दक्षिण कोरियाको भ्रमणका क्रममा ट्रम्पले किमलाई भेट्न सक्ने

ओसाका, १४ असार: कोरियाली गैर–सैनिक क्षेत्रमा उत्तर कोरियाली नेता किम जोङ–उनलाई भेट्न सक्ने सम्भावना रहेको अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार बताउनुभएको छ ।
उहाँले यसै हप्ता दक्षिण कोरियाको भ्रमण गर्दै हुनुहुन्छ । तर अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता किमको भेटबारे बिस्तृत कुरा अझै अन्तिम निर्णयमा नपुगेकाले पछि जानकारी गराइने पनि जी–ट्वन्टी सम्मेलनका अवसरमा विश्वका नेताहरूसँगको भेटपछि भएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनुभयो ।
“मेरो विचारमा हामीले अध्यक्ष किमलाई भेट्न खोज्नेछौँ र भेट्न सक्नेछौँ । ” अमेरिकी राष्ट्रपतिले शनिबार नै एक ट्वीटर सन्देशमार्फ उत्तर कोरियाली नेतालाई भेटका लागि निमन्त्रणा पठाउनुभएको थियो । जसमा आफूले उत्तर कोरियाली नेता किमलाई गैरसैनिक सीमा क्षेत्रमा भेट्ने, अभिवादनस्वरूप हात मिलाउने र संक्षिप्त हालखबर आदानप्रदान गर्नसक्ने खुलासा गर्नुभएको थियो । उक्त अवसरमा ट्रम्पले भन्नुभयो, “किम एक ग्रहणशील नेता भएको र उचित विचारलाई सह्रदय स्वीकार गर्ने व्यक्ति हो ।”
आफ्नो अनुरोधलाई किमले स्वीकारेको प्रतिक्रिया ट्रम्पले दिनुभएको छ ।” ट्रम्पले पत्रकार सम्मेलनमा भन्नुभयो, “मैले यथार्थमा यसै हुन्छ भनेर त भन्न सक्दिन । तर उनीहरूले एकदमै सहज र सही प्रतिक्रिया दिनुभएको छ ।” उत्तर कोरियाली विदेशमन्त्रालयका पहिलो उप मन्त्री चो सोन हुईले यस सम्बन्धमा शनिबार नै दिएको प्रतिक्रियामा यदि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको भेटको प्रस्ताव अनुसार सबैकुरा अघि बढेमा दुई नेताबीचको सम्बन्ध थप गहिरो बन्नेछ । चोले भन्नुभयो “ट्रम्पले प्रस्ताब गरेको भेटको सुझाव निकै रोचक रहेको तर यस सन्दर्भमा अमेरिकाबाट हामीले औपचारिक पत्र भने पाएका छैनौँ ।” अहिलेसम्म किम र ट्रम्पबीच पहिलो सिङ्गापुर र दोस्रो भियतनामको हनोईमा गरी दुई शिखर वार्ता भएका छन् । हनोई वार्तामा कोरियाली प्रायदीपलाई आणविक निशस्त्रीकरणका लागि सहमति जुट्न नसकेपछि प्योङयाङ र वासिङटनबीचको वार्ता अवरूद्ध बनेको छ ।