एमसीसी पेश हुँदा एमालेले एमसीसीको पक्षमा मतदान गर्दैन : एमाले नेता रिजाल
काठमाडौं, फागुन ४ गते : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको पक्षमा मतदान नगर्ने एमालेका नेता बिष्णु रिजालले बताउनु भएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ६ गते शुक्रबार दिउँसो १ बजे हुने बैठकमा एमसीसीको प्रस्ताव टेबुल गर्ने भएपछी एमाले नेताको प्रतिकृया आएको हो ।
१. एमसीसी झलनाथ खनाल प्रधानमन्त्री भएको बेला आरम्भ भएर कांग्रेस र माओवादीको सरकार भएको बेला २०१७ मा हस्ताक्षर गरेको हो र अहिले उनीहरु नै सत्तामा भएकाले त्यस विषयमा के गर्ने भन्नेमा स्पष्ट हुनुपर्छ । गठबन्धनसँग बहुमत भएकाले यसलाई पारित गर्ने वा नगर्ने भन्ने गठबन्धनको विषय हो ।
२. हामीले सभामुख अग्नि सापकोटाको असंवैधानिक, पूर्वाग्रहपूर्ण र गैरसंसदीय निर्णयका विरुद्ध संसद्मा लगातार संघर्ष जारी राखेका छौँ । यसबीचमा कुनै पनि विधेयक वा प्रस्तावमा भाग लिएका छैनौँ । हाम्रो न्यायोचित सरोकार सम्बोधन नभएसम्म कुनै पनि प्रस्तावमा सहभागी हुने वातावरण नै बन्दैन ।
३. सत्तापक्षकै केही दलले एमसीसी पेश गर्ने र केहीले बहिस्कार गर्ने अनि उपस्थितको बहुमत देखाएर पारित गर्ने खालको अवसरवादी सपना कसैले नदेखे हुन्छ । सत्तापक्ष हो भने सरकारको प्रस्तावको पक्षमा मत हाल्ने र मत हाल्न नसक्ने हो भने सरकार छाडेर बाहिरिने विकल्प मात्रै लोकतान्त्रिक हुन्छ ।
४. त्यसैले एमसीसी पेश हुँदा नेकपा (एमाले) का ९८ जना सांसद नै प्रतिनिधिसभामा उपस्थित हुन्छन् र आफ्नो विरोध जारी राख्छन् भन्ने कुरा सबैले बुझे हुन्छ ।