कोभिड–१९ महामारी नियन्त्रणमा कुनै पनि साधन तथा श्रोतको अभाव हुन नदिन सबैखाले संयन्त्रलाई चुस्तदुरुस्त बनाइएको छ : प्रम देउवा
काठमाडौं, माघ ७ गते : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी नियन्त्रण सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।
सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने अभियान जारी रहेको उहाँको भनाइ छ । प्रधानमनत्री देउवाले विगतमा चैत मसान्तसम्ममा सबै नागरिकमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइने गरिएको प्रतिबद्धता अनुरुप सो अभियान अघि बढेको बताउनुभयो ।
खोप अभियानका लागि संघ, प्रदेश र केन्द्रलगायत तीनै तहका सरकारले प्रभावकारी समन्वय गरिरहेको उहाँको भनाइ छ ।कोभिड–१९ महामारी नियन्त्रणमा कुनै पनि साधन तथा श्रोतको अभाव हुन नदिन सबैखाले संयन्त्रलाई चुस्तदुरुस्त बनाइएको उहाँले बताउनुभयो । जनस्वास्थ्यको मापदण्ड पालना गर्दै सामाजिक क्रियाकलाप एवम् नियमित कार्य सुचारु गरिएको उहाँको भनाइ छ।