वर्तमान नेकपाको वैधानिकताको आधार नेकपा हुनुपूर्वको तत्कालीन नेकपा एमालेको महाधिवेशन र महाधिवेशनद्वारा निर्वाचित नेतृत्व नै हो


भ्रम नछरौं भ्रममा नपरौँ ,सूर्य उसैको हुनेछ ।
नेकपाले नेकपा अध्यक्षलाई नै साधारण सदस्य समेत नरहने गरी नेकपाबाट निष्कासन गरेको छ । वर्तमान नेकपा तात्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर निर्वाचन आयोगमा दर्ता गरिएको प्रस्तावित पार्टी हो ।
राजनीतिक दलसम्बन्धी मौजुदा कानुनले व्यवस्था गरेबमोजिम पार्टीको आवधिक अधिवेशन तथा अधिवेशनबाट पारित विधान एवं नेतृत्वका आधारमा मात्रै उसको वैधानिकता सुरक्षित रहेको हुन्छ । वर्तमान नेकपाको वैधानिकताको आधार नेकपा हुनुपूर्वको तत्कालीन नेकपा एमालेको महाधिवेशन र महाधिवेशनद्वारा निर्वाचित नेतृत्व नै हो । यसै मान्यतामा रहेर पार्टी एकताको प्रस्तावनाले पनि एकता महाधिवेशन नहुँदासम्मका लागि मात्र दुई अध्यक्ष रहने विशेष वयवस्था गरेको हो । एकताको प्रस्तावना बमोजिम तोकिएकै अध्यक्ष द्वयको संयुक्त हस्ताक्षरविना पार्टीका कुनै पनि निर्णयले आधिकारिकता नपाउने व्यवस्था समेत गरिएको र सोही दस्तावेजका आधारमा निर्वाचन आयोगले नेकपालाई दर्ता गरेको थियोे ।
हाल नेकपामा उत्पन्न विवाद तथा विभाजनको वैधानिकताका लागि आ-आफ्नो दावीसहित निर्वाचन आयोगमा बुझाइएका दुई समूहका छुट्टाछुट्टै पत्रलाई नेकपाकै दस्तावेजले स्वत:अनाधिकारिक तुल्याइदिएको छ ।
अहिलेको मुख्य बहस सूर्य चिन्ह कसको भन्ने विषयमा केन्द्रित देखिन्छ । निर्वाचन आयोगले चालेको प्रक्रियाका आधारमा दुवै पक्षका समर्थकहरूका आ आफ्नै दावी र हल्ला मिडियामा भ्रामक हिसाबले आइरहेका छन् । तर यी सबै दावी तथा हल्ला कुनै पनि सत्य नहुने सुनिश्चित छ । किनभने चुनाव चिन्ह सूर्य अहिलेसम्म कहिल्यै पनि नेकपाको होइन । यो त तत्कालीन नेकपा एमालेको हो । मात्र के हो भने दुई पार्टीको आपसी सहमतिमा पार्टी एकता गर्ने , पार्टीको नाम नेकपा राख्ने, चुनाव चिन्ह सूर्य राख्ने र एकता महाधिवेशनसम्म क्रमश: प्रथम केपी ओली र द्वितीय पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष रहने समझदारीका आधारमा एकता प्रक्रिया टुंगोमा पुर्याउने र आगामी महाधिवेशनबाट विचमा भए-गरेका सबै सम्झौता ,समझदारी तथा निर्णयहरूलाई अन्तिम वैधानिकता प्रदान गर्ने यही न थियोे ?
अहिले आएर पार्टीको आन्तरिक विवादका कारण दुई अध्यक्ष एक ठाउँ रहन नसक्ने मात्रै होइन विभाजनलाई वैधानिकता दिने नाममा एकताको सङ्क्रमण कालभरी सहमतिका आधारमा महाधिवेशनसम्म जाने प्रस्तावनाविपरीत, एकताको मर्मविपरीत हुँदै नभएको बहुमत र अल्पमतको दरार पैदा गराएर अध्यक्ष नै हटाउने , नयाँ अध्यक्ष नियुक्त गर्ने जस्ता कार्य गरिनुले अन्ततः पार्टी एकता प्रक्रिया स्वत:भङ्ग भई पूर्व अवस्था अर्थात नेकपा एमाले र माओवादी केन्द्र नामका भिन्न दुई पार्टीको अवस्थामै पुगेको निष्कर्ष निस्कने हुँदा नेकपा (एमाले )वैधानिक रूपमा जसको नेतृत्वमा रहन्छ त्यसैले नै चुनाव चिन्ह सूर्य पाउने छ ।
कृष्णबन्धु पौडेल
कीर्तिपुर ,काठमाडौ
प्रतिक्रिया दिनुहोस