राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोनाम ल्होसारको शुभकामना
काठमाडौँ, माघ १९ गते : राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिनु भएको छ ।
उहाले पर्वले तामाङ समुदायको नयाँ संवत् सुरू भएको संकेत गर्दछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदान–प्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । यस प्रकारका चाडपर्वहरूले हाम्रो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै मौलिक पहिचान अभिवृद्धि गर्न समेत सहयोग पुर्याइरहेका छन् भन्नुभएको छ ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिनुभएको छ् ।
सोनम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्नुभएको छ।