सुरु भयो पेट्रोलियम अन्वेषण कार्यक्रम, ४५ ठाँउमा सम्भावना
काठमाडौं , दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा प्रचूर मात्रामा पेट्रोलियम पदार्थ रहेको देखिएको । अव त्यस क्षेत्रमा खानी तथा भूगर्भ विभागको व्यापक अन्वेषणका लागि तीनवर्षे कार्यक्रम कार्यान्वयनमा आएपछि आयातीत इन्धन पेट्रोलियमका लागि वैकल्पिक आयाम खुल्ने सम्भावना वढेको छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले अहिलेसम्मको खोज , अन्वेषणले दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र विभिन्न ठाउँमा निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा व्यापक कच्चा पेट्रोलियम रहेको हुनसक्ने बताउनुभयो । अहिले नेपालको पेट्रोलियम कार्यक्रम अन्वेषणको चरणमा रहेको बताउँदै उहाँले पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनवीच भएको सम्झौताअनुसार अहिले चिनियाँ टोली नेपालमा अन्वेषण कार्य गरिरहेको जानकारी दिनुभयो । अहिले तीनवर्षे पेट्रोलियम पदार्थ अन्वेषण कार्यक्रम सञ्चालनमा छ ।
डा. सापकोटाका अनुसार , अन्वेषण कार्यअन्तर्गत यो वर्ष पेट्रोलियम पाइने क्षेत्रको सम्भाव्यता अध्ययन र कार्य क्षेत्र निर्धारणको काम सम्पन्न गरिने छ । दोस्रो वर्ष त्यसलाई निरन्तरता दिई अझ गहन अध्ययन गरिने छ । त्यपछि तेस्रो वर्ष निर्धारण गरिएका क्षेत्रहरूमा ड्रिलिड काम सुरु गरिने जानकारी उहाँले दिनुभयो । जमिनबाट चार दशमलव चार किलोमिटर जमिनमुनिसम्म ड्रिलिङ गरिने छ । यसरी अन्वेषणबाट पेट्रोलियम पदार्थ देखिएको (डिस्कभरी) अवस्थामा त्यसको मात्रा र क्षेत्र पत्ता लगाउन तथा उत्खनन्का लागि अर्को सम्झौता गर्नुपर्ने महानिर्देशक सापकोटाले बताउनुभयो ।
खानी तथा भूगर्भ विभाग , पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधीर रजौरेले अहिलेसम्म गरिएको खोज तथा अन्वेषण तथा दैलेखमा पाइएको कच्चा तेलको आधारमा नेपालमा पेट्रोलियम पदार्थ रहेको दाबी गर्नुभयो । पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन परियोजनाले अहिलेसम्म गरेका भौगर्भिक , भूभौतिक अध्ययन तथा अन्वेषणको परिणामले नेपालको तराई , भित्री मधेस र चुरे क्षेत्र पर्वतमाला क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पाइएको छ ” , परियोजना प्रमुख रजौरेले भन्नुभयो , “ नेपालको चुरे पर्वतमाला क्षेत्रको भौगर्भिक इतिहास तथा भूगर्भसँग मिल्ने भारतको असम र पाकिस्तानको पोतबार क्षेत्रमा लामो समयदेखि पेट्रोलियम पदार्थको उत्पादन भइरहेको कारणले नेपालको भूगर्भमा पनि पेट्रोलियम पदार्थको भण्डारण हुनसक्ने प्रबल सम्भावना रहेको छ । उहाँले थप्नुभयो , “ चुरे पर्वतमाला क्षेत्रका अतिरिक्त दैलेखको शीरस्थाननाभीस्थानमा लामो समयदेखि ग्यास निस्केर ज्वाला निस्केर ज्वाला बलिरहेको अवस्था छ भने पादुकास्थानमा कच्चा तेल निस्कनुलाई नेपालको भूगर्भमा पेट्रोलियम पदार्थ तथा पेट्रोलियम ग्यास रहेको प्रमाणका रूपमा लिन सकिन्छ । यानी तथा भूगर्भ विभागका अनुसार , दैलेखको करिव १४ किलोमिटर क्षेत्रमा ४५ वटा ग्यास चुहावट देखिएका छन् ।
विगतमा देशको शान्ति सुरक्षाका कारण अन्वेषणको अनुमति पाएका कम्पनीहरूले लामो समयदेखि नगरेका कारण ती कम्पनीहरूको सम्झौतासमेत खारेज भइसकेको जानकारी परियोजना प्रमुख रजौरेले दिनुभयो । पेट्रोलियम अन्वेषणका लागि नेपालका सम्भावित क्षेत्रहरूलाई दसवटा खण्डमा विभाजन गरी विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सम्झौता गरिएको थियो । अहिले पेट्रोलियम पदार्थको क्षेत्र खोजी र निर्धारण गर्नका लागि अन्वेषण कार्य भइरहेको बताउँदै क्षेत्र निर्धारणपछि कति मात्रामा पेट्रोलियम पदार्थ रहेको यकिन गर्न ‘ ड्रिलिङको कार्य सुरु गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो विस्तृत भौगर्भिक , भूरासायनिक र भूभौतिक अध्ययन तथा ड्रिलिङपछि मात्र कुन कुन क्षेत्रमा कत्रो परिणामको पेट्रोलियम पदार्थको भण्डारण रहेको छ भने कुराको सम्पूर्ण रूपमा पुष्टि हुनेछ र मेटिएको पेट्रोलियम पदार्थ आर्थिक तथा व्यापारिक दृष्टिकोणले उत्खनन योग्य भए नभएको यकिन हुनेछ । ” सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनवीच प्रारम्भिक सम्झौता भएको थियो भने सोही सम्झौता अनुसार चिनियाँ प्राविधिक टोली सन् २०१६ को मेमा नेपाल आएर दैलेख , सुर्खेत , बुटवल , पाल्पा , सुनसरीको बराहक्षेत्र र मोरङको बाउनीमा प्रारम्भिक अध्ययन गरेको थियो ।
उक्त प्रारम्भिक अध्ययनपछि चिनियाँ टोली स्वदेश फर्केपछि नेपालमा पेट्रोलियम पदार्थको खोज अन्वेषणका लागि चीनले नेपाललाई दुई अर्ब रुपियाँ सहयोगको घोषणासमेत गरेको थियो । सोही घोषणा मुताविक २३ अगस्ट २०१७ मा सो सहयोगसम्बन्धी सम्झौतामा नेपाल सरकार , अर्थ मन्त्रालय र चीन सरकारबीच हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुसार नै अहिले चाइना जिओलोजिकल सेन्टर , बेइजिङ र चेन्दुका १९ सदस्यीय चिनियाँ प्राविधिक टोली नेपाल आएका हुन् । यसअघि विश्व बैङ्कको सहयोगमा २०३५ र २०३६ सालमा चुरे क्षेत्रको ४८ हजार वर्गकिलोमिटर क्षेत्रफलमा हवाई चुम्बकीय सर्वेक्षण गरिएको थियो त्यसपछि ‘ पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजना स्थापना गरी तराई चुरे भूभागलाई १० अन्वेषण खण्ड विभाजन गरिएको थियो । नेपालमा पेट्रोलियम अन्वेषण कार्यलाई व्यवस्थित रूपमा अगाडि बढाउन यसअघि नेपाल पेट्रोलियम ऐन , २०४० र पेट्रोलियम नियमावली , २०४१ कार्यान्वयनमा रहेको छ । अहिलेसकम्म पेट्रोलियम पदार्थमा पूर्णरूपमा परनिर्भर रहेको नेपालमा पेट्रोलियम पदार्थ प्रचूर मात्रामा रहेको देखिएको छ ।