‘संसदीय अनुभव आदानप्रदान’
काठमाडौँ, २६ चैत: सभामुख कृष्णबहादुर महराले नेपालको संसद्का तर्फबाट गठन गरिएको नेपाल–पाकिस्तान संसदीय मैत्री सङ्घको नामावली पाकिस्तानी सभामुख असद क्वाइसरलाई हस्तान्तरण गर्नुभएको छ ।
अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) को १४० औँ सभामा सहभागी हुन कतारको दोहा पुग्नुभएका सभामुख महरा र पाकिस्तानका राष्ट्रियसभाका सभामुखबीच सोमबार राति भएको भेटमा उहाँले उक्त नामावली हस्तान्तरण गर्नुभएको हो ।
भेटमा उहाँहरुले आ–आफ्नो देशको संसदीय अभ्यास, परम्परा र अनुभव आदानप्रदान गर्नुभएको सभामुख महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिनुभयो । विश्व शान्ति र मानवअधिकारका लागि संसद्को भूमिका महत्वपूर्ण हुनेमा दुवै देशका सभामुखको एक मत रहेको थियो ।
जवाफमा पाकिस्तानका सभामुख असदले आफूहरुले पनि चाँडै पाकिस्तान–नेपाल संसदीय मैत्री सङ्घको गठन गर्ने बताउनुभएको थियो । उहाँले नेपालसँगको सम्बन्ध बलियो रहेको भन्दै संसदीय मैत्री सङ्घले कूटनीतिक मात्रै नभई राजनीतिक सम्बन्ध प्रगाढ बनाउन थप टेवा दिने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी सभामुख महराले नेपालको संसद्का तर्फबाट गठन गरिएको नेपाल–बङ्गलादेश संसदीय मैत्री सङ्घको नामावली बङ्गलादेशका सभामुख शिरिन शर्मिन चौधरी लाई हस्तान्तरण गर्नुभयो ।
–––