एमाले विवादः उत्कर्ष कि निष्कर्ष ?


निर्मल भट्टराई

@bnirmal1966

नेपाल कम्युनिष्ट पार्टी(एमाले)को तेह्रौं केन्द्रिय कमिटीको बैठक शुरु भएको छ । पार्टीको माधव पक्षले एकपछि अर्को बखेडा झिकिरहेको बेला शुरू भएको यो बैठकको ऐतिहासिक महत्व रहेको छ । पार्टीको विभिन्न संरचना निकम्मा भएको, पार्टीमाथि चौतर्फी हमला भईरहेको, पार्टीको सरकार ढाल्न एमालेकै केही नेताहरू विपक्षीहरूसँग मिलेर षडयन्त्र गरिरहेको अवस्थामा शुरु भएको यो बैठकले स्वभाविक रुपमा निकास निकाल्ने विस्वास गर्न सकिन्छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले सत्ता टिकाउन जति घुर्की लगाए पनि स्वीकार्छन् भन्ने गलत धारणा माधव पक्षमा देखिन्छ । संघीय सरकार ढाल्न देउबाको पक्षमा हस्ताक्षर गरे पनि, प्रदेशसभामा पार्टी ह्वीपविरुद्ध फ्लोर क्रस गरे पनि, पार्टीबाट निर्वाचित राष्ट्रपतिविरुद्ध विष वमन गरे पनि सत्ता टिकाउन ओली झुकिहाल्छन् भन्ने भ्रम पालेर माधव पक्ष पार्टीसँग सिँगाउरी खेलिरहेको छ ।

एमालेकै नाम राखेर कथित पाँच दलीय गठबन्धन बनाउन विपक्षीलाई उक्साउने, एमाले र एमालेका जनवर्गीय संगठनको नाममै सडक संघर्षमा उतार्ने, एमालेनिकट भनिएका वकिललाई सर्वोच्चमा सम्मानित संस्था राष्ट्रपतिविरुद्ध जथाभावी बोल्न लगाउने, दलीय मूल्य, मान्यता र अनुशासनको कुनै सीमाको पनि हेक्का नराख्ने विकृति सत्तारुढ एमालेमा नियन्त्रणबाहिर जाने चिन्ता अहिलेको प्रमुख चिन्ता हो ।
बारम्बार पार्टी अध्यक्ष र महासचिव भइसकेका, पार्टीको जोडबलमा प्रधानमन्त्री भइसकेका नेताहरू नै यस्तो विकृतिको संवाहक हुनु पार्टीको लागिमात्र होइन, देशकै लागि विडम्बना हो ।

विगतमा प्रचण्डको लहैलहैमा लागेर प्रधानमन्त्रीको लोकपृयता ताछ्न विभिन्न अवाञ्छित गतिविधि गर्दै आएको माधव पक्षले एमाले ब्युँतिएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले मंसिरमा पार्टी महाधिवेशन गरौं भन्दा माधवले मानेनन । जेठ २ को पार्टी संरचनामा नगई हुदै हुदैन भने । सोही विषयलाई प्रमुख माग बनाएर समानान्तर गतिविधिमा लागे ।

साविक नेकपादेखि नै ओली पक्षमा दृढतापूर्वक लागेका माओवादी नेता बादलसहितका करिब दुई दर्जन नेताहरूलाई पार्टीको केन्द्रमा समेट्ने पार्टीको कदमलाई सो पक्षले स्वीकार गरेन । अहिलेसम्म पनि स्वीकार गरेको छैन । पहिले जेठ २ अगाडिको संरचनाको बैठक बसौं अनि उनीहरूको बारेमा सोचौंला भन्ने तर्क अगाडि सारियो । ती नेताहरूलाई अलपत्र पारेर माओवादीमै फर्किउन् भन्ने गलत मनसाय राखियो । साविक नेकपामा उनीहरूसँग सचिवालयमा र स्थायी समितिमा संगै बस्न हुने एमालेमा चाहिँ पानी बाराबार गर्ने अचम्मको दृश्य देखियो ।
पार्टी नेतृत्वले हदैसम्मको लचकता देखाएर पार्टीलाई जेठ २ मा फर्कायो । पार्टीको वैधानिक केन्द्रिय कमिटीको बैठकले एमालेको सरकार गिराएर देउबाको सरकार बनाउन गरिएका हस्ताक्षर तीन दिनभित्र फिर्ता लिन आग्रह गरेको छ ।

उनीहरूसँग नसोधी किन जेठ २ मा फर्किन नहुने, सहमतिको लागि पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट ओलीले राजिनामा दिनुपर्ने,बादलसहितका अरू माओवादी नेताहरूलाई किन जिम्मेवारी दिन नहुने,संसद विघटन गरेको गल्तीमा किन सार्वजनिक रुपमा माफी माग्नु पर्ने,विधि विधान मिचेर उल्टो बाटो हिडेको, प्याकेजमा सहमति हुनुपर्ने, आगामी स्थानीय तह तथा अन्य निर्वाचनमा आफ्ना भागको टिकट अहिले नै छुट्याउनु पर्ने जस्ता विभिन्न माग तेर्स्याइएका छन् ।

पार्टीलाई ओलीको भुलभुलैयामा लागिदैन तर विधि,पद्धति र निष्टाको राजनीति छोडिन्न, प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा बुझाइएका हस्ताक्षर कुनै हालतमा फिर्ता लिईन्न, गठबन्धनसँगको नाता तोडिन्न जस्ता नाङ्गा धम्की दिने क्रम रोकिएको छैन । अनुनय विनय गर्दा पनि ओलीसँग बोल्न पनि नचाहने,बालुवाटार फर्केरै नहेर्ने तर विहानै बेलुकै बुढानिलकण्ठ धाउने माधव प्रवृत्ति मौलाएको छ ।
पार्टी एकताविरोधी उल्लिखित सबै हर्कत गरे पनि पार्टी एकताको बाँसुरी बजाउन भने छोडिएको छैन । यो सबै एमाले बचाउन गरिएको बताइदैछ ।
सुखद नै मान्नु पर्दछ, शुरु भएको एमालेको बैठकले यी सबै विकृतिको अन्त्य गर्ने राम्रो सङ्केत गरेको छ । पार्टीविरुद्ध गरिएका हस्ताक्षर तीन दिनभित्र फिर्ता गर्नै पर्ने र सो नभएमा पार्टीको रथ निर्ममतापूर्वक अगाडि बढ्ने सङ्केत गरेको छ । जुन अपरिहार्य भइसकेको छ । अब कि ती हस्ताक्षरकर्ताले एमालेबाट हात धुनुपर्छ, बर्बाद हुनुपर्छ कि हस्ताक्षर फिर्ता गरेर सुखमय एमाले जीवन विताउनु पर्छ ।
एमालेमा विवाद उत्कर्षमा त छँदै थियो, अब निष्कर्षमा पुग्ने भएको छ । निष्कर्षको सूत्र हो-भरिसक्य सम्पूर्णको एकता, नसके अधिकांशको एकता ।
किनभने,एउटा जीवन्त पार्टी सधैं गत्यावरोधमा रहन सक्दैन,बरू संघर्षणको दौरान बेलाबखत हुने सानातिना क्षति ब्यहोरेर गति लिन्छ ।

भट्टराई नेकपा एमालेका नेता हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई