सरकारको लक्ष्य समाजवाद् : नेकपाका नेता नारायणकाजी श्रेष्ठ
नेकपाका नेता नारायणकाजी श्रेष्ठले दुईतिहाइ कम्युनिष्ट सरकारको गन्तव्य समाजवाद रहेको बताउनुभएको छ । भक्तपुरको खरिपाटीमा मदन भण्डारी एशियाली विद्यालयले सञ्चालन गरेको २१ दिने शैक्षिक तालीमको आज समापन कार्यक्रममा बोल्दै उहाँले माक्र्सवाद र समाजवादबाट मात्रै मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हुने विचार व्यक्त गर्नुभयो । उहाँले कम्युनिष्ट नेतृत्वबाटै नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास सम्भव हुने बताउँदै हरेक क्रान्तिले नयाँ रुपान्तरणको सिर्जना गर्ने भनाइ राख्नुभयो । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले समृद्ध नेपाल, सुखी नेपाली बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । मन्त्री थापामगरले यो सरकारले जनताको मन र भावना जितेर समृद्ध नेपालको परिकल्पना पूरा गर्ने बताउनुभयो । कार्यक्रममा नेकपा नेताहरु बलराम बाँस्कोटा, सोम मिश्रलगायतले मदन भण्डारी एशियाली विद्यालय कम्युनिष्ट नीति, दर्शन र सिद्धान्त पढ्न, बुझ्न र जान्न पाउने अवसरका रुपमा स्थापना भएको बताउनुभयो । तालीममा सहभागी प्रशिक्षार्थीले विद्यालयबाट माक्र्सवाद र समाजवादी सिद्धान्तका साथै त्यसको प्रयोगका बारेमा उत्कृष्ट अनुभव र ज्ञान हासिल भएको धारणा राख्नुभयो । तालीममा ब्राजिल, चीन, मोरक्को, मलेशिया, अर्जेन्टिना, इटली, भेनेजुयला, इन्डोनेसिया, पाकिस्तान, जाम्बिया, नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिकालगायत १४ मुलुकका ५० जना सहभागी रहेका थिए । सरकार कुनै कुरामा सम्झौता नगरी अगाडि बढेको छ ः प्रदेश इन्चार्ज शाक्य नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यले जनताको चाहना र देशको समृद्धिका लागि सरकार कुनै कुरामा सम्झौता नगरी अगाडि बढेको बताउनुभएको छ । आज भक्तपुरमा नेकपा जिल्ला कमिटीका १४५ सदस्यलाई शपथ खुवाउँदै उहाँले सरकारको अभियान र देशको समृद्धिका लागि नेकपाका नवगठित जिल्ला कमिटीले कुनै द्वेष तथा पूर्वाग्रह नराखी पार्टीलाई मजबुद बनाउने गरी एकताबद्ध रुपमा काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा नेकपाका नेताहरु नारायण दाहाल, आनन्द पोखरेल, महेश बस्नेत, दिलीप प्रजापति, सोम मिश्र, देवी ज्ञवालीलगायतले नेकपाको एकता र उपलब्धिलाई विश्वमा नमूनाको रुपमा अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।