शान्ता चौधरी भन्नुहुन्छ: एसईईको परिक्षाफल प्रकाशित भएपछी मन गरुँगो भयो, मुटु चिमोटियो र एक्कासि आँखा रसाए

असार १३ ,काठमाडौं : हिजो सार्वजनिक भएको एसईई परीक्षाको नतिजा अनुसार नेकपा सांसद तथा प्रतिनिधि सभाकी प्रमुख सचेतक शान्ता चौधरीले ग्रेड बी ल्याउनु भएको छ ।
ग्रेड बी ल्याएर एसईईको परीक्षामा सफल भएपछी उहाले आफ्नो फेसबुक वालमा भावुक भएर लेख्नुभएको छ ” एसईईको परिक्षाफल प्रकाशित भयो । मन गरुँगो भयो , मुटु चिमोटियो र एक्कासि आँखा रसाए किनकी मलाई अध्यारो कुनाभित्रको अतितले पढाईसँग तेरो कहिल्यै साक्षत्कार हुन सक्दैन भनेर खिसिट्युरी गरिरहन्थ्यो र भनिरहन्थ्यो एउटा गरिब कमलरीको सन्तानको रुपमा जन्म लिनेले असम्भव सपना देख्न नगर , तेरो पुस्तौं पुस्ताले यस्तै खालको दासी जीवन भोग्दै जानू पर्नेछ । धन्न समय पिंञ्जडालाई तोडेर हामीलाई बाहिर निकाल्न बलशाली भएर आईदिएछ । भाँच्यौं शोषणका खुनी नंग्राहरु , उघारिदियौं दासताका घुम्टोहरु , च्यातिदियौं दमनका पर्दाहरु र निस्कियौं मुक्त आकाशको खोजिमा ।
बाल्यकालमा पुरा हुन नसकेका रहरहरु पुरा गर्दै जाने अठोट गरें मैले । त्यसैले त आज मलाई मेरा मनका रहरहरुले छोराछोरीका उमेर समुहका नानी बाबुहरुसँगै अध्ययन गर्ने अवस्थामा उभ्याएको छ । अलि बढी भावुक छु र खुशी पनि छु । धेरै नम्बर ल्याउन सक्ने परिस्थिति मसँग थिएन । पुरै समय दिएर अध्ययन गर्ने वातावरण पनि मसँग थिएन त्यसकारण परिणामसँग पुर्ण रुपमा सन्तुष्ट छु । म यतिबेला फेरि पनि संझना चाहन्छु मलाई प्रेरणा प्रदान गरेर हौसला बढाईदिनु हुने आदरणीय अग्रज व्यक्तित्वहरु एवं सम्पुर्ण शुभ चिन्तक मित्रहरूलाई । उहाँहरु प्रति नतमस्तक भएर हृदयदेखि नै सम्मान व्यक्त गर्दछु । साथै मलाई विभिन्न माध्यमबाट बधाई दिनु हुने सम्पुर्ण महानुभावहरु प्रति आभार व्यक्त गर्दछु ।

सबै अवस्थाहरु बुझ्दा बुझ्दै पनि मेरो कमलरी हुँदाको विगतलाई संझाएर बारम्बार हेप्नेहरु र मेरो अध्ययनको विषयलाई लिएर उपहास गर्नेहरूप्रति पनि कुनै गुनासो छैन किनकी सम्भ्रान्त वर्गको वर्गीय शोषणको चरम रुप देखेको र भोगेको मान्छे हुँ म । आँखा उस्तै देखिए पनि , दृश्य उस्तै देखिए पनि दृष्टिकोण फरक फरक हुन्छ भन्ने राम्रोसँग थाहा छ मलाई । त्यसैले उहाँहरुको अभिव्यक्ति पनि उहि सामन्त वर्गको प्रतिनिधित्व गर्ने अभिव्यक्ति नै त होला भनेर बुझेको छु मैले । अन्तमा व्यक्तित्व विकास , सिकाई र नेतृत्व विकासलाई अनवरत रुपमा अगाडि लैजाने मेरो प्रण हो त्यसैले म आदरणीय अग्रज एवं शुभ चिन्तक साथीहरुबाट निरन्तर साथ सहयोगको अपेक्षा राख्दछु । साथै एसईईमा B+ ग्रेड ल्याउन सफल मेरी छोरी बिनु लगायत सम्पुर्ण भाइ बहिनीप्रति हार्दिक बधाई दिँदै आगामी दिनमा अझै मेहनत पुर्वक अध्ययन गरी उज्ज्वल भविष्य निर्माणमा लाग्नका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।”