कामपाको प्रमुख, उपप्रमुखलाई नागरिक अभिनन्दन


काठमाडौँ, २५ चैत (रासस) ः
काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई नागरिक अभिनन्दन गरिएको छ । स्थानीय भाषाको पाठ्यक्रम लागू गरेर कामपाले काठमाडौँको भाषा, लिपि, कला, संस्कार, संस्कृतिलाई जीवन्त राखेको भन्दै नेवाः पत्रकार राष्ट्रिय दबुले सांस्कृतिक बाजागाजासहित शहरको विभिन्न स्थानको परिक्रमा गरी नागरिक अभिनन्दन गरेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेवार जातिले नेपालको इतिहास र अस्तित्व बोकेकाले यसको पहिचानलाई जीवन्त राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले कामपाले धर्म संस्कृति जगेर्नाका लागि चालेका विभिन्न कदमको पनि प्रशंसा गर्नुभयो ।

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले स्थानीय पाठ्क्रम लागू गर्नु ऐतिहासिक काम भएको भन्दै कक्षा १ देखि ८ सम्म मात्रै नभएर १२ कक्षासम्म लागू गर्न सुझाव दिनुभयो । कामपाका प्रमुख शाक्यले अन्य जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्रै महानगरको विकास र संस्कृतिको उत्थान गर्न सकिने धारणा राख्नुभयो ।

नेपालको संविधानको भाग ३ मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौँ महानगरपालिकाले सोही व्यवस्थाअन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो ।

कामपाको विसं २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेको थियो । ‘पाठ््यपुस्तकमा काठमाडौँको मुख्य जाति नेवारको चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक स्वरुप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपीजस्ता विषय समेटिएको छ ।

कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठनपाठन हुनेछ । त्यस्तै कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन हुनेछ । कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठनपाठन हुने व्यवस्था गरिएको छ ।

कामपाले आधारभूत कक्षा १ देखि आठसम्मका लागि स्थानीय पाठ्यपुस्तक तयार गरेको हो । अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ । सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ््यपुस्तक तयार गरेको भए पनि हाल सामुदायिक विद्यालयको लागि मात्रै अनिवार्य रुपमा लागू गरिने भएकाले शिक्षक पनि सोही अनुरुप राखिने छ । यही शैक्षिक सत्रदेखि कामपामा रहेको ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरेको हो । अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ ।

कामपाको सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाको सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस