स्वतन्त्र र स्वच्छ निर्वाचन नै सुशासन र लोकतन्त्रको आधार हो : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्र र स्वच्छ निर्वाचन नै सुशासन र लोकतन्त्रको आधार स्तम्भ भएको बताउनु भएको छ ।
निर्वाचन आयोगले हिजाे राष्ट्रपति निवास शीतल निवासमा आयोजना गरेको ‘निर्वाचन समीक्षा तथा आयोगको भावी रणनीतिसम्बन्धी उच्चस्तरीय अन्तरक्रिया’मा उहाँले आगामी दिनमा हुने निर्वाचनलाई आयोगले अझ स्वच्छ, स्वतन्त्र र पारदर्शी एवं मितव्ययी बनाउनुपर्ने सुझाव दिनुभयो ।
निर्वाचनका सन्दर्भमा हासिल भएका अनुभव, विभिन्न समयमा उठ्ने गरेका सवाल र प्राप्त सुझावलाई मनन गरी सुधारको प्रक्रियाको प्रारभ्भ गर्न अब ढिलाइ गर्न नहुने उहाँको धारणा थियो ।
निर्वाचनलाई कम खर्चिलो, मितव्ययी र धान्न सकिने बनाउन निर्वाचन व्यवस्थामा आधुनिक सूचना प्रविधिको बढाई पारदर्शी, पहुँच र विश्वसनीय बनाउँदै निर्वाचनसम्बन्धी कानूनलाई एकीकृत गरी उचित व्यवस्थासहितको आवधिक निर्वाचनको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो । उहाँले स्वच्छ र स्वतन्त्र निर्वाचन अभियानका सिलसिलामा आचारसंहिताको पालनामा सबैलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो ।
आयोगअन्तर्गतका कार्यालयमा आवश्यक पूर्वाधारसहित कार्यरत जनशक्तिलाई थप दक्ष, लगनशील र उच्च मनोबलका लागि अनुकूल वातावरण बनाउन र कार्यालयलाई निरन्तर रुपमा क्रियाशकील बनाउन राष्ट्रपतिले सुझाव दिनुभयो ।
मतदानमा आमजनताको व्यापक सहभागिता बढाउनु निर्वाचनको महत्वपूर्ण कडी हो भन्दै उहाँले यसका लागि आयोगले मतदाता शिक्षालाई थप व्यवस्थित र सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
विदेशमा रहेका नेपालीलाई मतदान गर्न दिइने विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँको धारणा थियो । ‘‘निर्वाचनसम्बन्धी विवादको समाधानमा कानून, नियम र प्रचलनबमोजिम एकरुपता र स्पष्टता काम गरी निर्वाचन प्रणालीलाई निर्विवाद तुल्याउन निर्वाचन विधिमा सबैको स्वीकार्यतालाई व्यापक बनाउनुपर्दछ’’, उहाँले भन्नुभयो ।