रिमालले ट्वीटमा ‘छौँडा’ भनेर कसलाई संकेत गर्नुभएको हो ?

असार २२, २०७६ काठमाडौं : प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आज बिहान आक्रमक ट्वीट गर्नुभो । त्यो ट्वीट अहिले भाईरल भइरहेको छ । त्यो ट्वीट कसलाई लक्षीत गरिएको हो भन्ने नखुले पनि उहाँले निहित उद्देश्य बोकेर सरकारको विरोध गर्नेहरूलाई ‘छौँडा’को संज्ञा दिएको अनुमान लगाउन सकिन्छ । तर त्यो अनुमान सही÷गलत जे पनि हुनसक्छ ।

के हो छौँडा भनेको ? आउनुहोस् पल्टाऔँ नेपाली शब्दकोष ।
शब्दकोषमा छौँडाको अर्थ यसरी लगाइएको छ, “लोकधारणा अनुसार बोक्सी विद्या सिकेकी आइमाईले मानिसहरूलाई पीरपिरा गर्नको निम्ती घरघरमा चियो गर्न पठाउने हेतुले तालिम गरिएको तथाकथित बिरालो ।”
लामो समय कम्युनिष्ट दर्शनको दीक्षा लिनुभएका विष्णु रिमालले यसलाई पक्कै सिधा अर्थमा लेख्नुभएन होला ! उहाँले छौंडा शब्दलाई बिम्ब बनाएर कुनै अदृश्य शक्तिबाट निहित उद्देश्य हासिल गर्न परिचालित तत्वलाई प्रहार गर्नुभएको होला !
को हो त त्यो तत्व, जसले छौंडा परिचालन गरिरहेको छ ?
अनि छौंडा बन्न तयार बनेर आफ्नै देश र यहाँका जनतालाई हानी पु¥याउन तम्सिने तत्व चाहिँ को हो ?
अहिले भइरहेको काण्डमा ध्यान दिएर हेर्ने हो भने छौंडा को हुन् र उनीहरूलाई अध्यारो कोठाबाट कसले परिचालन गरिरहेको छ भन्ने भेउ सजिलै पाइन्छ ।
त्यो छौंडा त्यस्तो ढाडे बिरालो हो, जो घर र छिमेक दुवैतिरको दुध खान्छ, गुप्तचरजसरी घर वरिपरि घुम्छ, घरकै बारीमा विष्ट्याउँछ र दुवैतिरको दुध घोप्टाएर खाएको पोल खुल्ला भनेर कसिंगरले विष्ट छोप्छ । घरको सदस्य देखेमा म्याउँ म्याउँ पनि गर्छ । तर मुसा चाहिँ छिमेकीको घरमा गएर मार्छ ।
त्यो बिरालोले जनता, देश र सरकारलाई पिरिरहन्छ ।
अब थाहा पाउनुभयो त, को हो त्यो छौंडा ?