नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले गरेका महत्वपूर्ण निर्णयहरू
काठमाडौं माघ १९ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ ।
स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय गरेको छ ।
यस्तै पार्टीको नियमावली र जनसंगठन समन्वय संयन्त्र निर्देशिका पास गरेको छ । पार्टीको नयाँ विधान अनुरुप बनेको नियमावली पास गरिएको हो ।
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा पार्टीभित्र अन्तरघात भएको समीक्षा गर्दै एमालेले यसको छानबिन गरी कारबाही गर्न आवश्यक सिफारिस गर्न प्रदेश समितिलाई जिम्मा दिइएको छ ।
यसैगरी, बैठकले महिला, युवा विद्यार्थी र अखिल नेपाल किसान महासंघ बाहेकका अरु जनसंगठनहरुको अधिवेशनको प्रक्रिया निरन्तर अगाडि बढाउने निर्णय गरेको छ । बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ ।
यसैगरी, पार्टी सदस्य शुल्क केन्द्रीय कमिटीमा ४० प्रतिशत, प्रदेशमा २५ प्रतिशत, जिल्लामा २५ प्रतिशत र पालिकामा १० प्रतिशत गर्ने निर्णय गरेको छ ।