प्रधानमन्त्री र मेरो हरेक विषयमा सल्लाह हुने र छलफलका आधारमा नै सबै विषयलाई अगाडि बढाउने गरिएको छ :अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री र आफ्नो बीचमा हरेक विषयमा सल्लाह हुने र छलफलका आधारमा नै सबै विषयलाई अगाडि बढाउने गरिएको बताउनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकलाई हिजो सङ्घीय संसद् भवन नयाँबानेश्वरमा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।
‘प्रचण्ड’ले पार्टी एकताका क्रममा तीन महीनाभित्र टुङ्ग्याउने भनिएको एकता प्रक्रिया विभिन्न कारणले ढिलाइ भए पनि असारभित्रै सम्पन्न गरिने विश्वास दिलाउनुभयो ।
उहाँले पार्टी एकताको कामलाई टुङ्गो लगाएर पार्टीलाई नयाँ गति दिने र जनताका बीचमा जाने गरी नीति कार्यक्रम तथा योजनासमेत तय गरिने स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “हामीले ठूलो आँट गरेर पार्टी एकता गरेका हौँ । विभिन्न कारणले गर्दा तोकिएको समयमा पूरा हुन सकेन । त्यसलाई अब हामी छिट्टै पूर्णता दिन्छाँै ।”
अध्यक्ष दाहालले आफूहरु एकै डुङ्गामा सवार भएकाले पनि त्यसलाई पार लगाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।