भैसीलाई “सुत्केरी” भत्ता
पर्वत, महाशिला गाउँपालिकाले भैंसीका पाडापाडी हुर्काउनको लागि प्रोत्साहन गर्न कृषकलाई “भैँसी सुत्केरी भत्ता” दिने निर्णय गरेको छ । भैसी ब्याएपछि पाडापाडी काटेर खाने चलन हटाउन पाडापाडी हुर्काउने कृषकलाई ५०० रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
स्थानीय जातका लिमे र पाराकोटे जातका भैँसीका पाडापाडी काटेर खानेलाई एक हजार रुपैयाँ जरिवाना तिराउने गाउँपालिकाको निर्णय गत वर्षदेखि नै कार्यान्वयनमा छ । “प्रोत्साहन भत्ता दिएपछि पाडापाडी संरक्षण हुन्छन्”, अध्यक्ष पौडेलले भन्नुभयो, “यो गाउँपालिका दूध र मासुमा आत्मनिर्भर बनाउनका लागि पनि पाडापाडी संरक्षण गर्न जरुरी थियो ।”
महाशिला गाउँपालिकाले यसअघि एक घर एक रोजगार, रक्सी नियन्त्रण, बाँदर नियन्त्रणजस्ता अभियानसमेत सञ्चालन गरेको छ।