विगतमा एकले अर्कालाई दोषारोपण गरेर उम्किने प्रयास गरेपनि अब भने कुनै बहाना गर्ने ठाउँ छैन : नेता रावल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले संविधान प्रदत्त अधिकारको अनुभूति जनताले गर्न पाउनुपर्ने बताउनुभएको छ ।
साँफेबगर नगरपालिकाकाको तेस्रो नगरसभाको उद्घाटन गर्दै उहाँले जनताको संघर्षबाट प्राप्त सङ्घीयताको मर्मअनुसार जनप्रतिधिले अघि बढ्दै विकास निर्माणका कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्थानीय तहमा आएको बजेटको सदुपयोग गर्दै देश समृद्ध बनाउने अभियानमा लाग्न जनप्रतिनिधिलाई आग्रहसमेत गर्नुभयो ।
उहाँले विगतमा एकले अर्कालाई दोषारोपण गरेर उम्किने प्रयास गरेपनि अब भने कुनै बहाना गर्ने ठाउँ नरहेको बताउनुभयो । नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इञ्चार्जसमेत रहनुभएका नेता रावलले स्थानीय तहले स्थानीय उत्पादन, युवास्वरोजगार, उद्यमशिलता लगायतका क्षेत्रमा लगानी गरेर अगाडि बढ्न सके देशको समृद्धि हुने उल्लेख गर्नुभयो ।
उहाँले कम्युनिष्टको नेतृत्व भएका स्थानीय तहमा अन्य तहको भन्दा रचनात्मक र उत्कृष्ट कार्यसम्पादन हुनुपर्नेमा जोड दिनुभयो ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द कुँवरले स्थानीय तहले सम्पादन गर्दै आएका कामको मूल्याङकन गरेर प्रदेशबाट सहयोग गरिने बताउनुभयो । नगरपालिकाद्वारा आगामी आव २०७६÷७७ का लागि रु ७९ करोड ६२ लाख ५९ हजारको बजेट बजेट नगरसभामा प्रस्तुत गरिएको थियो ।