मजदूरलाई सम्मान गर्नुपर्छ : वरिष्ठ नेता नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सभ्य समाज निर्माणका लागि सबै मजदूरको सम्मान हुनुपर्ने बताउनुभएको छ । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनको ४०औँ स्थापना दिवसका अवसरमा आज लगनखेलमा आयोजना गरिएको कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले मजदूरको सम्मान भए मात्र देशको उन्नति हुने बताउनुभयो । “पेशालाई मर्यादित बनाउन चालक र सहचालकलाई प्रशिक्षण र निगरानीको आवश्यकता छ”, उहाँले भन्नुभयो, “चालक र सहचालकको पेशालाई नकारात्मक दृष्टिकोणले हेर्ने गरेका कारण समाजमा झन् विकृति बढेको देखिन्छ ।” मजदूर श्रमजीवी भएको उहाँको भनाइ थियो । चालकलाई पहुँचका आधारमा नभई क्षमताका आधारमा चालक अनुमतिपत्र दिनुपर्ने नेता नेपालले बताउनुभयो । नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले चालकहरुलाई सभ्य भाषाको अभियान चलाउन अनुरोध गर्नुभयो । राजमार्ग र काठमाडौँ उपत्यकाका सबै सडकमा सिसिटिभी जडान गर्न यातायात मजदूरले सरकारलाई दबाब दिनुपर्ने उहाँले बताउनुभयो । नेकपाका ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले नेपालका सबै राजनीतिक परिवर्तनमा मजदूरको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । नेपाल मेडिसिटी अस्पतालका प्रमुख डा उपेन्द्र महतले यातायात मजदूरले बर्सेनी स्वास्थ्य जाँच गराउनुपर्ने बताउनुभयो । कार्यक्रमा यातायात क्षेत्रमा संलग्न १६९ जनाले रक्तदान गरेका थिए ।