इट्टा उद्योगमा अर्बौंको क्षति


धनुषा, माघ २२ गते । बिहीबारदेखि भएको लगातारको बर्सातका कारण मधेस प्रदेशका इट्टा उद्योगमा अर्बौंको क्षति भएको छ । तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इट्टा उद्योगमा क्षति पुगेको छ । तयारी अवस्थामा रहेका करोडौं रुपियाँ मूल्य बराबरको काँचो इट्टा लगातारको वर्षाले नष्ट भएका छन् । अहिले इट्टा तयार पार्ने याम भएकाले सबै इट्टा उद्योगहरुमा काँचो इट्टा नै तयारी भइरहेको बेला बर्सातले अर्बौं रुपैयाँ मूल्य बराबरका इट्टाको क्षति भएको उद्योग सञ्चालकहरूले बताएका छन् ।

उद्योग सञ्चालकहरूका अनुसार एउटा इट्टा उद्योगमा कम्तीमा २५ देखि ३० लाख मूल्य बराबरका काँचो इट्टा वर्षाका कारण नष्ट भएका छन् । इट्टा उद्योग व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष विनय यादवले भन्नुभयो, “वर्षाका कारण इट्टा उद्योगहरुमा अहिले भएको क्षतिको कारण तत्काल उद्योग नै सञ्चालन गर्न नसक्ने अवस्था सृजना भएको छ ।” उहाँले वर्षाले उद्योगीहरु उठ्नै नसक्ने गरी क्षति पुगेको बताउँदै उहाँले भन्नुभयो, “तत्काल उद्योग सञ्चालन गर्ने अवस्था रहेन । अर्बौंको क्षति भएको छ ।”

अध्यक्ष यादवकाअनुसार मधेस प्रदेशका सबै जिल्ला गरी ६०० इट्टा उद्योग सञ्चालनमा छन् । एउटा उद्योगले कम्तीमा ३० देखि ५० लाख काँचो इट्टा तयार पारेका थिए । तयारी भएको इट्टाभट्टामा पोल्ने तयारी गरिरहेको बेला एक्कासि भएको लगातारको वर्षाले कामै नलाग्ने सबै काँचो इट्टा नष्ट भइसकेको छ । एक–दुई महिना लगाएर तयार पारिएको इट्टा पुस–माघमा भट्टीमा पोल्ने गरिन्छ । काँचो इट्टा तयार पार्न उद्योगले सयौँको सङ्ख्यामा मजदुर राख्ने गरेका हुन्छन् भने माटो र कोइलासमेत खरिद गरिएको हुन्छ ।

वर्षाले गर्दा तयार पारिएका काँचो इट्टाका साथै भारतबाट खरिद गरेर ल्याइएका कोइला पनि नष्ट भएको अध्यक्ष यादवले बताउनुभयो । उहाँले उद्योग सञ्चालनका लागि फेरि सुरुकै अवस्थामा फर्कनुपर्ने बताउँदै सञ्चालकहरू दोहोरो खर्चको ठूलो मारमा पर्ने बताउनुभयो । मधेस प्रदेशको धनुषामा मात्रै ८० इट्टा उद्योग छन् । यस वर्षाले सबै उद्योगमा क्षति पुगेर बन्द हुने अवस्थामा पुगेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवाबजार नयाँटोलमा सञ्चालित रामजानकी इट्टा उद्योगका सञ्चालक अरुण साहले वर्षाका कारण भएको क्षतिपछि उद्योग बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले तयारी गरेर पोल्नका लागि राखेको सबै काँचो इट्टा नष्ट भई एउटा पनि काम नलाग्ने अवस्था रहेको बताउनुभयो ।

इट्टा उद्योगका सञ्चालकहरूले कोइला भारतबाट आयात गर्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा कोइलामा भएको दोब्बर मूल्यवृद्धिका कारण उनीहरू थप मारमा परेको सञ्चालकहरुले बताउनुभयो । महोत्तरीको औरही नगरपालिकामा सञ्चालित न्यू मिथिला इट्टाभट्टा उद्योगका सञ्चालक रामबाबु चौधरीले इट्टा तयार पार्न फेरि सुरुदेखि काम गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब सबै सुरुदेखि गर्नुपर्ने भयो, माटो र कोइला खरिद गर्नुप¥यो । मजदुरलाई पारिश्रमिक दिनुपर्ने भयो, त्यसका लागि फेरि कम्तीमा एक–दुई महिना समय लाग्ने भयो । हामी दोहोरो खर्चको मारमा पर्ने भए ।”

इट्टा उद्योग व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष सञ्जय चौधरीले भन्नुभयोे, “वर्षाका कारण स्टक गरेर राखिएको सबै कोइला पनि नष्ट भयो । फेरि दोहोरो खर्च गरेर भारतबाट मगाउनुपर्ने अवस्था भयो ।” उहाँले महोत्तरीमा मात्रै रु २० करोड मूल्य बराबरको इट्टा उद्योगमा क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार महोत्तरी जिल्लाभरि ५२ वटा इट्टा उद्योग रहेकामा औरही, रामगोपालपुर र गौशला नगरपालिकामै ३६ वटा रहेको र प्रत्येक इट्टा उद्योगमा करिब रु २० देखि ३० लाखसम्मको क्षति भएको बताउनुभयो ।

सरकारले अन्य उद्योगहरूका लागि बीमाको व्यवस्था गरे पनि इट्टा उद्योगमा बीमाको व्यवस्था छैन । खुला आकाशमुनि निर्माण हुने इट्टा उद्योगहरूलाई सरकारले बीमाको व्यवस्था नगरेको हो । दैवीप्रकोप वा कुनै दुर्घटना हुँदा बीमा गराएका अन्य उद्योगहरूले क्षतिपूर्ति पाए पनि इँटा उद्योगहरू त्यो सुविधाबाट वञ्चित छन् । उद्योग सञ्चालकहरूले बीमाको व्यवस्था गर्न पटकपटक आग्रह गरे पनि सरकारले उनीहरूको माग सम्बोधन गरेको छैन ।

इट्टा उद्योग व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष विनय यादवले सरकारले बीमाको व्यवस्था नगरेका कारण प्रकृतिक विपत्ति आउँदा सम्पूर्ण क्षति उद्योगले आफैँ बेहोर्नु परिरहेको बताउनुभयो । उहाँले अन्य उद्योगजस्तै इँटा उद्योगलाई पनि बीमाको व्यवस्था गर्न सरकारसँग पुनः माग गर्नुभयो । उहाँले भन्नुभयो, “बीमाको व्यवस्था गर्न पछिल्लो ५/६ वर्षदेखि सरकारलाई भनिरहेका छौँ तर सरकारले सुनुवाइ गरेको छैन ।” उहाँले बीमा नहुँदा पटकपटक आइरहने प्रकृतिक विपत्तिले सम्पूर्ण क्षति हामी आफैँले बेहोर्नु परेको छ । सरकारले ध्यान नदिए हामीले कसरी उद्योग सञ्चालन गर्ने ? उहाँको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस  
भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही – गोलभेँडाको उचित मूल्य नपाएपछि हरिवनका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई