गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव पुसमा   


बागलुङ, १३ मङ्सिर (रासस) ः ‘
गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव’ आगामी पुस १५ देखि २६ गतेसम्म गलकोट नगरपालिका–६ मजुवा फाँटमा हुने भएको छ । ‘ड्रिम टिम गलकोट’को आयोजनामा हुने महोत्सवको तयारी अगाडि बढाइएको संस्थाका अध्यक्ष रुपक पाण्डेले बताउनुभयो ।

१२ दिनसम्म चल्ने महोत्सवमा खुला भलिबल प्रतियोगिता, गलकोट डान्स आइडल–२०७८, रत्यौली, माछा छोप्ने (हत्केला खेल्ने), दौड, ब्याडमिन्टन, टेबुलटेनिसलगायत प्रतियोगिता हुनेछन् ।

महोत्सवमा मौलिक कला, संस्कृतिको प्रदर्शन, रमाइलो मेला र साङ्गीतिक कार्यक्रम पनि हुने उहाँले जानकारी दिनुभयो । “महोत्सव सफल पार्न स्थानीय प्रशासन, राजनीतिक दल, सङ्घसंस्थादेखि सबै पक्षसँग समन्वय गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

कोरोना सङ्क्रमण मत्थर भएको र दुई वर्षदेखि गलकोटमा खेल, कला र मनोरञ्जनका गतिविधि नभएकाले महोत्सव आयोजना गरिएको ड्रिम टिम गलकोटले जनाएको छ । महोत्सवबाट खेल, कला, संस्कृतिसँगै व्यापार प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास आयोजकको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको साङ्गीतिक प्रस्तुति पनि रहने जनाइएको छ । यसअघि पनि गलकोट उद्योग वाणिज्य सङ्घ, गलकोट घुम्टे पर्यटन विकास केन्द्रलगायतका सङ्घसंस्थाले गलकोटमा मेला, महोत्सवको आयोजना गर्दै आएका थिए । कोरोना महामारीका कारण दुई वर्षदेखि त्यस्ता कार्यक्रम रोकिन पुगेका थिए । अहिले कोरोना सङ्क्रमण दर न्यून रहेको र कोरोनाविरुद्ध खोपको पहुँच पनि बढ्दै गएकाले सार्वजनिक समारोह, मेला तथा महोत्सव हुन थालेका हुन् ।

गत हप्ता बडिगाड गाउँपालिकामा परम्परागत न्वागी मेलाको आयोजना गरिएको थियो । त्यसअघि ताराखोला गाउँपालिकामा भुस पोल्ने पर्व, हरिबोधनी एकादशी मेलालगायत कार्यक्रम भएका थिए । जनस्वास्थ्यकर्मीले भने कोरोनाको जोखिम कामयै रहेकाले भिडभाडजन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न नहिच्किचाउन सचेत गराउँदै आएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस  
नवलपुरमा राष्ट्रिय भेट्रान्स कप फुटबल सुरु   

नवलपुर, २० पुस (रासस) : नेपालीहरूको महान् पर्व माघेसङ्क्रान्तिको अवसर पारेर नवलपुरमा राष्ट्रिय भेट्रान्स फुटबल

कर्णाली प्रदेश सरकारले खेलाडीद्वय सुनमाया र विष्टलाई पुरस्कार दिने   

कर्णाली, २० पुस (रासस) : कर्णाली प्रदेश सरकारले थाइल्याण्डमा भएको अल्ट्रा ट्रेल रेस प्रतियोगितामा महिलातर्फ

कर्णालीका दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गरिने   

कर्णाली, १९ पुस (रासस) ः कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता उपाधि दिलाउन महत्वपूर्ण भूमिका

प्रदीपलाई ‘ओपन टेनिस’को उपाधि   

कास्की, १७ पुस (रासस) ः पोखरामा सम्पन्न १८ औँ संस्करणको ‘माछापुच्छ«े बैंक पोखरा ओपन तथा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई