उपसना गर्ने तिथिलाई दशैंमा सारेर हिन्दु-बौद्धबीचमा द्वन्द्व गराउने नियोजित षड्यन्त्र


मोहन लामा रूम्वा

पवित्र बौद्धग्रन्थअन्तर्गत काग्युरग्रन्थमा उहाँको वाणी “ञ्युङने फेन छेम्बो”मा “हे कूलपुत्र-कूलपुत्री हो, ञ्युङने मौनब्रत हामी जीवनमा एकपटक पालना गर्नाले ४० कल्पको पाप काटिनेछ, अनि देव र मनुष्यको उत्तमजन्म प्राप्त हुनेछ। आठपटक ञ्युङने मौनब्रत पालना गर्नाले श्रोतापछि ज्ञानप्राप्ति हुने, अनि मृत्युपछि देवाचेनगी शिङखममा (पुण्यभूमिमा) जन्मप्राप्त हुनेछ भनेर लेखिएको कारणले हिमालीक्षेत्रका बौद्धसमुदायका भक्तजनहरू वर्षको एकपटक माघ महिनाको पूर्णिमामा ञ्युङने मौनब्रत बस्ने गर्दछन् ।

माघ महिनाको पुर्णिामामा नै किन बस्नुपर्ने ? उक्त तिथिको धार्मिक महत्त्व के छ ? भनेर बुझ्नको लागि हामीले ञ्युङने व्रतको कथा अलिकति बिस्तृत रूपमा बुझ्नुपर्ने हुन्छ।

यति पवित्र धार्मिक रूपमा मौनब्रत बसी उपसना गर्ने एउटा तिथिलाई कसरी दशैंमा सारेर हिन्दु-बौद्धबीचमा द्वन्द्व गराउन विदेशीले चलखेल गरेको छ भनेर बुझ्न सबैभन्दा पहिला हामी सनातनीहरूले ञ्युङने मौनब्रतबारेमा जान्न जरुरी छ। त्यसपछिमात्रै ‘खेल’ कसरी खेल्दै छ भनेर छर्लङ्ग बुझ्नेछौं ।

स्वस्थानी ब्रतकथामा आउने गोमाजस्तै पात्र यहाँनेर

भिक्षुणी कमला/लक्ष्मीकरा, (तिब्बतीमा) ‘गेलोङमा पाल्मो’ भन्ने गरिन्छ । उक्त भिक्षुणी कमलाको इतिवृतान्त कथाको मूलपात्र नै ञुङ्ने ब्रत कथाको सारभुत हुन्। सनातनी हिन्दु समुदाय भित्र पुष शुक्ल पूर्णिमाबाट स्वास्थनी व्रत कथा आरम्भ गरेर माघ शुक्ल पूर्णिमामा समापन गरिन्छ भने बौद्ध समुदायमा दुई दिन अगाडि मौन व्रत बसेर माघ शुक्ल पुर्णिामामा समापन गरिन्छ।

ञ्युङने मौनब्रत कथा :

कथा अनुसार काश्मीरका राजा धर्मपाल र रानी प्रियाभद्रीको कोखबाट राजकुमार ईन्द्रभूति र राजकुमारीको रूपमा कमला जन्मनुभएकी थिइन्। ऊनी जन्मने साथ आर्य अवलोकितेश्वरको मूलमन्त्र ‘ॐ मणि पद्म हुङ’ मन्त्र जप गर्दै जन्मेकी थिइन्, भनिन्छ ऊनी जन्मिदा आमा रानी प्रियाभद्रीलाई कुनै प्रसूतिवेदना बिना जन्मिन पुगेकी थिइन्। कमला जन्मिँदा अन्तरीक्षमा सप्तरङ्गी ईन्द्रेणी लागेको, चन्द्रसूर्य एकैसाथ उदाएको चारैदिशामा प्रकाशका किरण झिलिमिलि भएको, पहाड-पर्वतको चुचुरोमा धार्मिक शब्दहरू गुञ्जेको, साथै गगनमार्गबाट देवदेवीहरूले पवित्र जल छर्केर स्नान गराएर अलौकिक शुभलक्षणहरू देखाएका कारण उनको नाम नै ‘शुभलक्ष्मीकरा’ भनी, नामकरण हुन पुगेको हो, भन्ने मान्यता छ ।
राजकुमारी कमला विस्तारै उमेर बढ्दै जाँदा उनको शुभ यशकीर्तिले देशविदेशबाट राजकुमारीको दर्शन गर्न र राजकुमारी माग्न युवराजहरू राजकीय भेषभुषामा सिँगारिएर राजा धर्मपालको राजदरबारमा दिनहुुँ आउनेको लर्को लागिरहेको हुन्थ्यो ।
राजा ईन्द्रभूतिले राजकुमारी माग्न आउनेहरूलाई मेरो कुनै हस्तक्षेप हुन्न, स्वयम् राजकुमारीको इच्छा र चाहनाबमोजिमको राजकुमारलाई दिने भएकोले राजकुमारीसँग नै तपाईंहरूले आफ्नो प्रस्ताव राख्दा उत्तम हुने भन्दै पन्छिरहेका हुन्थे।
राजा धर्मपालले एकदिन आफ्नो छोरीलाई ‘अब तिम्रो उमेर पनि पुग्यो आफूले चिताएको राम्रोवर खोजेर विवाह गर्नू,’ भनेर छोरीलाई सम्झाए । बुबाको यो आग्रहलाई भिक्षुणी कमलाले भन्नुभयो ‘मेरो यो जुनी पूर्वजन्मको शुभकर्मले दुर्लभ मानवजीवनप्राप्त भएकोले अहिले मलाई जेसुकै शुभकार्य गर्न अनुकूल अवसरप्राप्त भईरहेको बेला प्राणीजगतको हितको लागि पुण्यकार्य गर्नुछ, यस्तो दुर्लभ मानवचोलाप्राप्त भएर पनि सत्कर्म गर्न सकिनँ भने रत्नद्वीपमा पुगेर पनि रित्तोहात फर्किएर आएको मानवजस्तो हुनेहुँदा मलाई सद्धर्ममा जान अनुमति दिनुहोस्, मलाई विवाहबन्धनमा बाँधेर जगतहितको उपकार गरी पुण्य कमाउने अवसरबाट बञ्चित नगर्नुहोस्,’ भनी, विनम्रपूर्वक आफ्नो मातापितासमक्ष बिन्ती गरिन् ।
महाराज धर्मपालले छोरी राजकुमारीलाई वैवाहितजीवनमा लगनगाँठो कसेर सुखशयलमा राख्न चाहन्थे । तर, छोरीको यस्तो पवित्र कुरा सुनेर उनको इच्छामाथि दबाब दिएर जबर्जस्ती विवाह गराएर पठाउन पनि अनुचित हुने ठानी छोरीलाई उनको अध्यात्मिकजीवनमा जान स्वतन्त्र छोड्दिन्छन् ।
यसपछि राजकुमारी अध्यात्मिकजीवनको कठोर यात्रामा निस्कने तयारीमा जुट्छिन् । राजपरिवारबाट राजकुमारी कमलालाई बिदाई गर्नेबेला राजदरबारमा काम गर्ने सम्फेलमा नामक एकजना साथी लिएर ऊनी धार्मिकयात्रामा निस्किन्छिन् । निस्किँदा राजा-रानी, राजकुमार दरबारिया भारदारहरू एकमाइल परसम्म पुर्‍याउन आएर धार्मिककार्य सफलताको शुभकामना दिँदै विदाइ गरेर फर्किन्छन् ।
राजकुमारी कमला त्यहाँबाट भारतको पूर्वदिशामा पर्ने नाग्छाल ट्वावाच्यान नामक गोन्पामा लामा ज्योवो पाल डोटुबको समक्ष धर्म देशना लिनेे सोंच बनाउछिन् । त्यहाँ पुग्न १ वर्ष ३ महिना लाग्ने धेरै टाढा र विकटको बाटो भएपनि कमलाले दृढ़ अठोट लिईसकेकी हुनाले जसरी पनि पुग्ने भनेर यात्रामा लाग्छिन् । हिँड्दा-हिँड्दा बाटोमा खाजा सामल सिद्धिएर कहिले भोकै, कहिले बाटोमा भेटिने झारपात खाँदै कठिन यात्रा तय गर्दै अघि बढ्छिन् । जाँदाँ-जाँदा बाटोमा पर्ने अन्कण्टार घनाजङ्गलको बीचमा विगश्री नामक विहारमा पुगेपछि राजकुमारी कमलाले विहारको सहायकहरूसँग आफू आउनुको कारण खुलाई विहारको प्रमुखधर्मगुरुको दर्शन र दीक्षा पाउन आग्रह गरिन् ।
उक्त विहारको सहायकहरूले राजकुमारी कमलालाई विहारभित्र लगेर गुरुसमक्ष दर्शन-भेट गराई दिए । राजकुमारीले गुरुसामु एकमाना सुनको धुलो अर्पण गर्दै साष्टाङ्ग ढोक गरिन् । राजकुमारीको धर्मप्रतिको त्यो झुकाव देखेर गुरुले उनलाई राजकीयसुविधा त्यागेर यस्तो कठिनयात्रा तय गर्दै धर्मकर्ममा लाग्नुपर्ने सोंच कसरी पलायो भन्दै जिज्ञासा राख्छन् । वर्ष १५ की राजकुमारीले गुरुको जिज्ञासा मेटाउँदै ‘यसलोक र परलोकको शरण्य गुरुरत्न ! यो मानवजीवनभन्दा अर्को जीवनको यात्रा अत्यन्त लामो हुने र यो सांसारिकजीवन दुःखमय भएकाले धर्मधातुमा मुक्त हुन मुक्तिको सत्मार्ग देखाईदिनुहोस्,’ भनी, बिन्ती गरिन् ।
भर्खरकि १५ वर्षकी बालिकाले यस्तो अद्भूतज्ञानको कुरा गुरुसँग राखेको देखेर वरिपरि बसिरहेका गुरुको चेलाहरू आश्चर्य मान्छन । त्यसपछि गुरुले उनलाई विहारमा राखेर दीक्षा दिए । उनले पनि ध्यानपूर्वक बसेर अध्ययन गर्नुका साथै आर्य अवलोकित्यश्वर पञ्चविद्यासम्बन्धी ज्ञान् एवम् खसर्पणिको साधना गरेर बसिन् ।
एकदिन उनलेे सपनामा आफ्नो गुरु ज्योवो पाल ङोटुब साक्षात् अमिताभ बुद्ध भएको देखिन् । गुरुले एकदिन उनलाई विहारमा उनको साधनाको स्तर र समर्पण देखेर राजकुमारी कमलालाई भिक्षुणीको पद दिँदै उनको प्रवृजित नाम भिक्षुणी कमला नाम राखिदिए । त्यतिबेलासम्म विहारमा साधना गर्दागर्दै भिक्षुणी कमलाको उमेर पनि २२ वर्ष भईसकेको हुन्छ । लामोसमयसम्म गुरुको सानिध्यमा रही सहस्रभुज, सहस्रचक्षु आर्य अवलोकित्यश्वरको अभिषेक, आगम र अववाद (उपदेश)हरू गुरुसँग लिईसकेकी उनले त्यहाँबाट गुरुसँग आज्ञा मागी गुरुको विहारदेखि २१ माइल जति टाढागई एकान्तठाउँमा पर्णकुटी (घाँसछाप्रो) बनाई फ़ेरि एक्लै बसी आर्य अवलोकेश्वरको जप साधनामा लागिन् ।
यसरी बसिरहेको झण्डै ७ महिनापछि एकदिन बूढीऔंला चिलाए झैँ भएर यसो हेर्दा सानु खटिरा निस्केको देखिन्, त्यो खटिरा दिनप्रतिदिन बढ्दै गएर खुट्टादेखि टाउकोसम्म बढ्दै गएर अन्ततः कुष्ठरोग निस्कियो । तापनि उनले मनमा कुनै चिन्ता लिईनन् बरु यो अध्यात्मिकजीवनमा मेरो परीक्षा लिईरहेको रूपमा लिँदै अझ धर्म-साधनामा तल्लीन हुँदै गइन् । भिक्षुणी कमलाको शारीरिकअवस्था देखेर दरबारदेखि अहिलेसम्म सहयोगीको रूपमा रहँदै आएकी साथी सम्फेललाई भने निकै चिन्तित बनाएको हुन्छ ।
भिक्षुणी कमलालाई कुष्टरोगले दिनप्रतिदिन ग्रसित तुल्याउँदै लगिरहँदा पनि उनलेे आर्य अवलोकितेश्वरको जप-साधना ध्यान गर्ने नित्य काम गर्दै गईन्, रोगले ग्रसित भईरहेको बेला एकदिन आफ्नो गुरुलाई भिक्षुणी कमलाले अनुरोध गर्दै भनिन्, ‘मलाई लागेको कुष्ठरोग निको हुने एउटा इष्टदेवको नाम दिनू न ।’ गुरुले सम्झाउदै भन्नुभयो ‘तिम्रो इष्टदेव एघार मुखाकृत भएको आर्य अवलोकितेश्वर नै हुन्, नाग, सिमे भूमेको दमन गर्न योभन्दा शक्तिशाली साधन अरु छैन, त्यसैले अब तिमी यहाँ नबसी भारतको पूर्वदिशामा लिङ्खर शिङफेल नामक एउटा गाउँ छ, त्यहाँ आर्य अवलोकितेश्वर खसरपाणीको देवालय छ, त्यहाँ गएर आर्य अवलोकितेश्वरको निरन्तर साधना गर्नू,’ भनी, सुझाए । उनले गुरुको सामिप्यता छोडेर जान अस्वीकार गरिन् । फ़ेरि गुरुले ‘मदेखि टाढा बस्दा तिमीलाई राम्रो हुने र आफ्ना काम सफल हुने’ कुरा बताएर जान जोड गरेतापनि गुरुदेखि विछोड हुन न चाहँदा-चाहँदै गुरु आज्ञा शिरोपर गर्दै साथीसँग उक्त तोकिएको स्थानतिर हिँडिन् ।
हिँड्दा-हिँड्दा उनीहरू दुईजना बिगधी गुम्बामा पुग्छिन्। उक्त गुम्बामा पुग्दा त्यस गुम्बाको प्रमुखलामा स्वर्गारोहण भएको ६ वर्ष बितिसकेको हुन्छ। उनी त्यहीँ बसेर ध्यान गरिरहे, त्यहाँ आएर एकजना भिक्षुणी ध्यान गरिरहेको कुरा त्यस गाउँका वरिपरि फैलियो, एकदिन गाउँले ठूलाबडा भद्रभलाद्मीहरू बसेर भिक्षुणीलाई गुम्बामा नै प्रमुखलामाको रूपमा नियुक्ति गर्ने बारेमा सल्लाह गर्न थाले । केही-केहीले गुम्बामा भिक्षुणीलाई कसरी प्रमुख बनाउन सकिन्छ ? हुँदैन भनेर विरोध पनि जनाए । यद्यपि स्थानीयभद्रभलाद्मीहरूले भिक्षुणी कमलालाई त्यसै गुम्बामा नियुक्त गरेर गुम्बाको जिम्मेवारी दिए ।
ऊनी उक्त गुम्बामा केहीसमय बसेर स्थानीय श्रद्धालु भक्तजनहरूलाई धर्मदेशना दिँदै बसिन् । भिक्षुणी कमला २५ वर्ष पुग्दै थिइन् । उनको कुष्टरोग झन्-झन् बढ्दै गएर आफ्नो हात-खुट्टाका औंलाहरू झर्न थाले । घाउको पिप र रगतले गर्दा बसेको ठाउँ सबै दुर्गन्धित हुन थाल्यो, साथमा रहने सहयोगीसाथी सम्फेलमाले घाँसको छाप्रोमा शरीर कपडाले छोपेर अरुले नदेख्ने गरी राखिदिइन् । उनको शरीरको दुर्गन्धले वरिपरि कोही बस्न नसक्ने भईसकेको हुँदा ऊनी एकान्तमा रहेकोे एउटा ओडारमा सरेर ३ महिना त्यहाँ बसिन् । त्यसपछि उक्त ओढारबाट फ़ेरि सकि नसकी लिङ्खर शिङफेल नामक गुम्बामा जाने निधो गरी एउटा गोरुमाथि चढेर १ महिना लाग्ने लामो विकटयात्रामा लागिन् ।
धेरै दिनपछि यात्रा गर्दा-गर्दा बाटोमा एउटा ओडार देखेर त्यहाँ बसिन्, त्यही ओढारमा बसिरहँदा एकदिन आफ्नो देशबाट आएको व्यापार गर्न हिँडेका ५ जना व्यापारीहरूलाई भेटिन् । व्यापारीहरूले आफ्नो देशको राजकुमारीको यस्तो दयनीय हालतमा देख्दा निकै भावुक बनेर दु:ख मनाउन थाल्दै उनको बुबा राजा धर्मपाल बितिसकेकोले अहिले युवराज ईन्द्रभूतिद्वारा राजकाज चलाईरहेको भन्दै राजा ईन्द्रभूति धर्मश्रवण गर्न ओड्डियान भन्ने देशमा जानुभएको खबर सुनाउँछन् । आफ्नो पिताको देहावसान भएको खबरले भिक्षुणी कमला अत्यन्त दुखित् भईन् । त्यसबाट उनलाई पीडामाथि पीडा थपिएर अत्यन्त दु:खी भईन् । ऊनी केही दिनपछि फ़ेरि त्यो ओढार छोडेर ३ माईलजति टाढा गएर पर्णकुटी बनाई फ़ेरि २ महिना त्यहाँ बसी आर्य अवलोकितेश्वरको ध्यान-जप साधना गर्दै बसिन् ।
उनलाई कुष्टरोगले झन्-झन् च्याप्दै लगिरहेको थियो, यस्तो नाजुकअवस्था हुँदै गएपछि अब आफू नबाँच्ने महशुस गरेर आफ्नो सहयोगीसाथी सम्फेलमालाई आफूलाई छोडेर घरमा फर्किन आग्रह गर्छिन् । आफ्नी आमाले दिएको युं (नीलमणि) बहुमुल्य गरगहनाको साथै, साथमा रहेकोे गोरु सम्फेलमालाई जिम्मा दिँदै घरमा फर्किन भन्छिन्, तर सहयोगी साथी सम्फेलमाले ठाडै अस्वीकार गर्दै म मरेँ भने अर्कै कुरा भयो। नभए त म नमरेसम्म तपाईंको साथ छोड्दिन म बाँचुञ्जेल हजुरको सेवा गरी बस्छु । तपाईंको साथबिना म एकछिन पनि बस्न सक्दिनँ भन्दै रुँदै अस्वीकार गर्छिन् ।
भिक्षुणी कमलाले साथी सम्फेलमालाई विभिन्न अर्ति-उपदेश दिएर मनाउँदै ‘महारोगले ग्रस्त यो मेरो शरीरलाई तिमीले जे सेवा गरेपनि केही अर्थ हुँदैन, अब म मान्छे नभई कुष्ठरोगको मूर्दाशरीर मुढाजस्तो भईसकेकी छु, कुष्ठरोगीको मूर्दालाई माया नगरी तिमी आफ्ना गाउँमा फर्कनू,’ भन्छिन् । जति गर्दा पनि साथीले छोड्न नमानेपछि भिक्षुणी कमालाले त्यसोभए गाउँमा १३ वर्ष बसेर फर्केर मलाई भेट्न आउनु भन्छिन् । तर पनि जान नमानेपछि ९ वर्ष ९ महिना ९ दिन बसेर फर्केर आउनुभन्दा पनि साथीले मान्दिनन् । त्यसपछि पुन: ७ वर्ष ७ महिना ७ दिन बसेर आउनु भनेपछि बल्ल भिक्षुणी कमलालाई छोडेर जान सम्फेलमा भारी मनले राजी हुन्छिन् ।
उनलेे आफ्नो गुरु आमासित छुटेर जाने मन नहुँदा-नहुँदै गुरु आज्ञा मान्दै भिक्षुणी कमलासँग रुँदै बिदा लिएर बाटो लाग्छिन् । अब भने भिक्षुणी कमला एक्लै, एकाग्रतापूर्ण ३ वर्ष ३ महिना ३ दिनसम्म त्यहाँ ध्यानमा बस्छिन् । सहयोगीबिना एक्लै साधनामा लीन भएर बस्दा षट्भुज महाङ्काल र स्थानीयदेवदेवीले सहयोग पुर्‍याउन थाल्छन् ।
त्यस स्थानबाट फ़ेरि ‘लिङ्खर शिङफेल’ नामक पवित्र खसरपानीको गुम्बा जान हिँडिन तर, उनको शरीर रोगको कारण निकै रुग्ण भईसकेका थिए । फ़ेरिपनि सकि नसकी हिँड्दैअगाडि बढ्दा बीचबाटोमा आईपुगेपछि पर्णकुटमा बसेर आर्य अवलोकितेश्वरको मूलमन्त्र ओमणिपद्येहूँ जपेर पुन: ध्यानमा बसिन् । उनलेे त्यहाँ १ वर्ष १ महिना १ दिन ध्यान गरिबसिन् । ऊनी त्यहाँबाट फ़ेरि अघिजान चाहे पनि शरीर अत्यन्त कमजोर भएकोले अगाडि बढ्न सकिनन् । त्यस्तो महाकठिन अवस्थामा पुग्दापनि उनमा कतै हतोत्साहित नभई एकाग्रता ढङ्गले आर्य अवलोकितेश्वरको मौनब्रत जप गर्दै बसिन् ।
उनको शिरको कपाल सबै झरेर तालु खुईली भईसकेको थियो । आँखाभित्र पसेर इनारजस्तो खाल्डा, दाँत सबै पहेंलो,अनुहार सबै अंगारजस्तो कालोभई दुबै हात नाडीबाट छिनेर मुङ्ग्रोजस्तो भईसकेको थियो । यस्तो अवस्थामा पनि सकि नसकी शरीर घिस्रिदै २१ दिनसम्म लिङ्खर शिङफेल गुम्बातर्फ अगाडि बढ्दै जाँदा बाटोमा एउटा ठूलोवृक्ष देखिन् । त्यो वृक्षमुनि थकाई मार्दै बसिरहेको बेला ओड्डियानबाट डाकिनीदेवीहरू गगन चरी झैँ उडेर आएर उनलाई लिङ्खर शिङफेल गुम्बामा पुर्‍याई दिए । ऊनी त्यहाँ एउटा सानु पर्णकुटी बनाई ३ वर्ष ३ महिना ञुङने मौनब्रत बसिन् । यसरी कठोरतापूर्वक मौनब्रत बसिरहेको बेला एकदिन आफ्ना पर्णकुटी उज्यालो पार्दै सिंह चढेर एकजना सुकुमार आएर म मञ्जुश्री हूँ भन्दै आए । भिक्षुणी कमलाले शिर निहुराएर दर्शन गर्दै मलाई बोधिज्ञानप्राप्त हुने सिद्धि प्रदान गर्नुहोस् भनी, बिन्ती गरिन् । यसरी सिंहमाथि विराजमान भई आएको सुकुमारले भन्नुभयो, ‘तिमीलाई निकटभविष्यमा नै सिद्धिलाभ हुनेछ, त्रिकालिक बुद्धको स्वरूप आर्य अवलोकितेश्वरको साधना गर्दै गर्नू,’ भनी, प्रसादको एक डल्लो मुखमा हालिदिएर त्यहीँबाट अलप भए ।
लक्ष्मीकराको कुष्ठरोगले हातखुट्टा सबै घाउ नै घाउ भएर हिँड्न नसक्ने अवस्थामा थियो । तैपनि अवलोकितेश्वरको लिङ्खरश्री गुम्बामा पुग्न सकिन्छ भन्दै घिस्रिदै हिँडिरहेकी थिइन् । यसैक्रममा एकदिन सपनामा बज्रपाणिको निर्माणकायको रूपमा म तिम्रो दाजु ईन्द्रभूति हुँ भन्दै दाँयाहातमा दीर्घायुको कलश र बाँयाहातमा पञ्चद्रव्य (प्रसाद) ले भरेको कपाल (खप्पर) समातेर यो कलशमा १८ किसिमको कुष्ठरोग निवारण गर्ने पवित्रजल र कपालमा अनास्रव सुख समाधि प्रकट हुने प्रसादहरू छन्, साहस गरी यो लेऊ भनेको सपना देखिन् ।
बिउँझदा वरिपरि कोही छैन सुनसान छ उनलेे सपनामा बताएको जस्तो लागेपनि उनलाई उपरोक्त अमृतजल सेवन गरेको जस्तो आभाष भयो । त्यसदिनदेखि उनको कुष्टरोग विस्तारै आधाजसो निको हुँदै गयो । उनको शरीर पहिलेको तुलनामा हल्का महशुस हुँदै गयो, ऊनी निरन्तर अवलोकितेश्वरको मन्त्र जप गर्दै बसिरहिन् । अमृतजल सेवन गरेको हप्तादिनमा प्रात:कालमा विभिन्न पञ्चरङ्गको वस्त्र पहिरिएको पाँचजना देवीहरू भिक्षुणी कमलाको अगाडि आएर र केही नबोली मुस्कुराउँदै ठिङ्ग उभिएर बसिरहे । भिक्षुणी कमलाले आश्चर्य मान्दै सोधिन्, ‘बहिनीहरू कहाँबाट आउनुभएको होला ?’ भनेर सोध्दा उनीहरूले ‘आफूहरू पूर्व, पश्चिम, उत्तर, दक्षिण र मध्यदिशाका देवीहरू हुँ, हामी तपाईंलाई तपाईं पुग्न खोज्नुभएको लिङ्खरश्री गुम्बासम्म पुर्‍याउन भनेर आएकी हुँ, लौ हिँड्नुस्,’ भनेर आकाशमार्ग र बादलको बीचबाट उडाएर अवलोकितेश्वर भएको लिङ्खरश्री गुम्बामा पुऱ्याइदिएर ती देवीहरू एकैछिनमा आकाशमा नै ईन्द्रेणी झैं अलप भए ।
त्यहाँ पुगेपछि उनलाई साक्षात् आर्य अवलोकितेश्वरको दर्शन पाएको अनुभूति हुनथाल्यो । ऊनी त्यस गुम्बाभित्रै ध्यान गर्न चाहेपनि गुम्बाका पूजारीले मनाही गरेकोले गुम्बाको पछाडिपट्टि पर्णकुटीमा बसेर फ़ेरि पूर्ववत् फ़ेरि ३ महिना ३ दिन आर्य अवलोकितेश्वरको साधना गरी बसिन् ।
भिक्षुणी कमलाले सम्फेलमालाई दिनुभएको भेट्ने समय सकिनलाग्दा ओड्डियानबाट राजा ईन्द्रभूति स्वदेश फर्किनुभयो । सम्फेलमाबाट बहिनी लक्ष्मीकराको दयनीय खबर सुन्दा उनी असाध्यै पीडाबोधले मर्माहत् हुँदै अब बहिनीलाई खोजी गर्न निक्लन हात्ती, घोडा र आवश्यक सरसामानहरू तयारी गर्न लगाए । तदनुसार सबै व्यवस्था मिलाई प्रस्थान गरे । बहिनीलाई उनको सहयोगीले छोडेर आएको स्थानमा नभेटिँदा उनी रोएर बसे । खोजीमा आएको सबै टोलीहरू दुखित् भए । राजा ईन्द्रभूतिले मन्त्रीहरूलाई आसपासको गाउँघर गाउलेसित सोधपुछ गर्न लगाउँदा गाउँलेबाट जानकारी प्राप्तभयो, अमिताभबुद्धको निर्माणकाय एकजना मान्छेले यहाँबाट ७ माइल जतिमा लिङ्खरश्री गोम्पाको पछाडि पर्णकुटीमा एकजना कुष्ठरोगी भिक्षुणी ध्यान गरिरहेकी छिन्, तपाईंहरू जानुहोस् । त्यो शुभसमाचार सुनेर उनीहरू खुसीले गद्-गद् हुँदै तुरुन्तै भनिएको स्थानमा हतार-हतार त्यतातिर हिँडे । केही समयमा उक्त स्थानमा सबै पुगे, त्यही ठाउँमा रुग्ण शरीरमा ध्यान गरिरहेकी आफ्नो बहिनीलाई देख्दा दाजु ईन्द्रभूतिको खुसीको सीमा रहेन । बहिनीलाई पनि दाजुको दर्शन पाउँदा उनको पनि आँखा रसाएर एकछिन दाजुबहिनी वाक्य नै निस्केन । उता सहयोगी सम्फेलमाले कमलालाई देख्दा मरिसकेको मान्छे बौरेर बाँचेकोलाई भेट पाए झैँ हर्षको सीमा रहेन । एकछिन दाजुबहिनीको भलाकुसारी दु:ख-सुखको कुरा गरिसकेपछि दाजुले भिक्षुणी कमलालाई कलशको पवित्रजल र कपालको प्रसादहरू खुवाए । उनको कुष्टरोग अझै निको हुँदै गईरहेको आभाष भयो ।
दाजुबहिनीबीचमा लामो कुराकानीपछि बहिनीसँग बिदा लिएर दाजु फर्के । भिक्षुणी कमला पुनः आफ्नो नित्य जप-ध्यानमा लीनभई बस्न थालिन् । एकदिन ध्यानमग्न भईरहेको बेला पर्णकुटीमा उज्यालो प्रकाशको किरणले ढाकेर झिलिमिली भएर आयो । भिक्षुणी कमलाको शरीरको रोग पनि निको हुने विभिन्न लक्षणहरू देख्न थाले । त्यसै बिहान प्रात:कालमा बुद्ध वैदुर्यको निर्माणकाय एकजना १६ वर्षे भिक्षु हातमा आयु कलश लिएको कुमारले दर्शन दिदै ‘छोरी तिमीले अझ ३ वर्ष ३ महिना ३ दिन आर्य अवलोकितेश्वरको जप साधना गर्नू,’ तिमीलाई बोधीज्ञानप्राप्त हुन्छ, भन्दै भिक्षुणी कमलाको मुखमा अमर प्रसादको एक टुक्रा राखेर त्यहीँबाट अलप भए । त्यो प्रसादको एक टुक्रा खाएपछि लक्ष्मीकराको कुष्ठरोग केही चिह्न नै नदेख्नेगरी सबै निर्मूल भएर गयो । त्यसपछि भिक्षुणी कमलाले अवलोकितेश्वरको नाममा विभिन्न स्तुतिगान गाउँदै झन् ध्यानमा लीन हुँदै बसिन् ।
हे अवलोकितेश्वर ! ॐ मणिपद्ये हुङ भन्दै एक-एकलाख मन्त्र जप्दा-जप्दै प्रातिहार्य मास माघ महिनाको पूर्णिमातिथिमा भिक्षुणी कमलालाई सहस्रभुजा एघारा शिर भएको आर्य अवलोकितेश्वरले प्रत्यक्ष दर्शन दिए ।
आफ्नो अगाडि साक्षत अवलोकितेश्वर देखेपछि भिक्षुणी कमलाले जम्ले हात गर्दै शिर निहुँराएर ‘हे करुणाका स्वामी !
मैले त्यतिका दिनदेखि यति लामो, कष्टकरसाधना गरिरहँदा पनि दर्शन पाउन सकिनँ । यसको कारण कतै ममाथि करुणाको ममता कम भयो कि करुणवान ? भनी, गुनासो पोखिन् । भिक्षुणी कमलाको गुनासो सुनेर आर्य अवलोकितेश्वर मुसुक्क मुस्कुराउँदै म पहिलेदेखि तिमीसँगै भएपनि तिम्रो पूर्वजुनीको पापको आवरणले ढाकेर तिमीले नदेखेको मात्रै हो, तिमीले अहिले आकाशव्यापी प्राणीको हितार्थ १३ वर्षसम्म अवलोकितेश्वरको मूलमन्त्र जप गरेर कर्म आवरण शुद्ध (विनष्ट) भई मेरो दर्शन पाएको हो, भन्दै आर्य अवलोकितेश्वरले भिक्षुणी कमलालाई अभिषेक, आगम र दिव्य उपदेशहरू प्रदान गरेर भिक्षुणी कमलालाई महासिद्धि ज्ञान् प्राप्तभई बुद्धसमान हुनुभयो । त्यसैले माघ महिनाको पूर्णिमातिथिमा भिक्षुणी कमलाले साक्षत अवलोकितेश्वरको दर्शनप्राप्त भई बोधिसत्वको रूपमा पुग्नु भएकोले माघ महिनाको पूर्णिमातिथि ञुङने ब्रतको महत्त्वपूर्णतिथि हुन गएको छ । अर्को पनि माघ महिनाकै पूर्णिमातिथि आउँछ यस कथाको अन्तिमभागमा आउँछ ।
भिक्षुणी कमलाले सिद्धीप्राप्त गरेपछि ८४ महासिद्धहरूसित सितवनको घाटमा फ़ेरि ध्यानमा बस्नथाले र उभौली, उधौलीको दशमीमा सिद्धहरूसमक्ष गण चक्रपूजा चढाउँदा श्वेत र अश्वेत प्रसादहरू सिद्ध गुरुहरूलाई चढाउने, त्यसैगरी आफूले पनि प्रसादको रुपमा ग्रहण गरेको त्यस ठाउँको मानिसहरूले देखे ।
८४ सिद्ध महापुरुषहरूसँग घाटमा साधना गरेर एक्लो भिक्षुणी बसेको देखेर स्थानीयगाउँलेहरूले भिक्षुणीको शील भङ्गग भएछ भनी, कुरा काट्नेदेखि गाली गर्नसम्म भ्याए । तत्पश्चात् भिक्षुणीले मेरो शील भङ्ग नभएको र साक्षीमा आर्य अवलोकितेश्वर प्रत्यक्ष साक्षी हुनुहुन्छ भन्दै एउटा कठोर कदम चालिन् र खसरपानी पर्वतमा विशाल जनसमूहलाई एकत्रित पारेर एकहातमा छुरी अर्को हातमा त्रिशुल लिएर आफूबीचमा उभिएर सबैले सुन्ने गरेर उद्घोष गरिन्,’यदि मेरो शील भङ्ग भएको भए मेरो काटेको शिर फेरि नजोडियुन, नभएको भए फ़ेरि जोडियुन भन्दै आफ्नो गर्दन छुरीले काटेर टाउको आकाशमा फालेर आफू ताण्डव नृत्य गर्न थालिन् । ताण्डवनृत्य गर्दागर्दै आकाशबाट आएको टाउको फ़ेरि उनको गर्दनमा जोडिन पुग्यो ।
यस्तो अद्भूतघटना देखेर सारा गाउँलेहरू चकित हुन पुगे । कोही डराएर भागे हिजो उनको कुरा काट्ने उनलाई गाली गर्नेहरू सबैले भिक्षुणीको सरण पर्दै पश्चाताप गरेर माफी मागे । सबैले आ-आफ्ना गल्ती स्वीकार गरी क्षमायाचना माग्दा भिक्षुणी कमलाले तिनीहरू सबैलाई क्षमादान गरिन् र, त्यहाँ उपस्थित सारा जनसमूहलाई अवलोकितेश्वरको सरण परी बहुजन-बहुजन हिताय बहुजन सुखाय मार्गमा लाग्न प्रेरित गरिन् ।
भिक्षुणी कमला यही
लोककल्याणकारी प्राणीजगतको हितार्थ आफ्नो पुरै जीवन ध्यानसाधनामा व्यतीत गर्दै गएर ६७ वर्षको उमेरमा नीरञ्जना नदिको पूर्वदिशामा
लिङ्खर शिङफेल नामक गाउँमा आर्य खसरपाणिको गुम्बामा लोकहित गर्दै धेरै वर्ष बसेपछि प्रातिहार्यमास माघ महिनाको पूर्णिमातिथिमा आफ्नो भौतिकदेहलाई ईन्द्रेणीज्योतिको रूपमा देहलाभ गरी आकाशमा उडेर जानुभयो । हिमालयक्षेत्रका बासिन्दाले ञुङने मौनब्रतको कथाको सारसंक्षेप यही हो । कथाहरू ग्रन्थ अनुसार केही केहीमा फरक-फरक छ जस्तैः भिक्षुणी कमलाको दाजु धर्मपाल भन्ने पनि छ कुनै ग्रन्थमा ईन्द्रभूति भन्ने पनि छ । मैले यहाँनेर उनको दाजु ईन्द्रभूति हुन्, भनेर लेखेको छु । किनकि अधिकांशशास्त्रमा यही उल्लेख छ ।
कसरी गर्दैछ राजनीति ?
यो कथामा दुईवटा महत्त्वपूर्ण घटना छ, भिक्षुणी कमलाले पहिलोपटक साक्षत् रूपमा अवलोकितेश्वरको दर्शन पाएर बोधिज्ञानप्राप्त गरी बोधिसत्व प्राप्त गरेको तिथि र दोस्रो हो भिक्षुणी कमलाले आफ्नो भौतिक देह इन्द्रेणीझैं ज्योतिको रूपमा देह त्याग गरेको दिन माघ शुक्ल पूर्णिमा तिथिमा परेकाले उक्त पवित्र तिथिमा ञुङने मौन व्रत एकपटक पालना गर्नाले ४० कल्पको पाप काटिनेछ, अनि देव र मनुष्यको उत्तमजन्म प्राप्त हुने ज्ञानप्राप्ति हुने, अनि मृत्युपछि देवाचेनगी शिङखममा (पुण्यभूमिमा) जन्मप्राप्त हुनेछ भनेर माघ महीनाको पुर्णिामा तिथिमा मौन व्रत बस्ने गरिन्छ, गर्नुपर्ने हो र यसैगरी पहिलापहिला बस्दै आइरहेको पनि थियो र अहिले पनि भुटान, सिक्किम, तिब्बततिर पनि यही माघ महिनाको पूर्णिमाको पवित्रतिथिमा ञ्युङने मौन ब्रत बस्ने गरिन्छ त्यतातिर कहिल्यै बिना तिथिमा बस्दैन तर नेपालमा विशेषगरी बहुदलीयव्यवस्था आएपछि नेपालमा खुल्लाम् खुल्ला विदेशीलगानी जतासुकै छिर्न थालेपछि नेपालमा एकाएक नेपाली राष्ट्रियपर्वहरु विवादमा ल्याउने तान्ने क्रमको शुरुसँगै दशैंलाई बाहिष्कारको नारा सडकमा लाग्न थाल्यो। यो सुनियोजित बिदेशी परियोजना थियो भन्नेमा कुनै शंका रहेन दुर्भाग्यवश यसको तार ठुलो ठुलो बौद्ध धर्मको ठेकेदार सम्म पुग्न गयो, यो बिदेशी षड्यन्त्रकारी तत्वहरुले हिन्दु बौद्ध बिचमा टकराव मनमुटाव पार्न चाहने हरुले ठिक यही बेला नेपाली हरुले आआफ्नो जातीय परम्परा अनुसार मान्दै आइरहेको दशैंलाई बिबादास्पद र विवादित बनाउन यस्तो सुक्ष्म रणनीतिक योजना ल्याएर अहिले तिथि मिति बिनाको ञ्युङने मौन व्रत दसैंको मुखमा ल्याएर हिन्दुले बली दिन्छ दसैंमा त्यसैले हामीले प्राणीको उपकारको लागि जप ध्यान गर्नुपर्ने हुन्छ निरहार बस्दै भन्दै अहिले गुम्बा गुम्बामा यो अभियान चालु छ !!
दशमीको (बडादशैं) दिन गुरु रेम्पुर्छेले फर्पिङ्गको गुफामा ध्यान साधना गरेर सिद्धीप्राप्त गरेको पवित्र तिथि हो उक्त तिथिमा बज्रगुरु जप गराएको भए पनि केहि हदसम्म मान्न सकिन्थ्यो तर भिक्षुणी कमलाको माघ शुक्ल पुर्णिामा तिथिलाई दसैंमा सारेर मौन व्रत कार्यक्रम आयोजना गर्नु भनेको भदौमा हुने तीजको व्रत पुसमा पुसको व्रत भदौमा बसेको जस्तो मात्रै हो।
जुनबेला भिक्षुणी कमलाको मौन व्रत तिथि आउँछ त्योबेला सुनसान हुन्छ कस्तो विडम्बना छ ? कसरी सुक्ष्म माइक्रो-म्यानेजमेण्ट गर्दै छ भनेर बुझ्न यो एक ज्वलन्त उदाहरण हुन्।
यसरी सर्वसाधारण बौद्धसमुदायलाई बौद्ध धर्मकै आवरणमा कासी जाने कुतिको बाटो जस्तो मौलिक चाडपर्वबाट त अलगथलग पारे नै ! त्यसमाथि बौद्ध धर्मशास्त्र र संस्कृतिविपरीत काम गराएर अहिले विशेषगरि तामाङसमुदायलाई त झन् जोकर नै बनाएर छाडेका छन् !!

प्रतिक्रिया दिनुहोस  
एमाले अध्यक्ष ओलीले कार्यकर्तालाई यस्तो दिए निर्देशन

काठमाडौँ, ९ कात्तिक : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै

विकास र समृद्धिका लागि एमाले ः उपमहासचिव पौडेल   

रुपन्देही, ९ कात्तिक ः नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका

पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर गरेको छैन : एमाले सचिव ज्ञवाली   

तम्घास, ९ कात्तिक : नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा

वाग्मती प्रदेशसभाको विश्वासको मतका लागि तयारी पूरा   

मकवानपुर, ९ कात्तिक (रासस) ः वाग्मती प्रदेशसभाको कात्तिक १० गते अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई