द्रदेखि टाढा दुर्गममा पर्ने यस वडाका नागरिकले गाउँमै निःशुल्क स्वास्थ्य शिविर पाएपछि खुशी भएका छन् । शिविरको शुक्रबार रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्दै नागरिकको सेवा सुविधालाई मध्यनजर गर्दै बेला बेलामा गाउँ बस्तीमा पुगेर स्वास्थ्य शिविर सञ्चालनमा नगरपालिकाले जोड दिएको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले मानिसले सामान्य समस्यालाई हेरचाह नगर्दा पछि त्यही रोगले ठूलो रुप लिने हुँदा समयमा नै औषधोपचारमा ध्यान दिन आग्रह गर्नुभयो । वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले दुर्गम गाउँ बस्तीमा आएर आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन पाउँदा खुशी लागेको कुरा बताउनुभयो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रदेश नं ५ को आयोजना र रामपुर नगरपालिकाको सहआयोजनामा शिविर चलेको हो । ज्येष्ठ नागरिकलाई सम्मान रामपुर नगरपालिका–५ पाल्पाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले १०९ वर्षीया सुनकुमारी श्रेष्ठलाई सम्मान गरेर कार्यक्रम उद्घाटन गर्नुभयो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै नगरप्रमुख थापाले ज्येष्ठ नागरिक मुलुकको अभियन्ता र प्रेरणाको स्रोत रहेको बताउनुभयो । “ज्येष्ठ नागरिकसँग प्रशस्त अनुभवको खानी रहेकाले उहाँहरुबाट अबका युवापुस्ताले धेरै ज्ञान सिक्नुपर्ने आवश्यक छ”, उहाँले भन्नुभयो । बूढेसकालमा सम्मानित हुन पाउँदा खुशी र रमाइलो लागेको श्रेष्ठ बताउनुहुन्छ । वडाभित्र रहेका ५५ जना ज्येष्ठ नागरिकलाई झुल र पौष्टिक आहार दिएर सम्मान गरिएको हो । वडाको यस आर्थिक वर्षको रु ५० हजार बजेट विनियोजन गरी ज्येष्ठ नागरिकलाई हौसला प्रदान गर्न सम्मान गरेको अध्यक्ष हिमाल मल्लले बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे र प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले राज्यले दिएको हरेक सेवा सुविधा ज्येष्ठ नागरिकले पाउनुपर्ने र नपाएको भएमा सम्बन्धित निकायमा खबरदारी गर्न अनुरोध गर्नुभयो ।