नेकपा फुटोस र हाम्रो पालो आओस भनेर काङ्ग्रेसले सोच्दै नसोचे हुन्छ : नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा फुटोस र हाम्रो पालो आओस भनेर काङ्ग्रेसले सोच्दै नसोचे हुन्छ भनी बताउनुभएको छ ।
जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज आयोजना गरेको कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो ।
अध्यक्ष दाहालले भन्नुभयो, “दुई नेताको मात्रै असफलता हुनेवाला छैन । त्यो नेकपाको मात्रै असफलता हुनेवाला छैन । पार्टी एकता गरेर असफल भइसकेपछि कम्युनिष्ट आन्दोलन फेरि यहीरुपमा उठ्न सायदै सम्भव हुँदैन ।
यो पार्टी मात्रै सकिएर काङ्ग्रेस छँदैछ नी काङ्ग्रेसले नेतृत्व गर्ला भन्नेस्थिति पनि नेपालमा अब छैन ।” उहाँले जनताका आकाङ्क्षा सम्बोधन गर्ने र राष्ट्रिय अन्तरराष्ट्रिय शक्तिलाई सन्तुलन राख्ने प्रक्रियामा सबैको समान बुझाई, चिन्ता र सामूहिक मेहनत नभए आफूहरु नै असफल हुने खतरातर्फ जाने सक्ने सङ्केत गर्नुभयो ।
“मदन भण्डारीको देशभक्ति, उद्देश्यप्रतिको निष्ठा र प्रतिक्रियावादीप्रतिको उहाँको वर्ग दृष्टिकोणका कारण उहाँ महान् हुनुहुन्थ्यो भनेर नै हामी भन्छौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “त्यसो भन्छौँ भने कहिलेकाहीँ मलाई चिन्ता लाग्ने कुरो के हो भने हामी आजभोलि आफ्नो ‘छाला’ बचाउन तिर लाग्नेमा त छैनौँ कतै ? भाषा नरम गरेर नरिसाउन प्रतिक्रियावादी भन्ने तिर पो जान लागेका त छैनौँ ? हामी मारिएका छैनौँ अहिलेसम्म । मारिन पनि सक्छौँ । यहा विचारणीय छ ।”
जननेता भण्डारीको अवसान हत्या वा दुर्घटना भन्ने अझै पनि अन्योल नै रहेको उल्लेख गर्दै उहाँले नेपालको इतिहासमा भएका ठूला राजनीतिक नेतृत्वको हत्या वा प्रतिहत्याको घटनामा संलग्न पत्ता लाग्न नसक्नु दुःखद् भएको बताउनुभयो ।
“हिजोको समयमा भएका कोतपर्व हुन् या दरबार हत्याकाण्ड, त्यस्तै ठूला राजनीतिक हत्यामा संलग्नलाई जनसमक्ष ल्याएर कारवाही गर्न हामीले सकेका छैनौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “यस्ता ठूला घटनाको सत्यतथ्य पत्ता लगाउन सकेनौँ भने फेरि त्यस्तो घटना नदोहोरिएला भन्न सकिँदैन, घटनाको दोषीलाई कारवाही गर्न डरायौँ भने परिस्थिति जटिल बन्न सक्छ ।”
जनअपेक्षाअनुरुप नेपालको विकास गर्न तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को समान धारणा रहेकाले दुई पार्टी एक भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले समृद्ध नेपाल निर्माण गर्न दुई दल सहमत भएको बताउनुभयो ।
अहिले कोही कसैले आग्रह र पूर्वाग्रह राखेर हिँड्नुको कुनै अर्थ नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी कुनै आग्रहका साथ पछि हट्ने होइन, पूर्वाग्रह राखेर पनि होइन, स्व भण्डारीले जस्तै गतिशील भएर मिल्न सक्ने जति सबैलाई मिलाएर अघि बढ्ने सङ्कल्प नै अहिलेको आवश्यकता हो ।”
जनताको मन जित्न, आन्दोलनका लागि उत्साहित बनाउन र क्रान्तिकारीप्रति तिखो प्रहार गर्न सक्षम नेताका रुपमा आफूले स्व भण्डारीलाई पाएको उहाँको भनाइ थियो ।
“स्व भण्डारी जड, सङ्कीर्ण हुनुहुन्थेन, देशकाल र परिस्थितिअनुसार आफूलाई बदल्न तयार हुनुहुन्थ्यो”, अध्यक्ष दाहालले भन्नुभयो, “यसकारण स्व मदन अरुभन्दा भिन्न हुनुभयो, सधैँ श्रद्धाको पात्र रहनुभयो ।”
गतिशील, परिस्थितिको ठीक मूल्याङ्कन गर्दै नीति, कार्यक्रमलाई विकास गर्नसक्ने र माक्र्सवादको आत्मालाई दह्रोसँग समेट्ने नेताका रुपमा आफूले स्व भण्डारीलाई पाएको स्मरण गर्दै उहाँले जनताको मन जित्ने विचारको निर्माण गर्दै गतिशीलतालाई आत्मसात् गर्ने नेताका रुपमा आफूले जानेको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “अन्तरराष्ट्रियरुपमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला स्व भण्डारीले नेपालमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन जनताको बहुदलीय जनवादका रुपमा कार्यक्रमको निर्माण गर्नुभयो ।”