जव आँसुले टलपल मेरा आँखा मदनतिर फर्किए


मैले चिनेको माधव कमरेड
——
समय काल र स्थान । नेकपा (माले) काल ,
बिराटनगर । मोरङ्ग सुगर मिल्सबाट निष्कासित भएपछि सुबोधजीको सहयोगले बिराटनगरमा मैले जीविकोपार्जनका लागि एउटा सानो खाम फायल उद्योग खोलेको थिएँ । एकदिन कमरेड
मदन ( सागर) मेरो खाम फायल उद्योगमा आउनु भयो र भन्नुभयो – निर्मल कमरेड ( मेरो पार्टी नाम) , मसँग पार्टीको पच्चीस हजार रुपैया छ, मैले यो राखेर के गर्नु ? अभावैअभाव छ , खर्च होला भन्ने डर । तपाईंले नै यो कतै लागानी गरिदिनुस । केही थपिएर त आउँछ । केहीबेर सोचेर मैले भनें – हुन्छ कमरेड । दुई महिनापछि यहाँ मुसलमानहरुको एउटा पर्व छ । त्यतिबेला उनीहरु नेपाली कागजको दाहा ( एक किसिमको घर ) बनाउँछन् । अहिले कागज किनेर राख्ने हो भने त्यतिबेला झण्डै दोब्बरमा बिक्री हुन्छ । उहाँले हुन्छ भन्नुभयो र भोलिपल्टै रुपैयाँ ल्याएर मलाई दिनुभयो ।
मैले कागज किनेर गोदाममा रखेको केही
दिनपछि नै पुलिसले मलाई पक्राउ गर्यो र रमेश भट्टराई (महेन्द्र मोरङ्ग कलेजका तत्कालीन सभापति ) सँगै धनकुटा जेल चलान गर्यो । झण्डै चार महिनापछि धनकुटा जेलबाट छुटेर आउँदा दाहा पर्व सकिइसकेको थियो र नेपाली
कागजको मूल्य पनि घटेर आधा भएको थियो ।
नाफा कमाउने उद्देश्यले किनेको कागजमा करिब पन्ध्र हजार घाटा भयो ।
यसैबीच एकदिन मदनसँगै माधव कमरेड पनि मेरोमा आउनु भयो । हामी तीनजना एउटा कोठामा ढोका थुनेर बस्यौं । माधव कमरेडले मतिर औंला ठड्याएर झण्डै आधी घण्टा उद्योगीहरुको स्वभाव बारे बर्णन गर्नुभयो । र अन्त्यमा भन्नुभयो – “हेर्नुस् ! मलाई आर्थिक मामिलामा कसैले झुक्याउन सक्तैन । तपाईको उद्योग डुबिरहेको थियो । मरता क्या नही करता । डुबिरहेको उद्योगलाई जोगाउन तपाईंले पार्टीको पैसा लगानी गर्नुभयो र त्यो पनि डुबाउनु भयो । कतिपय मानिसहरु आफु डुबिरहेको बेला ढाट्छ्न् , छलछन् र अरुलाई बेकुफ बनाउँछन् । तपाईंले पनि पार्टीलाई बेकुफ बनाउन खोज्दै हुनुहुन्छ। तपाईंले आफ्नो जायजेथा बिक्री गरेर भए पनि घाटा लागेको पैसा पार्टीलाई बुझाउनु पर्छ , बुझ्नुभयो ?”
म एउटा अनुशासित सिपाही थिएँ । सानो स्वरमा केही भन्न खोज्दै थिएँ तर , उहाँले बोल्नै दिनुभएन । म एउटा अपराधीझै उहाँको कुरा सुनी मात्र रहें । आँसुले टलपल मेरा आँखा मदनतिर फर्किए ।
केहीबेरपछि उहाँहरु जानुभयो । म पनि गाह्रो मन लिएर उद्योगभित्र छिरें । मलाई गम्भीर देखेर उद्योगभित्र बसिरहनु भएको रामेश्वर कमरेड ( लालबाबु पण्डित ) ले – किन गम्भीर ? भनेर सोद्धै हुनुहुन्थ्यो ।
– नवराज गौतम
प्रतिक्रिया दिनुहोस