काठमाडौँ–तराई/मधेस द्रुत मार्गको सुरुङ मार्ग र मोटर गुड्ने आकाशे पुल (हाई ब्रिज)को डिजाइन स्वीकृत
काठमाडौँ, माघ २५ गते । निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुत मार्गको सुरुङ मार्ग र मोटर गुड्ने आकाशे पुल (हाई ब्रिज)को डिजाइन स्वीकृत भएको छ । द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्ग तथा पुलको डिजाइन कार्य सम्पन्न भई स्वीकृत भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको छ ।
सेनाका सहायक रथी तथा प्रवक्ता नारायण सिलवालका अनुसार सुरुङ मार्ग तथा हाई ब्रिजको डिजाइन स्वीकृत भएसँगै निर्माण कम्पनीहरूले सर्भेको कामसमेत सुरु गरिसकेका छन् । दुई महिनाभित्र सर्भे सकेर निर्माण थालिनेछ । द्रुत मार्गमा पर्ने कुल ६.०७ किलोमिटरको तीन खण्डका सुरुङ मार्ग तथा हाई ब्रिज दुई प्याकेजमा निर्माण गरिँदै छ । पहिलो प्याकेजअन्तर्गत यस आयोजनाको सबभन्दा लामो सुरुङ मार्ग निर्माण गरिने महादेव डाँडा खण्डमा निर्माण गरिँदै छ । यस खण्डमा निर्माण गरिने सुरुङमार्ग र हाई ब्रिजको कुल लम्बाइ ३.३०० किलोमिटर छ । गोरखापत्रबाट