‘जनभावना विपरीत विधेयक नल्याइने’- का.बा.प्रधानमन्त्री
कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेले गुठीका बारेमा बाहिर जस्तो प्रचार नभएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नंं ४ ले यहाँ आज आयोजना गरेको ‘प्रथम कामनपा–४ वडास्तरीय खुला दौड प्रतियोगिता’को समापन समारोहमा उहाँले जनताको भावनाविपरित हुने गरी गुठी विधेयक पारित नहुने बताउनुभयो ।
“गुठी विधेयक जनताको हितविपरीत हुने कुरा दिने छैनाँै । कसैले कानून ल्याए पनि त्यो पास गर्न दिने छैनौँ”, उहाँले भन्नुभयो, “जनताको एकता, धार्मिक, सांस्कृतिक भावनासँग जोडिएका गुठीजस्ता संस्कृतिको विषय कहिल्यै नै नोक्सान गर्नु हुँदैन । त्यसलाई सम्मान गर्नुपर्दछ । जनतालाई एकता गरेको सयौँ वर्षका त्यो गुठी नष्ट हँुदैन ।” उहाँले अहिले गुठीको कानून नबनेकाले गुठी ऐन हिजोभन्दा कस्तो नयाँ ढङ्गले कसरी बनाउने भन्नेमा छलफल मात्र भएको बताउनुभयो । पोखरेलले अहिले कामको मेसो नमिलेकाले सङ्घ, प्रदेश र स्थानीय तहमा काम गराइमा अलमल भएको बताउनुभयो ।
“अहिले तीन तहका सरकारले तीन किसिमको काम गरिरहेका छन् । जसले गर्दा कतिपय ठाउँमा अलमलसमेत भएको छ”, उहाँले भन्नुभयो, “अब हामीले हाम्रा कामलाई कसले के गर्ने भन्ने छुटाउन जरुरी रहेको छ ।” उहाँले जननिर्वाचित जहिले पनि जनताको भावनालाई बुझेर काम गर्नुपर्ने भन्दै जनताको भावनाविपरीत काम गरियो भने जतिसुकै ठूलो पार्टी वा नेताले गरे पनि जनताले आलोचना गर्ने बताउनुभयो । प्रदेशसभा सदस्य नारायण सिलवालले भौतिक संरचनासँगै आम नागरिकको शान्ति, सुरक्षा, जागरुकता र गुणस्तरीय जीवन सुनिश्चित भएपछि मात्रै मुलुक समृद्ध हुने बताउनुभयो । वडा अध्यक्ष मोहन विष्टले वडामा रहेको सार्वजनिक जग्गालाई सार्वजनिकीकरण गर्ने बताउनुभयो । प्रतियोगितामा नवीन कार्की प्रथम, आलोक थापा द्वितीय र नवराज बुढामगर तृतीय हुनुभएको थियो ।