नेकपाका प्रभावशाली नेता तथा मुख्यमन्त्री पोखरेलले यस्तो गरे आव्हान


रुपन्देही, १४ माघ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश इञ्चार्ज तथा प्रभावशाली नेता शङ्कर पोखरेलले राष्ट्रियताको रक्षाका लागि प्रधानमन्त्रीको पक्षमा उभिन आव्हान गर्नु भएको छ । नेकपा ओली पक्षीय राष्ट्रिय युवा सङ्घ नेपालको प्रदेशस्तरीय भेलालाई हिजो बुटवलमा सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

 

मुख्यमन्त्री पोखरेलले नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि घेराबन्दी शुरु गरिएको बताउनु भयो । मुख्यमन्त्री पोखरेलले नेपालको गुमेका भूभाग समेटिएको चुच्चे नक्सा संसद्मा पारित भई सार्वजनिक भएपछि विवाद सिर्जना गर्ने काम गरिएको उल्लेख गर्नुभयो ।

नयाँ नक्साकै कारण आजको सङ्कट आएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको आँट र साहसकै कारण चुच्चे नक्सा सार्वजनिक गरिएको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले कारवाहीमा परिने डरले प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा नियुक्ति गर्न नदिएको उल्लेख गर्नुभयो । अख्तियारलाई खाली राख्ने प्रचण्डको षड्यन्त्र सफल नहुँदा विवाद सिर्जना भएको बताउँदै अब नियुक्तिपछि काम अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री पोखरेलले अहिलेको राजनीतिक सङ्कट नयाँ पुस्ताका लागि अवसर भएको बताउँदै राजनीतिक परिवर्तनका लागि युवाको सक्रियता आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस