कम्युनिष्टलाई अधिनायकवादी भन्नु सङ्कुचित सोच

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेन्द्रबहादुर पाण्डेले कम्युनिष्टलाई अधिकायकवादी भन्नेको सोचाइ नै सङ्कुचित भएको आरोप लगाउनुभएको छ । नेता पाण्डेले संसारका कुनै पनि देशका कम्युनिष्ट अधिनायक नभएको र सबैभन्दा बढी पूँजीवादी सोच भएकाहरू बढी अधिनायकवादी हुने दाबी गर्नुभयो । आज इलाम सदरमुकाममा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीका विचारको सान्दर्भिकता विषयक’ विषयक विचार गोष्ठीमा भाग लिँदै नेता पाण्डेले भन्नुभयो, “अधिनायकवाद सोच भएका हिटलर मुसोलिनी कम्युनिष्ट थिए र ?’ उहाँले सामन्तवादलाई ध्वस्त पारेर सर्वहारालाई अधिकार दिलाउने कम्युनिष्टलाई तत्कालीन राज्यका व्यक्तिले अधिनायकवादी आरोप लगाएको गुनासो गर्नुभयो । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका पाण्डेले मदन भण्डारी असल राजनीतिज्ञसँगै असल समालोचकसमेत रहनुभएको उल्लेख गर्नुभयो । पूर्वी तथा पश्चिमी दर्शन र ज्ञानको अध्ययन रहेका भण्डारी स्पष्ट विचार भएका व्यक्ति रहेको पाण्डेको भनाइ थियो ।