कर्मचारीको उपस्थिति बिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित हुनु हाम्रो सन्दर्भमा युगान्तकारी रूपान्तरण हो : प्रधानमन्त्री ओली


काठमाडौँ, ४ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको उपस्थिति बिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित हुनु हाम्रो सन्दर्भमा युगान्तकारी रूपान्तरण हो भन्नुभएको छ ।

प्रधानमन्त्रीले केही समय अगाडि सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उक्त कुरा बताउनु भएको हो ।

नागरिक एप मार्फत शनिबार सार्वजनिक बिदाको दिनमा पनि बिना कर्मचारी ३२५ जनाले प्यान नम्बर प्राप्त गर्नु भएको छ । कार्यालय अवधि र कर्मचारीको उपस्थिति बिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित हुनु हाम्रो सन्दर्भमा युगान्तकारी रूपान्तरण हो। नागरिक एप मार्फत सेवामा आम जनताको सिधा पहुँच थप विस्तार गर्दै लगिने छ। सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई नागरिक एप मार्फत घरमै बसीबसी सेवा लिने प्रक्रियामा आवद्ध हुन आव्हान गर्दछु । प्रधानमन्त्रीको ट्वीटमा भनिएको छ ।

सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ ।

उक्त एन्ड्रोइडमा एपमा आज मध्याह्न १२ बजेसम्म एक लाख ६२ हजार ५०० प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ४० हजार बढी प्रयोगकर्ताले एप सञ्चालन गरिसकेका (खाता खोल्न सफल भएको) छन् । सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्याइएको हो ।

उक्त एपबाट नागरिकल प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सक्नेछन् ।

एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सक्नेछन् भने नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम तथा ऋण विवरणको जानकारी लिन सक्नेछन् ।

शुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको छ ।

प्रतिक्रिया दिनुहोस